चिसापानी–मंगलसेन सडकलाई ५३ वर्षदेखि निरन्तर बजेट, तर अझै निर्माण पूरा भएन
बोकेर पुग्यो, गुडेर कहिले ?
2022/03/19, 3:38
 
aa

कर्णालीको तीरैतीर तराईबाट पहाड जोड्ने यो सडक बने २ सय किलोमिटरले दूरी छोटिन्छ

कैलालीको चिसापानीदेखि जंगलघाट हुँदै अछामको मंगलसेन जोड्ने सडक बनाउन कुरा चल्दै थियो । अछामका तत्कालीन जिल्ला पञ्चायत सभापति हरि भण्डारीले २०२३ सालमा राजा महेन्द्रलाई यही विषयमा बिन्ती चढाए । त्यसको २ वर्षपछि भण्डारीले नेपालगन्जबाट एउटा जिप किनेर चिसापानी–जंगलघाटकै बाटो हुँदै बोकाएर अछाम सदरमुकाम मंगलसेनसम्म पुर्‍याए । बोकेर मोटर पुर्‍याएको ५३ वर्ष बितिसक्यो, तर यो बाटोमा अझै गुडेर मोटर पुगेको छैन ।

‘२०२५ सालमा सडक निर्माण सुरु भयो,’ ५३ वर्षअघिको घटना सम्झिँदै कैलाली सोल्टाका नारायण खड्काले भने, ‘हामी केटाकेटी नै थियौं । जिप बोकेर आएकाहरू सोल्टामा बास बसेको सम्झना छ । ठाउँ–ठाउँमा मोटर हेर्नेको भीड लाग्थ्यो । फूलमाला लिएर गाडी हेर्न आउनेले अर्को गाउँसम्म बोक्न सघाउँथे ।’ केही ठाउँमा त ‘लामो बाटोमा के खायो होला’ भन्दै जिपको अगाडि स्थानीयले घाँसको भारीसमेत हालेको उनले सम्झिए । ‘त्यतिबेला खन्न सुरु गरेको सडक अहिलेसम्म निर्माणाधीन छ, कहिले पूरा बन्ने हो, अत्तोपत्तो छैन,’ उनले भने ।

कैलालीको चिसापानीदेखि अछामको मंगलसेनसम्मको ११० किलोमिटर सडक निर्माण सुरु भएयता निरन्तर बजेट खर्चिए पनि लक्ष्य पूरा भएको छैन । झन्डै ६ दशकमा सुदूरपश्चिम क्षेत्रबाटै २ प्रधानमन्त्री र धेरै मन्त्री बने तर चिसापानी–मंगलसेन सडक पूरा हुन सकेन । ‘पञ्चायतकालमै अछामका नैनबहादुर स्वाँर, खडकबहादुर सिंहजस्ता शक्तिशाली मन्त्रीहरू थिए,’ चिसापानीका सामाजिक अगुवा ध्रुव शाहीले भने, ‘२०४६ पछि देशको नेतृत्व नै पटकपटक सुदूरले लियो तर यो सडकप्रति कसैले चासो राखेन ।’ उनका अनुसार २०४६ पछि १० वर्षभन्दा बढी समय लगातार ४० करोडभन्दा बढी रकम यही सडकमै खर्च भएको छ ।

सडक डिभिजन कार्यालय कुलपातेका अनुसार यो सडकमा पञ्चायतकालदेखि नै निरन्तर बजेट विनियोजन भएको छ तर कति खर्च भयो भन्ने यकिन तथ्यांक भेटिँदैन । हाल चिसापानीदेखि मोहन्यालको सोल्टासम्म मोटर गुड्ने गरे पनि त्यसअघिको खण्ड उस्तै छ । ‘उक्त सडकमा पटक–पटक बजेट आएको सम्झना छ,’ सडक विभागका सेवा निवृत्त इन्जिनियर महेन्द्र पन्तले भने, ‘सांसद विकास कोष, गाविस, जिविस र सडक विभागबाट धेरै पटक काम भएको थियो ।’

कर्णाली नदीको तीरैतीर तराईबाट पहाड जोड्ने यो सडक सबैभन्दा छोटो दूरीको राजमार्ग हो । यो राजमार्ग बन्न नसक्दा अहिले अछामका बासिन्दाले ३ सय किलोमिटरभन्दा बढी यात्रा गर्दै डडेलधुरा र डोटी छिचोल्दै घर पुग्नुपर्ने बाध्यता छ । अछामसँग जोडिएको बाजुरा, हुम्ला र कालीकोटका अधिकांश भेगमा जान पनि निकै लामो दूरी तय गर्नुपर्छ । चिसापानी–मंगलसेन सडक निर्माण हुन सके यो दूरी २ सय किलोमिटरले छोटिन्छ । कैलाली र सुर्खेतका २/२ वटा स्थानीय तह र अछामीका लागि यो सडक महत्त्वपूर्ण छ । ‘बल्लतल्ल ट्र्याक खुले पनि मोटरसाइकलबाहेक अरू साधन चल्दैनन्,’ अछाम कुइनाका रतन रावलले भने, ‘मोटरसाइकल पनि वर्षायाममा गुड्दैनन् ।’

जिल्ला पूर्वाधार कार्यालय कैलालीका सहायक इन्जिनियर जगत जोशीका अनुसार कार्वा खोला र बाँका खोलामा पुल निर्माण अन्तिम चरणमा छ । बाँकी ३ वटा पुल बनेपछि मात्र सडकमा यातायातका साधन चल्न सक्नेछन् । कैलालीतर्फ सडक निर्माण कार्य हेरिरहेको डिभिजन कार्यालय महेन्द्रनगरले यो वर्ष चिसापानीदेखि ७ किलोमिटर क्षेत्रलाई कालोपत्र गर्न २५ करोड रुपैयाँको टेन्डर गरेको जनाएको छ । ‘टेन्डर भएको छ तर काम सुरु भएको छैन,’ कार्यालयका डिभिजनल इन्जिनियर नरेन्द्र भट्टले भने । आर्थिक वर्ष सकिन ४ महिना मात्रै बाँकी रहेकामा टेन्डरसमेत नभएकाले समयमै काम सकिनेमा स्थानीय शंका व्यक्त गर्छन् ।

अछामतर्फको खण्डमा हरेक वर्ष बजेट आए पनि काम भने हुन गरेको छैन । बर्सेनि थोरै बजेट आउने भएकाले देखिने गरी काम हुन नसकेको सोल्टाका नारायण खड्काले बताए । ‘बजेट त कति आयो कति, तर दुर्गम क्षेत्र पहुँच भएका नेता नहुनु र आएको बजेटको पनि दुरुपयोग हुने गरेका कारण सडक बन्न सकेन,’ उनले भने ।

पूर्वाधार कार्यालय अछामले स्तरोन्नति भन्दै २३ किलोमिटरका लागि २ वर्षअघि २ करोड रुपैयाँको टेन्डर खोलेको थियो । तर, उक्त काम अहिलेसम्म सुरु भएको छैन । ‘पर्यावरणीय प्रभाव मूल्यांकन हुन नसक्दा काम सुरु हुन सकेको छैन,’ कार्यालय प्रमुख रुद्र बोगटीले भने, ‘स्थानीयस्तरमा केही विवाद पनि भएका कारण सडक निर्माणको काम रोकिएको हो ।’