लकडाउनमा शुक्लाफाँटाः चोरी तस्करीको अखाडा
2020/07/29, 8:24
 
suklaphata

राजेन्द्र भट्ट- विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाईरस (कोभिड–१९) को प्रभावमा नेपालमा चैत दोस्रो सातादेखि लकडाउन लगाईयो । यसक्रममा देशभरका सबैजसो गतिविधिहरु ठप्प रहे । तर, यही मौका छोपेर कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने तस्करहरु झन सल्बलाए । लकडाउनकै समयमा शुक्लाफाँटा अवैध क्रियाकलापको अखाडा बन्यो ।

यस अवधीमा निकुञ्जसंग जोडिएको मध्यवर्ती क्षेत्रबाट अनाधिकृत रुपमा प्रवेश गरी अवान्छित क्रियाकलाप गर्नेको संख्या ह्वात्तै बढ्यो । जसका राष्ट्रिय निकुञ्जको तथ्याङ्कले पनि पुष्टि गर्छ । घाँस दाउरा, काठ तस्करी, वन्यजन्तुको चोरी सिकारी लगायत अनाधिकृत गतिविधि तीव्र रुपमा भएको यस अवधिको तथ्याङ्ककले देखाएको छ । निकुञ्जमा घाँस दाउरा, काठ चोरी लगायतका गतिविधिमा अघिल्लो वर्ष दुई हजार सात सय ४५ जना पक्राउ परेका थिए ।

यसपाली चार महिनाको लकडाउनका बेला मात्रै तीन हजार सात सय जना पक्राउ परे । यो अघिल्लो तथ्याङ्ककको तुलनामा नौ सय ५५ बढी हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले अघिल्लो आर्थिक बर्षको चैतदेखि असारसम्मको तुलनामा यस पटक अवान्छित गतिविधि बढी भएको बताए । उनले भने, ‘तथ्याकंगत रुपमा तुलना गर्दा निकुञ्जभित्र अनाधिकृत क्रियाकलाप बढेको देखिन्छ ।’

लकडाउनमा कामका सिलसिलामा घर बाहिर भएका पनि फर्किएको र तीनै व्यक्तीहरु बढी चोरी तस्करीमा लागेको उनले बताए । ‘दैनिक आफ्नो कामकाजमा व्यस्त हुने पनि घरमैं बसेको अवस्था हो,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले भने, ‘बेरोजगारीको अवस्था पनि सृजना भयो । खाली घरमा बस्नु भन्दा उनिहरुलाई यस्ता गलत क्रियाकलाप गर्न उस्कायो ।’

निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्याल लकडाउनलाई मध्यनजर गरी चोरी सिकारी लगायतका गलत क्रियाकलाप रोकथाम गर्न गस्ती परिचालन गरिएको बताए । उनी भन्छन्, ‘नियमित भन्दा थप गस्ती परिचालन गरिएको हो । जसको उदाहरण यस अवधिमा पक्राउ परेकाहरुको संख्याले देखाउँछ ।’ निकुञ्जका कर्मचारीसंगै सुरक्षर्थ तैनाथ नेपाली सेनाको देवि दल गणले यस दौरान रोकथाम गर्न नियमित गस्ती गरेको थियो । लकडाउनमा यतिको संख्यामा पक्राउ परे भने लुकिछिपि त्यस्ता क्रियाकलाप गर्ने पनि पक्कै हुनेमा दुई मत छैन् ।

तसर्थ लकडाउनमा निकुञ्ज अखाडा नै बनेको स्पष्ट हुन्छ । लकडाउनको असर निकुञ्जको पर्यटकबाट हुने राजश्व संकलनमा पनि प¥यो । अघिल्लो बर्ष चार महिनाको अवधिमा चार हजार ८० जना भित्रिएका थिए । यसपाली सोही अवधिमा लकडाउनले गर्दा एक जना पनि निकुञ्ज प्रवेश गरेन । ‘पर्यटक नभित्रिनु लकडाउनले गर्दा स्वभाविक हो । तर, यसले निकुञ्जमा हुने आम्दानीमा ठुलो असर पु¥याएको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले भने । गत बर्ष यस अवधिमा पर्यटकबाट रोयल्टी बाफत तीन लाख ४१ हजार चार महिनाको अवधिमा संकलन भएको थियो ।

