कोरोना संक्रमणको त्रास नहुँदो हो त यतिबेला खप्तडको रौनक नै बेग्लै हुन्थ्यो । रंगीचंगी भुइँफूलको गलैंचा ओढेका पाटनहरू खर्कले भरिभराउ हुन्थे ।
पाटनभरि घोडा, गाईभैंसी र भेडाबाख्रा चरिरहेका हुन्थे । गाईबस्तुका घाँटीमा झुन्ड्याइएका घन्टी (घाँडा) हरूको आवाजले खप्तडको मनमोहक स्वरूपलाई संगीतमय बनाएको हुन्थ्यो । यही संगीतमा मिसिएर गुन्जिने गोठालागोठालीका ठाडीभाकाहरू खप्तडको माहोल नै उत्सवमय बनाइदिन्थ्यो ।
दुई वर्षयता खप्तडमा गाईभैंसीका घाँडा र गोठालाका गीत सुनिएका छैनन् । कोरोना महामारीका कारण खप्तड राष्ट्रिय निकुञ्जले गाईबस्तु र गोठालाहरूलाई निकुञ्जभित्र प्रवेशमा रोक लगाएका कारण परम्परादेखि चल्दै आएको खर्क संस्कृतिमा अवरोध पुगेको छ । गोठालाहरू खप्तड सर्ने तयारी गरिरहेकै बेला कोरोना संक्रमण फैलिन सक्ने भन्दै निकुञ्ज कार्यालयले चरिचरन रोक लगाउने निर्णय गरेको छ ।
निकुञ्जका सूचना अधिकारी सुनिल बोहराका अनुसार पाटन क्षेत्रमा भीडभाड हुँदा जोखिम बढ्ने भएकोले यो वर्ष खप्तड निकुञ्जमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध गंगा दसहरा मेला पनि सञ्चालन नहुने भएको छ । ‘खप्तडको पहिचानसँग जोडिएको खर्क संस्कृति र गंगा दसहरा मेला रोक्नु पर्दा हामीलाई पनि राम्रो लागेको छैन,’ बोहराले भने, ‘तर पनि महामारीमा सबैले सुरक्षित बस्नुको विकल्प छैन । ज्यान जोगियो भने खर्क अर्को वर्ष बसौंला ।’
बोहराले भने जस्तै, खप्तड र पशुपालनको परम्परागत सम्बन्ध यति गहिरो छ कि यसको चर्चा बिना खप्तडको परिचय पनि अधुरो रहन्छ । महाभारत कालमा गोत्र हत्याको पाप मोचनका लागि महादेवको दर्शन गर्न पाण्डवहरू यहाँ आएको कमानसखण्डलगायत धर्मग्रन्थहरूमा उल्लेख छ । महादेव राँगोको रूपमा भैंसीहरूसँग खप्तडमा वन विहार गरिरहेका बेला पाण्डवहरूले चिन्न नसकेका रोचक प्रसंगहरू विभिन्न ग्रन्थमा उल्लेख भएको पाइन्छ ।
१९ औं शताब्तीमा अन्त्यसम्म पनि भारतको गुजरातका गोठालाहरू भैंसी चराउन खप्तड पुग्ने गरेको किवंदन्तीहरू अहिले पनि प्रचलित छ । गुजरातबाट आएका भैंसी गोठालालाई गुजर भनिन्थ्यो । यसै क्रममा एक जना स्थानीयले गुजाराती गोठालाको भैंसी लुकाइदिएको र त्यस यता उनीहरू यहाँ भैंसी लिएर आउन छोडेको बूढापाकाहरू बताउँछन ।
गुजरातीका भैंसीलाई गुजरी भैंसी भनिन्थ्यो । स्थानीय गोठालाले लुकाएको भैंसी व्याएर विस्तारै बझाङमा यो जातका भैंसीहरू फैलिएको बूढापाकाहरू दाबी गर्छन् । अहिले पनि यहाँ गुजरी जातका भैंसीहरू पाइन्छन् । वर्तमान समयमा पनि खप्तडमै पशुपालन गरेर जिविका चलाउने सयौं पशुपालकहरूका कथा पनि उत्तिकै चाखलाग्दा छन् । खप्तडले बाहिरबाट घुम्न आउनेलाई मात्र हैन । यसको आसपासमा बस्नेहरूलाई पनि मोहनी लगाएको छ ।
खप्तड छान्ना गाउँपालिका–४, सिल्कावाडाका कर्णबहादुर रोकाया उमेरले ७४ वर्ष टेके । नौ वर्षको उमेरमा पहिलो पटक बुवाको साथ लागेर खप्तड टेकेका उनले त्यस पछिका हरेक वर्षका ६ महिना खप्तडमै बिताए । जीवनको उतरार्धमा पनि खप्तड राष्ट्रिय निकुञ्जमा रहेको भैंसी खर्कमा रमाउने उनी दुई वर्षदेखि खप्तड जान नपाउँदा छटपटी भएको सुनाउँछन् । ४ भैंसी, ३ पाडापाडी, १ घोडा र १२ वटा गाईगोरु उनको बुढेसकालको साथी हुन् । ‘म त मान्छेभन्दा पनि यिनीहरूसँगै बढी रमाउँछु,’ रोकाया भन्छन्, ‘खप्तडका पाटनमा गाईभैंसी चराउनु जतिको रमाइलो मलाई केही पनि लाग्दैथ्यो । दुई वर्ष भयो, खप्तड जान नपाएर छटपटी भएको छ ।’
हुन पनि उनी वैशाख महिनामा खर्क जाने कामको तयारी फागुनबाट नै थाल्थे । खर्कमा खाने तमाखु, ओछ्याउने भेडाको छाला, मोही बनाउने मनानीलगायत सामानको जोहो उनी हिउँदमै गरिसक्थे । हिउँदयाममा खप्तड हिउँले सेताम्मे हुन्छ । यहाँ गाईबस्तु पाल्न र मान्छे बस्न गाह्रो हुन्छ । तर लामो समय खप्तड बाबाको सान्निध्य रहेका उनलाई भने हिउँद नआइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । ‘अब त हिउँद सकियो, खप्तड हिडौंला भनेर ठिक्क परेको थिएँ, फेरि कोरोना आइदियो,’ दिक्क मान्दै उनले भने ।
उनी मात्र होइन, बझाङको थलारा र खप्तड छान्ना गाउँपालिकाकाबाट करिब दुई सय परिवार गोठाला वैशाखदेखि असोजसम्म खप्तडमा बस्ने गरेका थिए । बाजुराको खप्तड छेडेदह गाउँपालिकाबाट मात्र तीन सयको हाराहारीमा गोठालाहरू आफ्ना बस्तुभाउ सहित यहाँ बसाइँ सर्थे ।