
तीन दिनमा ६९ जना खप्तड पुगेका छन् । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीयस्थल खप्तड घुम्न ‘हेली टुर’ सुरू भएपछि ६९ जना पर्यटक खप्तड पुगेका हुन् । खप्तड प्रवेशद्वार झिग्रानामा रहेको ‘खप्तड होमस्टे’ को समन्वयमा बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खप्तडमै पुगेर ‘हेली टुर’ को उद्धघाटन गरेका थिए । खप्तड होमस्टेका सञ्चालक दीपक बहादुर खड्काका अनुसार पहिलो दिन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसहित आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलगायत ३५ जना खप्तड पुगेका थिए ।

दोस्रो दिन १४ जना र आज तेस्रो दिन २० जना पर्यटकलाई हेलिकोप्टरमार्फत खप्तड घुमाईएको खड्काले बताए ।
हिउँदे याममा खप्तडको दृश्य कैद गर्न इच्छुकका लागि ‘हेली टुर’ प्याकेज सुरू गरिएको थियो । ‘हेली टुर’ अझै दुई दिनसम्म सञ्चलन हुनेछ भने पर्यटकको संख्या बढे लम्व्याईने छ । धनगढी, दिपायल, झिग्राना, बझाङ र अछामबाट खप्तड घुम्नका लागि छुट्टाछुट्टै प्याकेज ल्याईएको छ । खड्काले बडिमालिका घुम्नेहरुका लागि पनि ‘हेली टुर’ सञ्चालन गरिएको बताए ।
