कर्णाली तटका वनमा सरे वन्यजन्तु, बढ्यो मानवीय क्षति
2024/04/10, 4:52
 
aa

२०६४ सालमा कर्णाली नदीमा भीषण बाढी आयो। बाढीले नदीको धार परिवर्तन गरिदियो। बर्दिया राष्ट्रिय निकुञ्ज छेउ हुँदै बग्ने गेरुवा नदी (कर्णाली नदीकै सहायक नदी) को धार कैलालीतर्फ फर्कियो। गेरुवा नदीमा पानीको सतह निक्कै घट्यो। कर्णाली नदीको जम्मै पानी पश्चिमतर्फ बर्दिया र कैलाली जिल्लाको सीमा हुँदै बग्न थाल्यो।

पानी पश्चिमतर्फ सरेपछि निकुञ्जका जङ्गली जनावर समेत उतै बसाई सरे। जङ्गली जनावरलाई पनि मान्छे झैँ पानी आवश्यक पर्ने नै भयो। अझ कतिपय जङ्गली जनावरलाई त पानी नभई हुँदैन। यसै क्रममा उनीहरू पानीसँगै बसाई सरेको मान्न सकिन्छ।

उनीहरूले कर्णाली नदीको किनारमा रहेको जङ्गललाई वासस्थान बनाए। जुन जङ्गल स्थानीयले वर्षौँदेखि सामुदायिक वनका रूपमा संरक्षण गर्दै आएका छन्। सामुदायिक वनका रूपमा संरक्षण गरेको जङ्गल स्थानीयले प्रयोग गर्ने नै भए।

स्थानीयले चरिचरण, घाँस दाउरा लगायतका रूपमा प्रयोग गर्दै आएको सामुदायिक वनमा जङ्गली जनावरले वासस्थान बनाए पछि दुई पक्षबीच सङ्घर्ष सुरु भयो। स्थानीयले सामुदायिक वनको उपभोग छोडेनन्। सोही क्रममा जङ्गली जनावरले आक्रमण गर्न थाल्यो।

विगत केही वर्ष यता जङ्गली जनावरको आक्रमणमा परेर बर्सेनि कसै न कसैले ज्यान गुमाउनु परेको छ। हिजो, अर्थात् २०८० चैत २७ गते जङ्गली हात्तीको बथानले आक्रमण गर्दा टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १५ की जसुदा बटालाको ज्यान गयो।

हात्तीको आक्रमणमा परेर ज्यान गुमाएकी बटाला।

गाईबस्तुलाई घाँस काट्न गएकी बटाला जङ्गली हात्तीको सिकार भइन। उनीसँगका अरू महिलाहरूले भागेर ज्यान जोगाए। गत २०७९ असार ५ गते जङ्गली हात्तीकै आक्रमणबाट थप एक महिलाको ज्यान गएको थियो। प्रहरीका अनुसार टीकापुर नगरपालिका वडा नं. १ की ५० बर्सिया टंक सोडारीको ज्यान गएको थियो। उनलाई सनकट्टीघाटबाट घर फर्किने क्रममा हात्तीको बथानले आक्रमण गरेको थियो। उनको घटनास्थलमै ज्यान गएको थियो।

त्यस्तै टीकापुर नगरपालिका वडा नं. १ का ६० वर्षीय मन्सुराम चौधरीको २०७७ चैत्र २१ गते जङ्गली हात्तीले नै ज्यान लिएको थियो। जानकी गाउँपालिका वडा नं. ६ स्थित जङ्गलमा गएका उनलाई हात्तीले आक्रमण गरेको थियो।

केही व्यक्तिहरू जङ्गली जनावरको आक्रमणमा परेर घाइते समेत भएका छन्। २०७९ मङ्सिर ८ गते टीकापुर भुराखानी सामुदायिक वनमा घाँस काट्न गएकी ढुन्की कठायत चितुवाको आक्रमणबाट घाइते भइन्। २०७९ चैत २४ गते टीकापुर नगरपालिका वडा नं. ८ श्रीलङ्काका २७ वर्षीय पवन आउजी चितुवाको आक्रमणमा घाइते भए।

