कोरोना महामारीका कारण नेपाल–भारत नाका सहज नरहेको अवस्थामा पनि नेपालबाट भारततिर चेलीबेटी ओसारपसार बढेको छ । महामारीका क्रममा युवती वा महिलाका नजिकका आफन्त, ब्वाइफ्रेण्डबाट भारततिर ओसारपसार भइरहेको पाइएको माइती नेपाल धनगढीले जानकारी दिएको छ । सो कार्यालयका अनुसार कोरोना महामारीका क्रममा उत्पन्न बेरोजगारी समस्या, आर्थिक अभाव जस्ता कारणले दलालहरुलाई फकाउन सहजमात्रै भएको छैन, उनीहरुले सजिलै मानव तस्करी पनि गरिरहेका छन् ।
विवाह गर्ने बहाना र काम लगाइ दिने प्रलोभनमा महिला वा युवतीका आफन्तहरु, प्रेमीले नेपाली चेलीबेटीलाई सीमा पार गराइ रहेको माइती नेपाल धनगढीका प्रमुख शिवचरण चौधरीले बताए । उनका अनुसार कोरोना महामारी व्याप्त रहेको गत आर्थिक वर्षमा १०९ जनालाई त्रिनगर भन्सारबाट रोकिएको थियो । भारतर्फ जाँदै गरेका ती महिला तथा बालबालिकाई नाकामै रोकेर उनीहरुको उद्धार गरिएको थियो । सोही आर्थिक वर्षमा चार जना महिलाको भारतबाट उद्धार गरिएको माइती नेपाले जनाएको छ ।
यसैगरी, चालू आर्थिक वर्षको हालसम्म भारततर्फ गइरहेका २८ जनालाई रोकेर त्रिनगर भन्सारबाट उनीहरुको उद्धार गरिएको छ । यसअघि, आर्थिक वर्ष २०७६÷७७ मा त्रिनगर भन्सार नाकाबाट छ र भारतबाट एक जनाको उद्धार गरिएको थियो । सोही वर्ष पाँच जनाको नेपालबाटै उद्धार गरिएको छ । यस्तै, आर्थिक वर्ष २०७५÷७६ मा भारततर्फ जाँदै गरेका १५७ जनाको त्रिनगर भन्सार नाकाबाट उद्धार गरिएको थियो । यसैगरी, दुई जना महिलाको भारत र छ जना महिला तथा बालबालिकाको नेपालकै होटलबाट उद्धार गरेको माइती नेपालले जनाएको छ ।
यसरी पछिल्लो चार वर्षमा त्रिनगर भन्सार नाका, भारत र नेपालकै होटलबाट गरेर ३१८ जना महिला तथा बालबालिकाको उद्धार गरिएको माइती नेपालले जनाएको छ । पछिल्लो समय दलालहरुले फेसबुक, भाइबर लगायत सामाजिक सञ्जालबाट महिला र किशोरीहरुलाई सम्पर्क गर्ने र फकाई फुलाई भारततिर लैजाने गरेको चौधरीले बताए। यसैगरी, भारततिर लैजाने ठाउँ पनि परिवर्तन भएको बताइएको छ । गतविगतमा नेपाली चेलीबेटीहरुलाई मुम्बई र दिल्ली लगेर जबरजस्ती यौन व्यवसायमा संलग्न गराउने गरेकोमा अचेल गुजरात, पञ्जाब, बेङ्लोर र राजस्थानतिर बढी लैजाने गरेको माइती नेपालले जनाएको छ ।
‘मुम्बई, दिल्लीतिर पनि लैजानेक्रम त रोकिएको छैन’, चौधरीले भने । ‘तर, पछिल्लो समय अरु ठाउँमा बढी लैजाने गरेको बुझिएको छ ।’ भारतमा बेचबिखन गरिएकाहरुको उद्धारका लागि बर्सेनि सय÷डेढ सय जति निवेदन माइती नेपालमा आउने गरेको छ । जसमध्ये थोरैको मात्रै उद्धार भएको तथ्याङ्कले देखाउँछ । बेचबिखनमा परेका धेरैको ‘लोकेसनसमेत ट्रेस’ गर्न नसक्ने गरेको चौधरीले बताए ।यसैबीच, नेपालमा चेलीबेटी ओसारपसारको स्वरुपसमेत बद्लिएको छ । विगतमा सीमा पारि ओसारपसार बढी हुने गरेकोमा हाल मुलुकभित्रै चेलीबेटीको ओसारपसार फष्टाउन थालेको माइती नेपालले जनाएको छ ।
गतविगतमा बेचबिखनका लागि नेपाली चेलीबेटीलाई भारततिर लग्नेक्रम बढी थियो । अब यौनजन्य क्रियाकलापका लागि मुलुकभित्रै चेलीबेटीको ओसारपसार हुने गरेको सो कार्यालयका प्रमुख चौधरीले बताए । खासगरेर पहाडी क्षेत्रका किशोरी, महिलालाई विभिन्न ठाउँको होटल, दोहोरी साँझहरुमा लगेर यौनजन्य क्रियाकलापमा संलग्न गराउनेक्रम बढेको चौधरीले बताए । माइती नेपालका अनुसार पछिल्लो समय होटलहरुमा यौन व्यापार फष्टाउँदै गएको छ । बेरोजगारी समस्या, आर्थिक अभाव लगायतका कारणले युवतीहरु यौन व्यवसायको दलदलमा सजिलै फँसिरहेको सो संस्थाको जिकिर छ ।
युवतीहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराएर बढी आर्थिक लाभ भने होटलका साहुले लिने गरेको माइती नेपालले जनाएको छ । ‘यौन व्यवसायमा लागेका युवतीहरुलाई धेरै फाइदा हुँदैन । आधाभन्दा बढी पैसा होटलका साहुले लिने गरेका छन्’, चौधरीले भने । ‘तर, पनि यस्तो कार्यमा लागेका युवती यौन व्यवसाय छोड्न चाहँदैनन् । दुई÷तीन महिना काउन्सिलिङ गरेपछिमात्रै सीपमूलक कामका लागि राजी हुने गर्दछन् ।’ उद्धार गरिएका किशोरी, महिलालाई सो संस्थाले सीपमूलक तालिमको व्यवस्था गरेर सिलाईकटाई, व्युटीपार्लर लगायतको कार्यमा अग्रसर गराउने गरेको छ ।विवाह गर्ने बहाना वा काममा लगाइ दिने भन्दै चेलीबेटीको भारततिर ओसारपसार गरेको पाइएको माइती नेपालले जनाएको छ । यताबाट विवाह गर्ने बहानामा लगेको युवतीहरुलाई उता जबरजस्ती अरुसंग विवाह गराउने, काममा लगाएर दलालहरुले पैसा आफू लिने गरेको बताइएको छ । यसैगरी, परिबन्धमा पारेर अन्ततः यौन व्यवसायमा लाग्न बाध्य पार्ने गरिएको माइती नेपालले जनाएको छ ।
मानव ओसारपसार, बेचबिखन कार्य रोक्नका लागि प्रहरी प्रशासन लगायत विभिन्न संघसंस्था क्रियाशील रहेका छन् । विभिन्न निकायको कैयौं वर्षदेखिको प्रयासका बाबजुद पनि मानव ओसारपसार तथा बेचबिखन कार्यको अन्त्य हुन सकेको छैन । नियन्त्रणका लागि सरोकारवाला निकाय अझ गम्भीरतापूर्वक लाग्नु पर्ने आवश्यक रहेको छ ।