यस अवधिमा पर्यटन व्यवसायीले पनि ठुलो नोक्सानी व्यहोर्नु परेको उनीहरु बताउँछन् । होम स्टे पनि सुनसान रहे । शुक्लाफाँटालाई लक्षित गरी खुलेको रानाथारु होम–स्टेमा त्यसको नराम्रो असर परेको सचिव चेतराम राना बताउँछन् । ‘केहिको आयआर्जनको माध्यम थियो । तर, लकडाउनले त्यसमा हानी गर्यो,’ सचिव रानाले भने ।

वि.सं. २०२६ सालमा शिकार आरक्षका रुपमा संरक्षण गरिएको यो निकुञ्जको एक सय ५५ वर्ग किलोमिटर क्षेत्रफललाई वि.सं. २०३२ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष घोषणा गरिएको थियो । त्यसको चार बर्षपछि वि.सं २०३६ सालमा आरक्षको पूर्वतर्फ एकसय ५० वर्ग किलोमिटर क्षेत्रफल विस्तार गरि यसको कुल क्षेत्रफल तीन सय पाँच वर्ग किलोमिटर पु¥याईएको हो ।

पूर्वमा स्याली नदी, पश्चिममा महाकाली नदी, उत्तरमा चुरे पहाडसंगै डडेल्धुरा जिल्लासंग जोडिएको शुक्लाफाँटा दक्षिणमा सीमावर्ती देश भारतको दुधुवा राष्ट्रिय निकुञ्जसम्म फैलिएको छ । यसको हेडक्वाटर सदरमुकाम महेन्द्रनगरदेखि पाँच किलोमिटर पश्चिम दक्षिण मझगाँउमा रहेको छ । क्षेत्रफलका आधारमा थोरै क्षेत्रफलमा धेरै पाटे बाघ । विश्वकै दुर्लभ बाह्रसिंगाको ठुलो झुण्ड । स्थानान्तरणपछि फष्टाउँदै एक सिंङ्गे गैंडा र अति संकटापन्न कृष्णसार । मौषमी हात्तीको लस्कर यसको प्रमुख पहिचान हो । निकुञ्ज भित्र बेलाबखत हुने अनाधिकृत क्रियाकलापले यहाँ बासस्थान गरी बसेका वन्यजन्तुलाई असर पर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालको भनाई छ । तर वन्यजन्तु र स्थानियबीचको संघर्ष चलिआएको छ ।

सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अथाह जैविक विविधताले भरिपूर्ण छ । यसमा दुई मत छैन् । यसका वाबजुद शुक्लाफाँटा सामू संरक्षण, सम्बद्र्धन र व्यवस्थापनका चुनौती छन् । बढ्दो जनसंख्याको चाप, बसाईसराई, गरीबि, जनचेतनाको कमि, बेरोजगारी, राजनीतिक अस्थितरता लगायतका कारणले संरक्षित क्षेत्र र जैविक विविधतामा प्रत्यक्ष असर पर्ने गरेको छ । शुक्लाफाँटाका सवालमा पनि यी कुरा लागू हुन्छन । वि.सं. २०३६ सालमा यसको विस्तारसंगै सुरु भएको आरक्ष विस्थापितको समस्या शुक्लाफाँटाको प्रमुख समस्या रहेको छ । तीन दशक बढी बितिसक्दासम्म विस्थापित समस्या समाधान नहुँदा यसले आरक्ष संरक्षण र सम्वद्र्धनमा समस्या उत्पन्न गरेको छ ।

त्यस्तै भूमिहिन, सुकुम्बासी, मुक्त कमैया, बाढी पीडित लगायतका नाममा बेला बखत शुक्लाफाँटाले अतिक्रमण र क्षती व्यहोर्नु परेको छ । मानिसको निकुञ्जप्रति बढ्दो निर्भरताले नै जैविक विविधतामा असर पारेको छ । चोरी शिकारी र अवैध काठ ओसारपसारसंगै अनाधिकार चरिचरनले शुक्लाफाँटाको जैविक विविधतामा असर पुर्याएको छ । (फ्रिडम फोरमको सहकार्यतमा तयार पारिएको सामाग्री)