कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ विचुवाकी अन्जु विष्ट आफ्नो स्कुलले भाग लिएको क्रिकेट प्रतियोगिता हेर्न धनगढी पुगिन्। धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग–६ को फाइनलमा आफ्नो स्कुल पुगेपछि कक्षा ९ मा पढ्दै गरेकी उनी आफ्नो टिमको समर्थन गर्न मैदानमै पुगेकी हुन्।
यसअघिका खेलमा पनि उनी स्कुलका साथीसँगै मैदानमा जाने गरेकी थिइन्। साथीसँग आएकी उनलाई यस्ता खेलले खेलाडी र स्कुलहरूबीचको आपसी सम्बन्ध बलियो हुने विश्वास छ। ‘क्रिकेटमा विशेष गरी चौका र छक्का हानेको मनपर्छ,’ उनले भनिन्।
उनको विद्यालयका खेलाडीले विपक्षी विरूद्ध चौका र छक्का (बाउन्ड्री) प्रहार गर्दा उनी हौसिएर उफ्रन्थिन् उनी सँगै अरू साथीहरू पनि रमाउँथे।ब्याटरले छक्का प्रहार गर्दा कमेन्टेटरले बेलाबेला ‘बालविवाह विरूद्धको छक्का फलानोले हिर्काए’ भनेको सुनेर उनलाई नौलो लाग्यो।
‘हरेक पटक प्लेयरले छक्का प्रहार गरेलगत्तै बालविवाह विरूद्धको छक्का भनेको सुन्दा मलाई नयाँ लाग्यो,’ उनले भनिन्। टेलिभिजनले समेत प्रत्यक्ष प्रसारण गरेको प्रतियोगितामा बोल्ने र मैदानमा ठूला स्पीकरमा सबैले सुन्ने गरी ‘बाल बिवाह विरूद्धको छक्का’ भनेको सुन्दा उनले स्कुल पढ्दै गरेका कलिला उमेरका केटाकेटीले विहे गर्ने गरेको कुरा दिमागमा आएको बताइन् ।
‘मेरै छिमेकी १७ वर्षीया दिदीले बालविवाह गरेर जानुभयो, पछि उहाँलाई निकै समस्या परिरहेको छ,’ उनले भनिन् १२ पढेपछि उमेरै नपुगी विहे गरेकी ती दिदी एक वर्षमै आमा बनेकी उनले बताइन्। केही महिनामै परिवारमा आपसी विवाद हुन थालेपछि ती दिदीका श्रीमानले आत्महत्या गरे। श्रीमानको मृत्युको पीडा, परिवारको दवावले सन्तानको राम्रो हेरचाह गर्न नसकेपछि ती किशोरीको १२ दिने छोराको पनि मृत्यु भएको उनले सुनाइन्।
‘श्रीमान् बितेपछि घरमा पनि उनलाई राम्रो व्यहार नगरेकाले अहिले माइतीमै हुनुहुन्छ,’ उनले भनिन्। सुझबुझ बिना उमेरै नपुगी हतारमा गरिएको विहेले समाजमा धेरै मान्छे पीडित भएको उनले प्रत्यक्ष देखेकी छन्। खासगरि एसइई वा १२ कक्षा पढेपछि बिहे गरिदिने चलनले बालविवाह बढेको उनले बताइन्।
यस्तै बाजुरा कोल्टीका अशोक बुढा पनि क्रिकेटका फ्यान हुन्। उनले एलपीएलका यो सिजन सबै खेल नछुटाएर हेरे। पहिलो दिनकै खेलमा ब्याटरले ६ रन प्रहार गरेपछि ‘बालविवाह विरूद्धको छक्का’ भनेको सुने। उनलाई पनि यो अनौठो लाग्यो। उनको गाउँमा पनि सानैमा बिवाह गरिदिने चलन छ। यसरी सार्वजनिक रूपमा बालबिवाहको कुरा उठाउँदा केही हदसम्म कम हुने उनले विश्वास लिए।
‘बाल बिवाहबारे हाम्रोतिर नबुझेर, गाउँ समाजमा एउटा रिति नै बनेको छ,’ उनले भने, ‘क्रिकेटमा छक्का महत्वपूर्ण हुन्छ, छक्कालाई वालविवाह रोक्नुपर्छ भन्ने सन्देश भनिरहँदा यहाँ आउने अभिभावक, विद्यार्थी, शिक्षक सबैका दिमागमा यो कुरा खेल्छ। बालविवाह गरेकाले भविष्यमा धेरै समस्यासँग जुँधेको उनले देखेका छन्।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित शारदा सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यपक कृष्णबहादुर चन्दले खेलकुदले बच्चालाई अनुशासन सिकाउने बताए। बच्चाहरू खेलकुदमा लागे भने कुलत र खराब संगतबाट पनि जोगिने उनको तर्क छ।
