
कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान डीडीसीमा जेठ ८ गते तालाबन्दी गरिएको थियो । दैनिक करिब ६ हजार किसानको दूध सङ्कलन गर्ने डीडीसीको प्रशासन कार्यालयमा ६ दिन देखि तालाबन्दी हुँदा पनि खोल्ने विषयमा भने बेवास्ता गरिएको छ । तालाबन्दी खोल्न न अहिले सम्म डीडीसी कार्यालय प्रशासनले चासो दिएको छ, न आन्दोलनरत पक्ष टसमस भएका छन् ।

२०६७ सालमा अत्तरियामा स्थापना भएको डीडीसी धनगढी सार्ने सम्झौता भएको कुरा बाहिरिएपछि जेठ ८ गते स्थानीयले कार्यालय घेराउ गरेर तालाबन्दी गरेका थिए । उनीहरूले डीडीसीका लागि आवश्यक जग्गा अत्तरियामै उपलब्ध गराउनु पर्ने भन्दै धनगढी सार्न नहुने माग राख्दै आएका छन् ।
पहिलो पटक डीडीसी सार्ने कुरा बाहिरिएपछि पुस १७ गते डीडीसी विस्तारका लागि आवश्यक जग्गा अत्तरियामै खोज्ने भन्दै गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको संयोजकत्वमा जग्गा खोज्ने कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले ३ ठाउँमा जग्गा खोजी गरेर प्रक्रिया अगाडि बढाएको बताए पनि डीडीसी सार्ने काम नरोकिएको भन्दै स्थानीयले जेठ ८ गते एक घण्टा डीडीसीका कार्यालय प्रमुख निरञ्जन भट्टराईलाई कार्यकक्षमै थुनेका थिए भने त्यसपछि कार्यालयमा तालाबन्दी गरिएको थियो ।

डीडीसी अत्तरियाका कार्यालय प्रमुख निरञ्जन भट्टराइले तालाबन्दी पछि प्रशासनिक काम ठप्प भएको बताए । उनले ताला खुलाउने विषयमा कुनै छलफल नभएको बताए ।