चार वर्ष अघि चितुवा दिउँसै टीकापुर बजार क्षेत्रमै पसेर स्थानीयलाई आक्रमण गर्‍यो। चितुवाको आक्रमणमा परेर ट्राफिक प्रहरी देवीराम धिताल घाइते भए। त्यो भन्दा केही वर्ष अघि बसपार्क क्षेत्रमा जङ्गली गैँडा देखिएको थियो। गैँडाले आक्रमण गर्दा टीकापुर नगरपालिका वडा नं. ३ रामपुरमा एक व्यक्ति घाइते भएका थिए।

जङ्गली जनावर आफ्नो वासस्थानमा मात्रै सीमित छैनन्। उनीहरू मान्छेको बस्तीमा समेत प्रवेश गर्न थालेका छन्। एकले अर्कोको बस्तीमा प्रवेश गर्न थालेपछि दुवै पक्षबीच द्वन्द्व सुरु भएको छ।

२०८० जेठको महिनामा टीकापुर नगरपालिका वडा नं. २ विजयनगरको बस्ती नजिकै डमरुसहितको पाटेबाघ देखा पर्‍यो। २०७९ असार महिनामा विश्वमै दुर्लभ मानिने पाटेबाघ टीकापुर नगरपालिका वडा नं. २ स्थित जनशक्ति सामुदायिक वनभित्र मृत अवस्थामा फेला परेको थियो।

यी त केही प्रतिनिधि घटनाहरू मात्र हुन्। बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको टीकापुर क्षेत्रमा बर्सेनि जङ्गली जनावरको आक्रमण बढ्दै गएको छ। निकुञ्जबाट कर्णाली नदी तर्दै सजिलै हात्ती, बाघ, चितुवा जस्ता जङ्गली जनावरहरू बस्तीमै पसेर आक्रमण गर्न थालेका हुन्।

निकुञ्जलाई कर्णाली नदीले छुट्टाएको छ। नदीको कैलाली किनारतर्फ रहेका दर्जन बढी सामुदायिक वनमा निकुञ्जबाट आउने जङ्गली जनावरहरू बस्तीमा पस्ने गरेका छन्।

कर्णाली जैविक मार्गमा पर्ने कर्णाली नदीमा सत्ती कर्णाली, भगरैया, साइपुर, भैरवनाथ, खोटेना भुराखानी, रानी कर्णाली, शीतल, जनशक्ति, कैलाशेश्वर, जगतपुर, शिवशक्ति, कालिका, छतिवन, ऐश्वर्य र महिला लगायत सामुदायिक वनहरू छन्। यी वनहरूमा बाघ, हात्ती, चितुवा जस्ता जनावरहरू नभए पनि निकुञ्जबाट आउने जनावरहरू बस्ती क्षेत्रमा प्रवेश गरेर दुःख दिने गरेको शिलत सामुदायिक वनका अध्यक्ष सिद्धराज ठकुल्लाले बताए।

उनले निकुञ्जसँगै जोडिएको टीकापुर क्षेत्रमा हुने वन्यजन्तुको प्रभावबारे निकुञ्जले ध्यान दिनुपर्ने बताए। ‘निकुञ्जबाट आएर जनावरले क्षति गर्ने, त्यसको न्यूनीकरणका लागि निकुञ्ज जिम्मेवार नहुनुले समस्या निम्त्याएको छ’, उनले भने ‘स्थानीय सरकार, निकुञ्ज र सामुदायिक वनको सहकार्य आवश्यक छ।’

बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०२२ मा गरिएको बाघ गणना अनुसार १ सय २५ बाघहरू छन्। देशभर ३ सय ५५ बाघ छन्। विभिन्न अध्ययन अनुसार निकुञ्जमा १ सय २० देखि ५० सम्म जङ्गली हात्तीहरु रहेका छन्।