पहिलो दिन २ हजार बढी भित्रिएको गड्डाचौकी नाका १० बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ला 
2020/05/26, 6:55
 
GADDA CHAUKI

कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारतका विभिन्न स्थानमा अलपत्र दुई हजारभन्दा बढी नेपालीहरु स्वदेश भित्रिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपरमा बसेको सुरक्षा समितिको बैठकले गड्डा चौकी नाकाबाट सुरक्षा सर्तकता अपनाएर नेपालीलाई भित्रिन दिने निर्णय गरेको थियो ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बेलुकीसम्म नेपालीहरु फर्किने क्रम जारी रहेको बताए। “भारतबाट आउने सबैको तापक्रम मापन लगायत स्वास्थ्य परीक्षण गर्दा सबैको अवस्था सामान्य देखियो ।” सहायक प्रजिअ उपाध्यायले भने, “एक हजार पाँच सयभन्दा बढी नागरिक सम्बन्धित पालिकातर्फ हिडिसकेका छन । दिउँसो १२ बजेदेखि खोलिएको गड्डाचौकी नाका राति भएपछि आवागमन बन्द गरिएको छ ।”

प्रशासनले आज बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म भारतबाट अलपत्र परेका र समस्यामा रहेका नेपालीलाई आउन दिने जनाएको छ । भारतीय सुरक्षाकर्मीहरुले नेपाल–भारत सीमा क्षेत्रसम्म नेपालीलाई पु¥याएका थिए । उनीहरुको गड्डाचौकी नाकामा नेपाली सेना र जनस्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेपछि थप व्यवस्थापनका लागि भन्सार कार्यालय परिसरमा राखिएको थियो । भन्सार परिसरमा भोकै बसेका नागरिकलाई भीमदत्तनगरपालिका, कञ्चनपुरका युवा व्यापारी तथा व्यवसायीहरुले खाना र पानीको प्रबन्ध मिलाएका थिए।

नेपाली सेनाको सीमा नाकामा सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकले खाना र पानी वितरण गरेको थियो। “सीमामा केही समययता नेपाली भोकै बसेको पनि सुनियो ।” यहाँका युवा व्यापारी दिनेश मल्लले भने, “साथीहरुको समन्वय र सहयोगी भावले नै आज अलपत्र नेपालीहरुको भोक र प्यास मेटाउन सक्यौं ।” युवा व्यापारी तथा व्यवसायीका साथै केही सञ्चारकर्मीहरुको पहलमा नाकाबाट भित्रिएका दुई हजार जनालाई खाना खुवाइएको थियो । त्यसैगरी कञ्चनपुर प्रशासनले नाकामा भित्रिने व्यक्तिहरुको विवरण सङ्कलन गरिरहेको छ ।

भित्रिएका नेपालीलाई सम्बन्धित स्थानीय तहमा पठाउन लागिएको सहायक प्रजिअ उपाध्यायले जानकारी दिए । “कालिकोट लगायतका केही जिल्लाका नागरिकलाई पठाइसकेका छौं ।” उनले भने, “अरुलाई पनि गन्तव्यमा पठाउन यातायातको व्यवस्था गरिएको छ ।” उता गड्डा चौकी नाका खुलेसँगै सीमावर्ती भारतीय बजारमा नेपाली आउने क्रम बढेको छ । कञ्चनपुरको ब्रह्मदेव, दोधारा चादँनीलगायतका सीमानाका छलेर नेपालीहरु भारतबाट आउने क्रम बढेपछि स्थानीय प्रशासनले गड्डा चौकी नाकाबाट आवागमन सुचारु गरेको हो । रासस