
कैलालीको गौरीगंगा नगरपालिकास्थित एक क्वारेन्टिनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले वडा कार्यालय घेराउ गरेका छन् । गौरीगंगा नगरपालिका ६ स्थित अमर माविमा बनाइएको क्वारेन्टिनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले आफूहरुको पीसीआर परीक्षण हुनुपर्ने माग गर्दै वडा कार्यालय घेराउ गरेका हुन् ।

आरडिटी पोजेटिभ देखिएका एक व्यक्तिले आफूहरुको उपचारमा स्थानीय तहले बेवास्ता गरेको आरोप लगाए। उनले आफूहरुलाई रिपोर्ट पोजेटिभ देखिएको भन्दै गाउँभरी हल्ला फैलाइएकाले तनाव भएको र आन्दोलन गर्न बाध्य भएको बताए ।
वडाअध्यक्ष कमला शर्माले अमर माविको क्वारेन्टिनमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले पिसिआर परीक्षणको माग गरिरहेको बताइन्। ‘तर, त्यो तत्काल सम्भव छैन,’ उनले भनिन्, ‘सेती प्रादेशिक अस्पतालले स्वाब परीक्षण स्थगित गरेकाले अझै दुई दिन पिसिआर परीक्षण गर्न सकिने अवस्था छैन।’

सेती अस्पतालले गत बिहीबार पाँच दिनका लागि स्वाब संकलन स्थगित गरेको थियो ।