सुदूरपश्चिममा डेढ लाख सवारी साधन दर्ता, ६ हजार किमी सडक निर्माण
2020/12/02, 11:08
 
busprk

सुदूरपश्चिम प्रदेशभित्र पछिल्लो समय सवारी साधनको चाप बढ्दै गएको छ । प्रदेशका ९ ओटै जिल्लाभित्र सडक निर्माणले तीव्रता पाएपछि सवारीसाधनको संख्या पनि बढेको हो । महाकाली यातायात कार्यालय महेन्द्रनगर र सेती यातायात कार्यालय धनगढीको पछिल्लो तथ्यांक अनुसार प्रदेशभित्र डेढ लाख सवारी साधन दर्ता भएका छन् ।

यसैगरी प्रदेशभित्र अहिलेसम्म पक्की र कच्ची गरी कुल ६ हजार २७६ किलोमिटर सडक निर्माण गरिएको छ । मुलुकको कुल सडक सञ्जालमध्ये सुदूरपश्चिमको हिस्सा ७ दशमलव ९ प्रतिशत मात्र रहेको छ । ४२६ किलोमिटर महाकाली कोरिडोर, ३५९ किलोमिटर सेती लोकमार्ग, ९५ किलोमिटर धनगढी खुटिया दिपायल फास्टट्र्याक निर्माणले मात्र पूर्णता पाए प्रदेशको सडक विकासमा ठूलो योगदान पुग्ने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले बताए । ‘एक जिल्लालाई अर्को जिल्लासम्म जोड्ने गरी प्रदेश सरकार आफैले प्रदेश गौरवका सडक निर्माण गर्दै छ ।’ उनले भने ।

हाल प्रदेशभित्र २ हजार नौ सय ५ किलोमिटर पक्की र ३ हजार तीन सय ७१ किलोमिटर कच्ची सडक मात्र निर्माण भएका छन् । प्रदेशका व्यवस्थित र स्तरीय सडक निकै कम रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया (कैलाली) का प्रमुख वामदेव गौतमले बताए । साँघुरा र पहाडी जिल्लामा जथाभावी खनिएका सडकले दुर्घटनाको जोखिम बढाएको उनको भनाइ छ । प्रदेशभित्र सवारी दुर्घटनामा वर्षेनी करीब डेढ सय जनाले ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

यस्तै सडकको क्षमताभन्दा भन्दा बढी सवारी साधनको चाप भएकाले ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको प्रदेश ट्राफिक प्रहरी प्रमुख गौतमले बताए । उनका अनुसार प्रदेशभर दुई सय १२ जना मात्र ट्राफिक प्रहरी छन् । सडकको अवस्था र सवारी चाप अनुरूप जनशक्ती थोरै भएकाले ठाउँ ठाउँमा ट्राफिक प्रहरीको तस्वीर अंकित डमी राखेर ट्राफिक नियम पालना गराउने प्रयास गरिरहेको उनले बताए । प्रदेश ट्राफिक प्रहरी प्रमुख गौतमका अनुसार प्रदेशमा ट्राफिक नियम विपरीत सवारीसाधन चलाउने प्रवृत्तिमा अझै सुधार आउन सकेको छैन । वर्षेनी हजारौं सवारी चालक ट्राफिक कारबाहीमा पर्ने गरेको उनको भनाइ छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा ट्राफिक नियम विपरीत सवारी चलाउनेबाट करीब ४ करोड रुपैयाँ राजश्व असुल भएको थियो । यस्तै गत आव २०७६÷७७ को फागुनसम्ममा ३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । कोरोना महामारी नियन्त्रणका लागि चैतदेखि बन्दाबन्दी लगाइएपछि करीब ५ महिना सवारी साधन कम चलेकाले राजश्व संकलनमा कमी आएको प्रदेश ट्राफिक प्रहरी प्रमुख गौतमले बताए । उनका अनुसार कोभिड–१९ को संक्रमण बढ्दै गएकाले अहिले ट्राफिक प्रहरीले मापसे जाँचका लागि ‘ब्रेथलाइजर’ प्रयोग गर्न सकेको छैन ।