गहुँ बालीका लागि किसानले पाएनन् मल
2021/11/03, 9:55
 
Mal

कैलालीका किसानले गहुँबालीमा छर्नका लागि मल पाएका छैनन् । गहुँ छर्ने तयारीमा रहेका किसान  यतिबेला मलको जोहो गर्न जुटेका छन् । तर कैलालीमा मलको मौजदात नहुँदा किसानले मल पाउन सकेका छैनन् ।

किसान अहिले आलु लगाउने तथा मसुरो र तोरी छर्नमा व्यस्त छन् । मल नपाउँदा कतिपय किसानले किसानले आलु, मसुरो र तोरी मलविनै छरेका छन् ।भजनी नगरपालिकाको लालबोझीका किसान सन्तराम चौधरीले गहुँ बालीमा छर्नका लागि रासायनिक पाएका छैनन् । मल लिनका लागि उनी गाउँको जागरण कृषि सहकारीमा पटक–पटक पुग्छन् तर सहकारीले मल छैन भनेर फर्काइ दिन्छ । अहिले आलु र तोरी छर्दा मल नपाएका चौधरीलाई यस वर्ष पनि गहुँ छर्ने बेला मल नपाइएला भन्ने चिन्ता छ ।

वर्षाले गलेको खेत सुकिसकेको छैन । तर केही दिनपछि गहुँ छर्ने बेला समस्या नहोस् भनेर अहिल्यै मलको जोहो गर्न खोजेको उनले बताए । ‘अहिलेनै मलको जोहो गरिराखे भोलिपर्सि गहुँ छर्ने वेला सजिलो हुन्थ्यो । तर सहकारीमा मल आएकै छैन ।’ चौधरीले भने, ‘पोहोरसाल पनि गहुँ छर्ने वेला मल नपाएर समस्या भएको थियो ।’

गौरीगंगा नगरपालिकास्थित बेरोजगार कृषक सहकारी संस्थामा मलका लागि दैनिकजसो कृषकको भीड लाग्ने गरेको छ । सहकारीका पदाधिकारी मल लिन धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय धाइरहेका छन् । यो सहकारीले कृषि सामग्रीबाट आइतबार ४० क्वीन्टल युरिया पाएको छ । तर थोरै मल पाएकाले वितरण गर्दा उल्टै समस्या हुने सहकारीका पदाधिकारी बताउँछन् ।

‘एउटै किसानलाई ५–७ क्वीन्टलसम्म मल चाहिन्छ । ४० क्वीन्टल लगेर कसलाई दिने, कसलाई नदिने ।’ बेरोजगार कृषि सहकारीका उपाध्यक्ष सिद्धराज सापकोटाले भने, ‘बाँड्दा लुछाचुडीले उल्टै झगडा पर्ला भन्ने डर ।’ कृषि सामग्रीले थप मल तिहारपछि आइपुग्ने भनेर फर्काएको सापकोटाले बताए ।

विगत वर्षमा यतिबेला कृषकलाई खेत जोत्न र गहुँबाली लगाउन भ्याइनभ्याइ हुन्थ्यो । कार्तिक पहिलो साता भएको भारी वर्षाले यसपालि भने खेत नसुक्दा गहुँ छर्न केही ढिलो हुने देखिएको छ । खेत सुकेपछि गहुँ छर्ने पर्खाइमा रहेका किसान मलको खोजीमा जुटेका छन् तर कैलालीमा रासायनिक मलको चरम अभाव छ ।

अहिले मसुसो, तोरी र आलु लगाउन पनि मल नपाएको किसानको गुनासो छ । गत सिजनमा रोपाइका वेला सहकारीमा घण्टौँसम्म लाइन लागेर आवश्यकताअनुसार मल नपाएका किसान यसपालि पनि त्यस्तै समस्या भोग्नुपर्ला भन्ने चिन्तामा छन् ।

कृषि सामग्रीमा मलको मौजदान न्यून छ । कार्यालयले यो सिजनका लागि पाँच हजार टन युरिया माग गरेको छ तर अहिलेसम्म एक सय १५ टनमात्र आइपुगेको छ । त्यसमध्ये कार्यालयमा अहिले ७० टनमात्र मौजदात छ । यस्तै हिउँदे सिजनको बालीका लागि डीएपी 

मल अहिलेसम्म कत्ति पनि नआएको कृषि सामग्री कम्पनी लिमिटेको कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए । हिउँदे बालीका लागि यहाँ आवश्यक पर्ने छ हजार टन डीएपी मल केन्द्रसँग माग गरिएको उनले बताए ।

‘युरिया केही आउन थालेको छ । डीएपी यो महिनाको अन्तिमतिर आउने जानकारी केन्द्रबाट आएको छ ।’ बोगटीले भने, ‘हाम्रो गोदाममा मल मौजदातनै छैन ।’ केही मात्रामा रहेको युरिया दुई दिनमै वितरण गरेर सकिने उनले बताए ।

कैलालीमा करिब तीन सय सहकारीमार्फत् सरकारी अनुदानको मल किसानलाई बिक्री हुँदै आएको छ । अन्न उत्पादनको भण्डारको रुपमा रहेको यो जिल्लामा ३५ हजार हेक्टरमा गहुँ तथा २२ हजार हेक्टरमा मसुरो र तोरी खेती हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।