
नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले संविधान कार्यान्वयन र जनमुखी कानुन निर्माणमा सांसदहरूको भूमिका कमजोर देखिएको बताएका छन्। नेपाल प्रेस युनियन, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले सांसदहरूलाई थप जिम्मेवार र जवाफदेही बन्न आग्रह गरेका छन्।

यसका साथै उनले सत्ता सञ्चालन र पार्टीको आन्तरिक व्यवस्थापनमा शीर्ष नेतृत्वले अपनाएको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। वर्तमान सत्ता गठबन्धनद्वारा बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्र र पार्टीभित्र गरिने पदाधिकारी बैठकमाथि प्रश्न उठाएका हुन्। ‘संविधानले नचिनेको संयन्त्रले सरकारलाई निर्देशित गर्ने र विधानले नचिनेको पदाधिकारी बैठकले समग्र पार्टीलाई चलाउन खोज्ने प्रवृत्ति हाबी भएको छ,’ उनले भने, ‘यस्तो अभ्यासले देशमा विधिको शासन र पार्टीमा आन्तरिक लोकतन्त्र दुवैलाई ठाडो चुनौती दिएको छ। यो गलत छ र यसलाई रोक्नुपर्छ ।’
महरले विगत १० महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेको प्रसंग उठाउँदै पार्टीको सर्वोच्च निकाय केन्द्रीय समितिलाई निष्क्रिय बनाएर केही सीमित शिर्ष पदाधिकारीको तजबिजमा पार्टी चलाउन खोजिएको बताए। केन्द्रीय सदस्य महरले आगमी महाधिवेशनमा आफू महामन्त्रीको उम्मेदवार भएर निर्वाचित हुने दाबी गरे। ‘मैले ०७९ सालमै महामन्त्री लड्ने घोषणा गरिसकेको छु,’ उनले भने, ‘त्यसपछि ७४ जिल्ला पुगिसकेको छु। सबैले महामन्त्रीमा लड्न सुझाउनुभएको छ। मेरो ध्यान पनि त्यसतर्फ नै केन्द्रित छ।’

नेताको चरित्र र आचरणको प्रतिबिम्ब देशको शासन प्रणालीमा देखिने भन्दै उनले सुशासनका लागि नेताहरू स्वयं नैतिकवान हुनुपर्ने र पार्टी आदर्शवादी हुनु पर्नेमा जोड दिए। दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई आवश्यक नीति, कानुन निर्माण गरेर यथाशक्य छिटो संचालन गर्नुपर्ने महरको भनाइ थियो।
कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरले नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र हब बनाउने महत्वाकांक्षी योजना अघि सरे। ‘हाम्रा विद्यार्थी मात्र विदेश जाने होइन, अब हामीले विदेशी विद्यार्थीलाई नेपालमा छात्रवृत्ति दिएर अध्ययनका लागि आकर्षित गर्ने नीति लिनुपर्छ,’ उनले आफ्नो भिजन स्पष्ट पार्दै भने, ‘यहाँबाट ज्ञान लिएर फर्किने विदेशी विद्यार्थीहरू संसारभर नेपालका लागि अवैतनिक राजदूत बन्नेछन्। यसले हाम्रो जनपक्षीय कूटनीति सफ्ट पावर लाई विश्वव्यापी बनाउन महत्त्वपूर्ण योगदान गर्नेछ।’