ठूला सभा, सम्मेलन आयोजनाका लागि सुदूरपश्चिम प्रदेशले झेल्दै आएको संरचना अभावको समस्या अब टर्ने भएको छ । प्रदेशको अस्थायी मुकाम धनगढीमा करिब एक हजार क्षमताको सभा गृह (सिटी हल) निर्माणले समस्या हल हुन लागेको हो ।
ठूला सभा हल नभएका कारण यो प्रदेशमा ठूलठूला सम्मेलन, राष्ट्रिय स्तरका कार्यक्रम गर्नमा समस्या हुँदै आएको थियो । उपयुक्त संरचना नहुँदा कतिपय कार्यक्रम प्यालेसहरुमा हुँदै आएका छन् । सभा, सम्मेलनका लागि संरचना अभावले हुँदै आएको समस्या हल गर्ने उद्देश्यका साथ संघीय सरकारको लगानीमा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा एक हजार क्षमताको सिटी हल तयार भएको छ । सिटी हल निर्माणको सम्पूर्ण कार्य लगभग पूरा भएको छ । अब भित्रको फिनिसिङमात्रै बाँकी रहेको जनाइएको छ ।
आवश्यक सामान बाहिरबाट मगाउनु परेकाले फिनिसिङको काम बाँकी रहेको निर्माण कम्पनी बीकेवाइ एमके जेभीका सञ्चालक प्रकाश सेठीले बताए । ‘स–साना काममात्रै रोकिएका छन्’, उनले भने । ‘सामान आउने बित्तिक्कै १०/१५ दिनमा काम सकि हाल्छ ।’ वाल प्यानेल कार्ड लगायतका सामान नेपालमा नबन्ने गरेकाले भारत र सिङ्गापुरबाट मगाएको सेठीले बताए । ‘सामानको पैसा भुक्तानी गरिसकेका छौं । त्यो आउने क्रममा रहेको छ’, उनले भने ।
सङ्घीय सरकारको २५ करोड २६ लाख रुपैयाँ लगानीमा सो सिटी हल बनेको छ । सिटी हलमा साढे छ सयभन्दा बढी क्षमताको एउटा ठूलो र अढाई सय क्षमताको अर्को सानो गरी दुई वटा सभा हल रहेको छ । यसैगरी, सय/डेढ सय सवारी साधन पार्किङ गर्न सकिने गरी अन्डर ग्राउण्ड पार्किङको व्यवस्था गरिएको छ । भीआइपी कक्ष, लब्बी लगायतका संरचना सिटी हलमा रहेको सेठीले जानकारी दिए । निर्माण कम्पनीका अनुसार लगभग ९५ प्रतिशत काम पूरा भइसकेको छ । ९० प्रतिशत भुक्तानीसमेत भइसकेको सेठीले उल्लेख गर्दै अब थोरै काममात्र बाँकी रहेको बताए । ‘चैत मसान्तभित्रै हस्तान्तरण गर्ने हाम्रो तयारी छ’, उनले भने । ‘अब धेरै काम बाँकी छैन ।’
२०७६ माघमा सिटी हल निर्माणको ठेक्का सम्झौता भएको थियो । कोरोना महामारीका कारण तोकिएको समयावधिमा काम सम्पन्न हुन नसकेपछि चैतसम्मको म्याद थप गरिएको थियो ।राष्ट्रिय स्टान्डार्डको यो सिटी हल बनेमा सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्तरको जुनसुकै ठूला सभा, सम्मेलन गर्न समस्या नहुने वडा अध्यक्ष नारायण बरालले बताए । ‘यो सिटी हल सङ्घीय राजधानीको राष्ट्रिय सभा गृह जस्तै हो’, उनले भने । ‘गौरवको यो योजनाले अब सुदूरपश्चिमलाई नै चिनाउनेछ ।’
सिटी हलकै कारण धेरै जनाले रोजगारी पाउनुका साथै आसपासमा व्यापार, व्यवसाय पनि फष्टाउने वडा अध्यक्ष बरालको बुझाइ छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत सिटी हल निर्माणको कार्य भएको हो । प्रदेशकै गौरवको एक योजनाको रुपमा सिटी हल तयार भए पनि कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने तय भइसकेको छैन । निर्माण कम्पनीले सिटी हल तयार पारेर सञ्चालनका लागि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ । सम्भवतः ठेक्का प्रक्रियामार्फत सिटी हल सञ्चालन हुने वडा अध्यक्ष बरालले बताए ।
‘धनगढी उपमहानगरपालिकाले टेन्डर प्रक्रियाबाटै नै सिटी हल सञ्चालन गर्छ होला’, उनले थपे । ‘यो हल मल्टि प्रपोजका लागि उपयोग हुनेछ ।’ सिटी हलमा क्यान्टिन लगायतका संरचना कस्तो रहने त्यो भने तय भइसकेको छ । सकेसम्म ठेक्का पाउनेले नै क्यान्टिन सञ्चालन गर्ने वडा अध्यक्ष बरालको भनाइ छ । उनले सिटी हल आसपासका क्षेत्रमा पनि व्यापार, व्यवसाय फष्टाउने बताए ।
उता, छ करोड ८१ लाख रुपैयाँ खर्चेर कञ्चनपुरको भीमदत्त नगरपालिकामा बनेको सिटी हल भने सञ्चालन हुन सकेको छैन । महेन्द्रनगरमा १३ वर्षअघि निर्माण थालिएको सभागृह सञ्चालनमा सरोकारवालाले ध्यान दिन सकेका छैनन् । तत्कालीन महेन्द्रनगर नगर विकास समितिको लगानीमा यहाँ ठूला सभा, सम्मेलन तथा अन्य प्रयोजनका लागि बजारको मुटुमै पाँच बिघा जमिनमा सभागृह निर्माण थालिएको थियो । नगरविकास समिति यहाँको भीमदत्त नगर विकास समितिका रुपमा स्वामित्व प्रदान गरिए पनि उक्त समितिले सभागृह सञ्चालनका लागि मापदण्डसमेत बनाउन सकेको छैन् ।
सभागृह निर्माणको जिम्मेवारी पाएको श्यामसुन्दर र गौरी पार्वती जेभीले २०७५ जेठमा निर्माण सकेको थियो । दश वर्षमा पाँच पटक म्याद थप भएर बनेको सभागृह सुरुवातमा रु छ करोड ८१ लाखमा ठेक्का आह्वान भएको थियो ।यहाँको भीमदत्त नगरपालिकाका सूचना अधिकृत हरिसिंह धामीले नगर विकास समितिले चाँडै मापदण्ड बनाएर सञ्चालन गर्ने तयारी थालेको बताए । सो सभागृह पनि एक हजार क्षमताको रहेको छ ।