पछिल्ला १० वर्षमा सुदूर पश्चिमको जनसंख्या बृद्धि भएपनि पहाडी जिल्लाहरुको जनसंख्या भने घटेको छ । जन गणना २०७८ को प्रारम्भिक प्रतिबेदन अनुसार सुदूर पश्चिमका पाँच वटा जिल्ला डोटी, डडेल्धुरा, अछाम, बझाङ र बैतडीमा जनसंख्या घटेको छ । दार्चुला र बाजुरामा भने झिनो मात्रामा जनसंख्या बृद्धि भएको छ ।
तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा भने जनसंख्या बृद्धि भएको छ । पहाडबाट बसाई सराई गरेर आउने क्रम तिब्र भएका कारण कैलाली र कञ्चनपुरमा जनसंख्या बृद्धि भएको हो । कैलालीमा १० वर्षको अबधिमा १ लाख ३५ हजार ४ सय ४६ जनसंख्या थपिएको छ । कञ्चनपुरमा यही अबधिमा ६६ हजार ३ सय ९७ जनसंख्या बृद्धि भएको छ । २०६८ मा ७ लाख ७५ हजार ७ सय ९ जनसंख्या रहेको कैलालीमा २०७८ मा गरिएको जन गणनामा ९ लाख ११ हजार १ सय ५५ जनसंख्या पुगेको छ । कैलालीमा जनसंख्याको वार्षिक बृद्धिदर १ दशमलव ५४ प्रतिशत रहेको छ । कञ्चनपुरमा २०६८ सालमा ४ लाख ५१ हजार २ सय ४८ जनसंख्या रहेकोमा पछिल्लो जनगणनामा ५ लाख १७ हजार ६ सय ४५ जनसंख्या पाईएको छ ।
कञ्चनपुरको जनसंख्याको वार्षिक बृद्धिदर १ दशमलव ३२ प्रतिशत रहेको जनगणनाले देखाएको छ । १० वर्षको अबधिमा दार्चुलामा १ हजार ७ सय ८२ र बाजुरामा ४ हजार ८६ जनसंख्या थपिएको छ । दार्चुलामा २०६८ मा १ लाख ३३ हजार २ सय ७४ जनसंख्या रहेकोमा २०७८ मा त्यस जिल्लाको जनसंख्या १ लाख ३५ हजार ५६ पुगेको छ । दार्चुलाको बार्षिक जनसंख्या बृद्धिदर ० दशमलव १३ प्रतिशत रहेको छ । २०७८ को जनगणनामा बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ पुगेको छ । १० वर्षअघि बाजुराको जनसंख्या १ लाख ३४ हजा ९ सय १२ थियो । बाजुराको बार्षिक जनसंख्या बृद्धिदर ० दशमलव २९ प्रतिशत रहेको छ । १० वर्षयता बझाङ,डोटी, बैतडी, डडेल्धुरा र अछाममा भने २ हजारदेखि २७ हजारसम्म जनसंख्या घटेको छ ।
१० वर्षको अबधिमा डडेल्धुरामा २ हजार ६ सय ७४ जनसंख्या घटेको छ । २०७८ मा डडेल्धुराको जनसंख्या घटेर १ लाख ३९ हजार ४ सय २० पुगेको छ । २०६८ मा डडेल्धुराको जनसंख्या १ लाख ४२ हजार ९४ थियो । यही अबधिमा बझाङको जनसंख्या ६ हजार ६२ घटेको छ । २०६८ मा १ लाख ९५ हजार १ सय ५९ रहेकोमा २०७८ मा घटेर १ लाख ८९ हजार ९७ पुगेको छ । डोटीमा यही अबधिमा ६ हजार ६३ जनसंख्या घटेको छ । २०७८ को जनगणना अनुसार डोटीको जनसंख्या २ लाख ५ हजार ६ सय ८३ रहेको छ । २०६८ मा गरिएको जनगणनामा डोटीको जनसंख्या २ लाख ११ हजार ७ सय ४६ रहेको थियो ।
१० वर्षमा बैतडीको जनसंख्या ६ हजार ४ सय ९८ घटेको छ । २०६८ सालमा २ लाख ५० हजार ८ सय ९८ जनसंख्या रहेको बैतडीमा २०७८ को जनगणनामा त्यो संख्या घटेर २ लाख ४४ हजार ४ सय पुगेको पाईएको छ । १० वर्षको अबधिमा सुदूरपश्चिमका नौ वटा जिल्ला मध्ये अछाममा सबैभन्दा बढि(२७ हजार ६ सय ६१) जनसंख्या घटेको छ । २०७८ को जनगणना अनुसार अछामको जनसंख्या २ लाख ५७ हजार ४ सय ७७ बाट घटेर २ लाख २९ हजार ८ सय १६ पुगेको छ ।