वर्षाले धानबाली नष्ट गरेपछि भोकमरीको चिन्तामा किसान
2021/10/25, 10:47
 
dd

कैलारी गाउँपालिका–२, बसौटीका किसान खुसीराम चौधरी यस वर्ष वर्षायाममा नियमित पानी पर्दा धानबाली सप्रिएपछि उत्पादन बढ्ने आशामा खुशी थिए । अधिया लिएको पौने दुई विघा जग्गामा लगाएको धान दसैँअघि काटे । बाँधेर राखेको धान दसैँ मनाएपछि थे्रसिङ्ग गर्ने तयारीमा थिए । तर, गत आइतबारबाट भएको अविरल वर्षाले काटेर खेतमा राखेको धान डुवानमा परेको छ ।

धान बेचेरै नूनतेललगायत खर्च जोहो गर्ने उनी पुरै धान नष्ट भएपछि नौ जनाको परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । ‘धान बेचेरै गुजारा चल्थ्यो । यसपालि सबै वर्वाद भयो ।’ चौधरीले दुखेसो पोखे, ‘साँझ–बिहानको छाक टार्नै समस्या हुने भयो ।’ परिवार पाल्नेसँगै अर्को चिन्ता पनि छ–धानबाली लगाउँदा लिएको ऋण तिर्ने । धानको बीउ र मल किन्न उनले गाउँको प्रगति कृषक समूहबाट २० हजार रुपैयाँ ऋण लिएका थिए ।

चार दिनदेखि पानीमा डुबेको धान उम्रिन थालेको छ । धानमा जरा टुसाएर सेताम्य छ । राख्नका लागि ओभानो ठाउँ नहुँदा डुबेको धान पनि उठाउन नसकेका चौधरीले धान भित्र्याउने आशा मारिसकेका छन् । खेत अलि होचो ठाउँमा भएकाले सबै खेतमा पानी सुकेको छैन ।

बसौटीकै फुलपाती चौधरीले दुई विघामा लगाएको धानबाली भित्र्याउन सकेका छैनन् । अविरल वर्षाले डुवान भएको खेतमा पानी अझै सुकेको छैन । काटेर सुकाउन राखेको धान डुवानमा पर्दा खेतमै उम्रिन थालेको छ । पानी सुक्यो भनेर हेर्न उनी बारम्बार खेतमा पुग्छन् । उम्रिन लागेको धान हेर्छन्, पानी नसुक्दा संकलन गर्न नपाएपछि अमिलो बनाएर फर्कन्छन् । 

‘अलिअलि पानी सुकेको ठाउँको धान संकलन गरेँ । खेतमा अझै धेरै ठाउँमा पानी छ ।’ चौधरीले सुनाए, ‘चार/पाँच दिनसम्म डुवान हुँदा धान उम्रिएर काम नलाग्ने भएको छ ।’ अधिकांश धान उम्रिएको उनले बताए । बसौटी गाउँमा मात्र ६० विघामा काटेको धान डुबेको स्थानीय कृषकले बताएका छन् ।

काटेर खेतमै राखेको धान नष्ट भएपछि धनगढी उपमहानगरपालिका–१५, कनरीका गंगाराम चौधरी पनि परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । उनले दसैंकै बीच धान काटेर सुकाउन राखेका थिए । मंगलबार उठ्दा भने उनको खेतमा धान थिएन, नदी बगिरहेको थियो । खेतमा पसेको खुटिया नदीले उनी उठ्दासम्म धान बगाइसकेको थियो । बचेको केही धान जोगाउन उनले पानीमा हाम फाले ।

‘अलिकति जोगाएँ, बाँकी सबै नदीले बगायो । म उठ्दा धानको कुन्यू त डुङ्ग झै पानीमा तैरिरहेको थियो ।’ उनले भने । दुई बिघामा धानमध्ये केही धान उनले खेतमै कुन्यू बनाएर राखेका थिए । धान बगाएपछि ६ जनाको परिवार भोकभोकै बस्नु पर्ने अवस्था रहेको दुखेसो उनले सुनाए । ‘घरमा अन्न छैन, भित्र्याउने तयारीमा रहेको धान नदीले बगायो ।’ उनको चिन्ता थियो, ‘अब छाक कसरी टार्ने होला ?’ उनी आफ्ना पीडा सुनाइरहँदा रुनमात्र सकिरहेका थिएनन्, आँखामा भने आँशु थियो । 

कनरीकै जागुराम चौधरीको पनि एक बिघामा लगाएको धान नदीले बगाएको छ । उनको अवस्था पनि गंगारामको भन्दा फरक छैन । असमयमा भएको अविरल वर्षा र खेतमा उर्लिएको खुटिया नदी उनले नचिताएको कुरा थियो । ‘खेतमा सुकाउन राखेको थिएँ, दसैँपछि भित्र्याउला भन्ने सोँच थियो । दसैँ नभएको भए भित्र्याइसकेको हुन्थेँ ।’ उनी भन्छन्, ‘धानजति खुटिया नदीले बगायो, अब खाली पेटमात्र छ ।’

भित्र्याउन ठीक्क पारेको धानबाली वर्षाले नष्ट गरेपछि अधिकांश किसान यस्तै पीडामा छन् । भोकमरीको चिन्ताले आशु बगाइरहेका किसान सरकारको राहतको पर्खाइमा छन् । एकातिर परिवार पाल्ने चिन्ता छ भने अर्कोतिर गहुँ बाली कसरी लगाउने भन्ने चिन्ता रहेको उनीहरुको भनाइ छ । 

अधिकांश किसानले धान बेचेरै हिउँदे बालीका लागि गहुँको बीउ र मलखाद किन्ने खर्चको जोहो गर्छन् । तर धानबाली नष्ट भएपछि आर्थिक समस्याले गहुँ लगाउन पनि समस्या हुने उनीहरुको दुखेसो छ । अर्का किसान हर्क बोहराले गहुँबाली लगाउन पनि नसकिने अवस्था रहेको बताए ।

‘धान बेचेरै बीउ र मल किन्ने गरेको थिएँ । भोकमरीको त्रास त छदै छ, गहुँ कसरी लगाउने चिन्ता पनि छ ।’ उनी भन्छन्, ‘सरकारले किसानलाई राहत देओस् ।’ राहतसँगै गहुँको बीउ र मल दिन पनि किसानले सरकारसँग माग गरेका छन् ।