
नेकपा ओली समूहका नेता तथा कर्णबहादुर थापा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलप्रति आक्रोशित बनेका छन् । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा थापाले रावलप्रति आक्रोस व्यक्त गरेका हुन् । उनले कार्यकर्तालाई निर्वाचनमा खटिन निर्देशन दिए । सुदूरपश्चिम प्रदेशमा केपी शर्मा ओलीको पक्षमा बहुमत नेता तथा कार्यकर्ता रहेको दावी गर्दै उनले भने, ‘भीम रावल पत्तासाफ हुनेछन् । यो प्रदेशमा हाम्रो पक्षमा अत्यधिक नेता कार्यकर्ता छन् ।’

‘म पनि डाक्टर बन्न लागेको थिएँ, तर भीम रावललाई देखेपछि के गरौं, के गरौं भइरहेको छु’, उनले भने । भीम रावलले गाडी चलाउन जानेको समेत समाचार बन्ने गरेको थापाले टिप्पणी गरे । उनले चुनाव चिह्न प्राविधिक विषय भएकाले सूर्य चिह्नमा नअलमलिन कार्यकर्तालाई आग्रह समेत गरेका छन् । २०६४ को निर्वाचनमा एमाले पराजित हुँदा पनि निर्वाचन चिह्न सूर्य नै रहेको थापाले बताए । ‘माधव नेपाल पार्टी प्रमुख हुँदा निर्वाचन चिह्न सूर्य नै थियो । तर, निर्वाचन चिह्नले मात्रै नजितिने रहेछ’, प्रदेश अध्यक्ष थापाले भने ।
