सुदूरपश्चिमका नदीमा बाढी आउने पूर्वानुमान
2023/06/24, 11:05
 
सुदूरपश्चिमका नदीमा बाढी आउने पूर्वानुमान

सुदूरपश्चिम - जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिमका ससाना नदीमा बाढी आउने सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आज कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपास भई बहने केही ससाना नदीमा आकस्मिक बहावको जोखिम रहने सम्भावना छ ।

यसैगरी अछाम र बाजुरा र आसपास भई बहने केही ससाना नदीमा पनि बहाव बढ्नसक्ने अनुमान रहेको महाशाखाले जनाएको छ । आज बिहानको मापनअनुसार महाकाली नदी र यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको जानकारी पनि बाढी महाशाखाले दिएको छ ।