स्कुलमा हुने यस्ता प्रतियोगिता खेल्नकै लागि पनि स्कुल छोडेका विद्यार्थीहरू पुनः पढ्न आउने गरेको उनले बताए। ‘नियमित क्रिकेटमा लागेपछि स्कुल छोडेका केही विद्यार्थीहरू फेरि पढ्न आएका छन्,’ उनले भने। धनगढीमा जारी छैठौं संस्करणको एलपीएलको मुख्य नारा ‘बाल बिवाह रोकौं’ हो।
प्रतियोगिताको मुख्य नारा नै बालबिवाह रोक्ने र हरेक बाउन्ड्री गएको बललाई कमेन्टेटरले बालबिवाहविरूद्धको छक्का भन्ने गरेकाले खेल हेर्न आउने विद्यार्थी र अभिभावकलाई सोच्न बाध्य बनाएको प्रधानध्यापक चन्दले बताए। एलपीएल आयोजक लिटल फ्वार स्पोर्टस् एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले उमेर समूहको क्रिकेट भएकाले उनीहरूलाई लक्षित गरेर यसो भनिएको बताए।
किशोरावस्थाका केटाकेटी खेल्ने र खेल हेर्न आउने भएकाले आफ्नो जिवनमा के-के कुरा थाहा पाउनुपर्छ भन्ने सचेतना दिन जरूरी हुन्छ। ‘उमेर नपुगी विवाह गर्नुहन्न भन्ने मान्यतालाई स्थापित गर्न हामीले सर्वाधिक रन संख्यालाई बालविवाह विरूद्धको छक्का भनेर नारा दिएका हौं,’ उनले थप प्रस्ट्याए।
हाम्रो सामाजिक जिम्मेवारी पढाई र खेलसँगै चेतना पनि आवश्यक भएकाले किशोर किशोरीमा सन्देश दिन नयाँ उपाय अपनाइएको अध्यक्ष शाहीले बताए। नेपाल सरकारले सन् २०३० सम्म बालविवाह शून्यमा झार्ने लक्ष्य लिएको छ।
एसियामा बालविवाह धेरै हुने बंगलादेश र भारतपछि नेपाल तेस्रो स्थानमा पर्छ। २०६८ को जनगणना अनुसार कुल बिबाहमध्ये प्रतिवर्ष १ लाख १५ हजार बालबालिकाले बाल बिवाह गर्छन्। कुल जनसंख्याको ४३ लाखभन्दा बढी १५ देखि १९ वर्षका किशोरीको विवाह हुने गरेको सरकारी तथ्यांक छ। स्वास्थ्य सर्वेक्षण प्रतिवेदन २०१६ का अनुसार नेपालमा ४१ प्रतिशत बालिका र ११ प्रतिशत बालकको बालविवाह हुने गरेको तथ्यांक छ।
सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, दार्चुला र बैतडीका ७० प्रतिशत बालबालिकाको उमेर नपुग्दै विवाह हुने गरेको यहाँ कार्यरत गैरसरकारी संस्थाको तथ्यांक छ। यहाँ २० वर्षभन्दा कम उमेरका महिलाको मातृ मृत्युदर अनुपात २० वर्ष कटिसकेको महिलाको भन्दा दोब्बर रहेको वल्र्डभिजनको तथ्यांक छ।
नेपालको कानूनले विवाह गर्ने उमेर २० वर्ष पुग्नैपर्ने अनिवार्य गरेको छ। त्यसभन्दा कम उमेरमा गरिने विवाहलाई गैरकानूनी मानेको छ। मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा गरिएको व्यवस्था अनुसार, २० वर्ष नपुगी भएको विवाह स्वत: बदर हुनेछ। कसैले २० वर्ष उमेर नपुगी विवाह गर्यो वा गरायो भने त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रूपैयासम्म जरीवाना हुने व्यवस्था गरिएको छ। सविता बुढाले यो खबर सेतोपाटीमा लेखेकी छिन् ।