हिउँदे बाली लगाउने समयमा मलको गोदाम रित्तै, रासायनिक मल पाउन सधैँ झमेला
2021/10/31, 6:19
 
news

कैलालीको कैलारी गाउँपालिका–८ उदासीपुरका किसान प्रदेशु चौधरीलाई धान भित्र्याउनेबित्तिकै रासायनिक मलको चिन्ताले पिरोल्छ । ‘धान काट्नेबित्तिकै तोरी लगाउनुपर्दछ,’ उनले भने । ‘मलको झमेला धेरै हुन्छ । सित्तिमित्ति मल नै नपाइने हुँदा नजिककैका सहकारी संस्थामा रातभर लाइनमा बस्नुपर्दछ ।’ 

रातभर लाइनमा बस्दा पनि मागअनुसारको मल नपाइने गरेको उनले गुनासो गरे । ‘यस वर्ष धान त बेमौसमी वर्षाले सखाप पार्यो,’ उनले भने । ‘हिउँदे बाली लगाउने जोहो गर्न खोज्दा मल भेटिँदैन । भारत बाट मल ल्यायो भने पुलिसले समात्छ । सरकारले अनुदानमा दिने मल कहिले पाइने हो ठेगान ने हुँदैन ।’ 

उनले तीन बिघामा तोरी खेती गर्ने तयारी गरेका छन् । तीन बिघा क्षेत्रफलमा तोरी खेती गर्नलाई कम्तीमा पनि एक क्विन्टल मल आवश्यक पर्छ तर, एक किलो पनि नपाएको उनले उल्लेख गरे । ‘युरिया मल केही मात्रामा पाए पनि डिएपी मल एक किलो पनि पाएको छैन ।’ गत वर्ष हालेको मलकै अनुपातमा अहिले हालेन भने तोरी नै राम्रोसँग नहुर्किने गरेको उनले बताए ।

जिल्लाको गौरीगंगा नगरपालिका–१० बडैपुरका किसान जुठे राना मलका लागि दैनिक सहकारी कार्यालय धाउँछन् । तर, मल कहिलेसम्म आउने हो टुंगो नहुँदा समस्यामा छन् । ‘आलु, तोरी लगाउने समय आइसक्यो मल कहिले पाइने हो ठेगान छैन,’ उनले भने । ‘समय गइसकेपछि पाएको मलको केही काम हुँदैन ।’ सहकारी संस्थामा सोध्दा कहिले मल आउने हो ? भन्ने प्रश्नको समेत उत्तर नै नदिने गरेको उनले बताए ।

यस्तै, धनगढी उप–महानगरपालिका–१८ फूलबारीकी किसान देउकुमारी चौधरी ले सहजै मल कहिले पनि नपाएको गुनासो गर्छिन् । ‘अन्य सामग्री पाए जस्तै गरी रासायनिक मल पाउनु सपना मात्र हो’, उनले भनिन् । ‘जतिसुकै गरे पनि एक क्विन्टल मल पाउनका लागि एक रातभर लाईन बस्नुपर्छ ।’ यस वर्ष पनि विगत वर्षका जस्तै मलका लागि कति रात खुला आकाशमा बस्नुपर्ने चिन्तामा छिन् । ‘उत्पादन बढाउन मल चाहिन्छ, तर समयमा अहिलेसम्म मल पाउन सकेको छैन,’ उनले गुनासो गर्दै भने, ‘भारतबाट आयात गरिएको मल निकै महँगो हुन्छ । त्यो पनि पाइँदैन ।’ 

जिल्लाको कैलारी गाउँपालिका–८ उदासीपुरमा रहेको रोसनी सहकारी संस्थाका व्यवस्थाक रेखा चौधरी आइतबार धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा पुगिन् । ‘कम्तीमा ७ सय क्विन्टल युरिया र ३ सय क्विन्टल डिएपी मल आवश्यक हो,’ उनले भनिन् । ‘आज हाकिम साबले युरिया ४० क्विन्टल दिएर पठाउनु भएको छ । डिएपी मल आएको छैन भन्नुभयो । अब कसरी वितरण गर्ने हो,’ उनको सहकारी संस्थाका २ सय ६५ जना त सेयर सदस्य नै रहेका छन् ।

असारपछि सुदूरपश्चिममा रासायनिक मल डिएपी आएकै छैन । मल पाउने आसमा किसान दैनिक कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढी धाउने गरेको कायममुकायम प्रबन्धक नवलसिंह बोगटीले बताए । ‘तोरी र गहुँका लागि आवश्यक पर्ने मल छैन, युरिया केही मात्रामा आए पनि डिएपी एक बोरा पनि आएको छैन । ‘तत्काल आवश्यक पर्ने मलको सूची बनाएर केन्द्रमा लेखिपठाएका छौँ । छिट्टै प्राप्त हुने अपेक्षा हाम्रो छ ।’

सुदूरपश्चिम प्रदेशमा ३ लाख ६९ हजार ७ सय ९६ हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । खेतीयोग्य जमिनका लागि २५ हजार मेट्रिकटन डिएपी, १५ हजार मेट्रिकटन युरिया र १ हजार मेट्रिकटन पोटास आवश्यक पर्छ । तर, संघीय सरकारले भने मागको ५० प्रतिशत मल मात्रै उपलब्ध गराउँदा यहाँका आधाभन्दा बढी किसान मलविना गर्ने गरेका छन् । प्रदेशमा वार्षिक ११ हजार २ सय ३४ मेट्रिकटन युरिया, डिएपी ५ हजार ८ सय १८ मेट्रिकटन र पोटास २ सय ५७ मेट्रिक टन मात्रै कोटा निर्धारण गरेको छ । यो संख्या यहाँको मागको आधा मात्र भएको जनाएको छ ।

संघीय सरकारले वर्षमा दुईपटक खाद्य बालिका लागि भन्दै सुदूरपश्चिममा रासायनिक मल पठाउने गरेको छ । धान खेतीका लागि असार महिनामा पठाएको मल सकिएपछि तोरी र गहुँ खेतीका लागि भने अहिलेसम्म डिएपी मल आउनै सकेको छैन । १ सय मेट्रिक टन युरियाबाहेक डिएपीको मौज्दात शून्य छ । भएको युरिया पनि आइतबार नै बिक्री वितरण गरी सकेको प्रबन्धक नवलसिंह बोगटीले बताए ।

तोरी, मसुरो, गहुँजस्ता हिउँदे बाली छर्ने समयमा किसानले मल नपाउँदा यसको असर उत्पादनमा समेत पर्ने गरेको सुदूरपश्चिम कृषि निर्देशनालयले जनाएको छ । ‘समयमा नै मल नपाउँदा कृषि उत्पदानमा असर पर्ने गरेको छ,’ सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने, ‘कृषि उत्पादनको वृद्धिका लागि किसानलाई समयमा मलखाद र बीउ उपलब्ध गराउनुपर्दछ ।’