सुदुरपश्चिममा दुई बालिका सहित १२ जना महिला कोरोना संक्रमित, एकको मृत्यु, दुई निको, ९ जना उपचारमा 
2020/06/05, 9:14
 
korona

सुदुरपश्चिममा तीन बालबालिका सहित १२ जना महिला संक्रमित भएका छन् । उनीहरुमध्ये एक जनाको मृत्यु भएको छ । दुई जना निको भएर घर फर्किएका छन् भने ९ जनाको उपचार भईरहेको छ । बाजुरा जिल्ला अस्पतालमा मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना भाईरसका कारण मृत्यु भएको छ । बुढीगंगा—१ की ती बालिकाको आईतबार बिहान जिल्ला अस्पताल बाजुराको आईसोलेसनमा मृत्यु भएको थियो । यस्तै मृत बालिकाकी आमामा पनि कोरोना संक्रमित रहेकी छिन् । संक्रमित आमाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भईरहेको छ । बाजुरामा कोरोनाका कारण मृत्यु भएकी बालिका र उनकी आमा जेठ १३ गते गौरीफन्टा नाका भएर आएका थिए । 

यस्तै गत जेठ १९ गते १८ जनामा कोरोना पुष्टि भएकोमा उनीहरुमा तीन जना महिला रहेका छन् । डोटीको केआईसिंह गाउँपालिकाकी दुई बर्षीय बालिका र २७ बर्षीय महिलामा संक्रमण पुष्टि भएको छ । सोही दिन कैलालीको गौरीगंगा नगरपालिकाकी २८ बर्षीय महिलामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । कैलालीको टीकापुरकी युवतीमा पनि कोरोना पुष्टि भएको श्रेष्ठले बताए । उनी पनि भारतबाट आएकी हुन् । अछाममा पनि सोही दिन  अछामा एक जनामा कोरोना पोजेटिभ देखिएको थियो । वडा नम्वर ४ कुष्कोटका २७ वर्षीया एक जना महिलामा सुर्खेत प्रयोगशालामा जाँच गर्दा उनमा कोरोना पुष्टि भएको हो । यस अघि जेठ १३ गते अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिकामा कोरोना पुष्टि भएको थियो अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासँगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिईन ।

यसैगरी कैलालीको टीकापुरमा जेठ २० गते एक महिला संक्रमितमा कोरोना पुष्टि भएको छ । त्यसैगरी विहीवार पनि थप एक जना महिलामा कोरोना पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका १४ की २२ बर्षीया महिलामा कोरोना पोजेटिभ आएको हो । गएको चैत २२ गते धनगढीकी ३४ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई दुवईबाट आएका देवरबाट कोरोना सरेको थियो । बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा कोरोना पुष्टि भएको थियो । उनी पूर्वी नेपालबाट सुदूरपश्चिम आएकी थिईन । उनीहरु दुवै जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।