सुदूपश्चिममा ४ महिनामा २३९ सवारी दुर्घटना, ५३ जनाको मृत्यु 
2020/11/27, 9:46
 
accidnet

सुदूरपश्चिममा चालु आर्थिक बर्षको पहिलो चार महिनामा भएका सवारी दुर्घटनामा ५३ जनाले ज्यान गुमाएका छन । २ सय ३९ सवारी दुर्घटनामा प्रदेशभर ५३ जनाले ज्यान गुमाएका हुन । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालु आर्थिक बर्ष २०७७÷०७८ को साउनदेखि कार्तिकसम्ममा ४२ पुरुष, ९ महिला र २ बालबालिकाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन ।

जसमा चालु आर्थिक बर्षको साउन महिनामा १० जना, भाद्र महिनामा ६ जना, असोज महिनामा १० जना र कार्तिक महिनामा सबैभन्दा बढी २७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन । त्यस्तै सो अवधिमा भएका सवारी दुर्घटनामा ५ सय ९ जना घाईते भएका छन । जसमा १ सय ९७ जना गम्भिर घाईते र १ सय ९३ जना सामान्य घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

४ महिनाको अवधिमा सबैभन्दा बढी दुर्घटनामा मोटरसाईकल परेका छ । सो अवधिका १ सय ३९ मोटरसाईकल दुर्घटना परेको प्रदेश ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै जिप कार २५, ट्याक्टर १५, टेम्पो १३, ट्रक ११, बस ९, डोजर ३, टिपर २, माईक्रो १ र साना सवारी २० र अन्य १ सवारी दुर्घटनामा परेका छन । गत आर्थिक बर्षमा ३ सय ८६ सवारी दुर्घटनामा १ सय ४३ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

१ करोड ३८ लाख बढी राजश्व संकलन 
प्रदेशमा चालु आर्थिक बर्षको ४ महिनाको अवधिमा १ करोड ३८ लाख बढी राजश्व संकलन भएको छ । सवारी साधन कारवाहीमा प्रदेशभरमा १ करोड ३८ लाख ८७ हजार राजश्व संकलन भएको हो । चालु आर्थिक बर्षको श्रावण महिनामा २९ लाख ३० हजार, भाद्र महिनामा २० लाख ८७ हजार ५ सय, असोज महिनामा ४२ लाख १४ हजार ५ सय र कार्तिक महिनामा ४६ लाख ५५ हजार राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

सबैभन्दा बढी राजश्व संकलन पनि मोटरसाईकल कारवाहीबाट भएको छ । मोटरसाईकल कारवाहिमा ४ महिनाको अवधिमा ५३ लाख ३ हजार राजश्व संकलन भएको छ । त्यस्तै ५ सय ६८ बस कारवाहीमा ३४ लाख ७५ हजार ५ सय, ६ हजार १ सय ७१ जीप कार कारवाहीमा ३३ लाख ३८ हजार, ३ हजार ९ सय २३ ट्रक कारवाहीमा २४ लाख १७ हजार ५ सय, ३ हजार ५ सय ८५ ट्याक्टर कारवाहीमा २१ लाख १२ हजार र अन्य ६ सय ६१ सवारी कारवाहीमा ३६ लाख ९ हजार राजश्व संकलन भएको छ ।

गत आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेशमा सवारी कारवाहीबाट ३ करोड ३१ लाख ९९ हजार ५ सय राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।