कञ्चनपुर कारागार बन्यो ‘भेडाबाख्रा गोठ’
2021/09/02, 3:52
 
aa

करिब साढे पाँच दशकअघि स्थापना भएको कञ्चनपुर जिल्लास्थित महेन्द्रनगर कारागार यतिबेला ‘भेडाबाख्रा गोठ’ झैं भएको छ । कारागारमा क्षमता भन्दा झण्डैं पाँच गुणा बढी कैदी र थुनुवा हुलिएपछि यस्तो हविगत भएको हो ।

बषौं पुरानो संरचनामा कैदी र पुर्पक्षकालागि थुनुवा राखिएकाले बस्नुपर्ने बाध्यता छ । कारागारको वास्तविक क्षमता भन्दा कयौं गुणा बढी कैदी र थुनुवा हुनु स्वतः समस्या भएको बताउँदै कारागारका नाईके टेकराज जोशी भन्छन्, ‘खान, सुत्न र शौच गर्न निकै अप्ठयारो छ । राती पालो मिलाएर सुत्नु पर्छ । अरुलाई पालो दिन उभिएर जाग्राम बस्नु पर्ने अवस्था छ । बस्न समेत ठाउँ पुग्दैन् ।’ कैदीबन्दीहरुले खाना खान र शौचालय जान लाम बस्नु पर्ने अवस्था रहेको उनले गुनासो गरे । 

२०२३ सालमा स्थापना भएको कारागारमा अहिले चारसय ३६ जना कैदी र थुनुवा रहेका छन् । जसमा चारसय १३ पुरुष र २३ महिला छन् । यि मध्ये कैंदी दुईसय ३० र थुनुवा दुईसय छ जना रहेका छन् । जसमा १४ जना भारतीय छन्, पाँच जना कारावास जिवन बिताउँदै छन् भने नौ जना पुर्पक्षकालागि थुनामा रहेका छन् ।

कुल पाँच विघा क्षेत्रफल रहेको कारागारको करिब आठ÷नौ कठ्ठा जमिनमा निर्माण गरिएको भौतिक संरचनाभित्र कोचाकोचको अवस्थामा कैदी र थुनुवा राखिएका छन् । १३ बर्षबढी समयदेखि कारागारमा कैद सजाय बिताईरहेका नाईके जोशी कैदी र थुनुवाको संख्या बर्षेनी बढ्दै गएपनि कारागारको भौतिक संरचना जस्ताको त्यस्तै रहेको गुनासो गर्छन्् । ‘ग्यालरीमा समेत ठाउँ हुदैन् । पानी पर्दा झन् बिजोगको अवस्था हुने गरेको छ ।’ नाईके जोशीले भने ।

कारागारमा  ६२ पुरुष र दुई महिला कर्तव्य ज्यान, तिन पुरुष र एक महिला ज्यान मार्ने उद्योग, ५९ पुरुष जवरजस्ती करणी, १५ पुरुष र दुई महिला लागूऔषध, १६ पुरुष, एक विदेशी र सात महिला मानववेचविखन, दूई विदेशी अपहरणमा, २१ पुरुष र एक विदेशी सबै प्रकारका चोरीमा, पाँच पुरुष वन सम्बन्धि, आठ पुरुष वन्यजनतु सम्बन्धि, पाँच पुरुष र एक बिदेशी सवारी ज्यान, आठ पुरुष बहुबिवाह, दुई पुरुष बैंकिंङ कसुर, चार पुरुष विविध मुद्दामा गरि दुई सय आठ पुरुष, १७ महिला र पाँच विदेशी गरी दुई सय ३० कैद  सजाय भोगिरहेका छन् ।

यसैगरी १३ पुरुष र एक महिला कर्तव्य ज्यान, एक महिला ज्यान मार्ने उद्योग, ४८ पुरुष जवरजस्ती करणी, ८३ पुरुष र नौ विदेशी एवं एक महिला लागूऔषध, ४ पुरुष मानववेचविखन, एक पुरुष हातहतियार खरखजानामा, २३ पुरुष र एक महिला सबै प्रकारका चोरीमा,  छ पुरुष सवारी ज्यान, दुई पुरुष एक महिला बहुबिवाह, सात पुरुष केही सार्वजनिक अपराधमा, चार पुरुष र एक महिला विविध मुद्दामा गरि एक सय ९१ पुरुष, छ महिला र नौ बिदेशी गरी दुई सय छ कैदी  सजाय भोगिरहेका छन् ।

प्रयाप्त ठाउँ नहुँदा कैदीबन्दीले पाल टाँगेर समेत बस्नु परेको छ । त्यस्तै ग्यालरी र भान्सामा समेत कैदीबन्दीले कोचाकोच गरि रात गुजार्नु परेको छ । कारागारका जेलर माया बस्नेत थापाले कैदीबन्दीले भौतिक संरचना अभावका कारण समस्या भोग्नु परेको बताउँदै भने, ‘केन्द्रमा पटक–पटक यसबारे पत्राचार गरि जानकारी गराएका छौं । गत बर्ष पुर्वाधारकालागि बजेट आएन । यस आवमा कैदीबन्दी रहेको संरचना फराकिलो गर्ने लगायतका कामकालागि रकम आउने आस्वासन पाईएको छ ।’ उनले बस्न सुत्नबाहेकका कुरामा त्यति समस्या नभएको बताए । कारागारमा रहेका सबैले कोभिड विरुद्धको सुई लगाईसकेको जानकारी गराउँदै उनले नयाँ आउनेको स्वास्थ्य परीक्षणपछि मात्रै प्रवेश गराउने गरेको जानकारी    गराए ।

कैदिबन्दीलाई दैनिक दिने सिदा पनि कम भएको उनिहरुको गुनासो छ । दैनिक सात सय ग्राम चामल र ६० रुपैया उनिहरुले पाउने गरेका छन् । ‘चामल बाहेकको सबै कुरा ६० रुपैयाले नै पु¥याउनु पर्छ । धेरैेले अपुग हुने भएका घरबाट समेत मगाउने गरेका छन् ।’ नाईके जोशीले भने ।

कारागारमा अहिले पानीको समस्या नभएको जानकारी गराउँदै उनले कैदीबन्दीकालागि आठ मेस र १६ शौचालय हरेको जानकारी गराए । केहि सयमययता नेपाली सेनाले कारागारको सुरक्षाको जिम्मा पाएको छ । आन्तरिक सुरक्षाकालागि जमदारको नेतृत्वमा २०÷२२ जना सेना रहेका छन् । त्यस्तै नेपाल प्रहरीका सई रमेश धामीको नेतृत्वमा प्रहरी टोली पनि तैनाथ रहेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालय, मानव अधिकार रक्षक समुह, इन्सेक लगायतका संघसंस्थाले कारागारमा बस्ने ठाउँ अभाव भएको भनि पटक–पटक ध्यानाकर्षण गराउँदै आएको मानव अधिकार रक्षक सञ्जालका सचिव कोमलनिरन्जन भाटले बताए । उनले भने, ‘हामीहरुले पटक–पटक सरकारको ध्यानाकर्षण गराएका छौ, यसले मानव अधिकारको ठाडो उलंघन भएको छ ।’ उनिहरुलाई बस्न खान लगायतका आधारभुत आवश्यकता पुरा गर्नु सरकारको दायित्व भएको भन्दै कोरोनाको कहरका बेला यसरी कोचाकोच गरेर मावन अधिकारको ठाडो उलंघन भएको भाटले बताए । उनले भने, ‘यथा सिग्र कैदी बन्दीको यस समस्यामा सरकारको ध्यान जानुपर्छ ।’