
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरूमा दिनहुँ सङ्क्रमण देखिन थालेको हो । नाकामा रहेका हेल्थ डेस्कहरूमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एकरएक जनामा सङ्क्रमण देखिएको हो । सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए । जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । गड्डाचौकी नाका भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका हो । यही नाका भएर भारतका विभिन्न ठाउँका लागि नेपाल–भारतमैत्री बसहरु लागि सञ्चालनमा छन् । परीक्षण कीट नहुँदा यात्रुको स्वास्थ्य परीक्षण गर्न सकिएको छैन ।
त्रिनगर नाकामा कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांश भारतको दिल्लीबाट घर फर्किएका व्यक्ति थिए । यसले सुदूरपश्चिममा कोरोनाको जोखिम उच्च देखाएको स्वास्थ्यकर्मीहरु बताउँछन् । विभागले २०० कीट पठाएसँगै प्रदेशमा अहिले ३७० कीट मात्रै उपलब्ध रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कञ्चनपुरको गड्डाचौकी नाकामा १०० कीट मंगलबार उपलब्ध भएपछि परीक्षण सुरु गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले मङ्गलबारदेखि नाकामा परीक्षण सुरु गरिएको बताए । हामीसँग १०० कीट मात्रै आएको छ यो पर्याप्त होइनु, उनले भने, अहिले नाकामा लक्षण देखिएकाहरूको मात्रै परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ । उनका अनुसार मङ्गलबार गड्डाचौकी नाकामा सात जनाको परीक्षण गरिएको थियो । स्वास्थ्यकर्मीहरूले हेल्थ डेस्कमा भारतबाट फर्किएकाहरूको स्वास्थ्य अवस्था र लक्षणका बारेमा सोधपुछ तथा मलेरिया, डेङ्गीलगायतका अन्य परीक्षण र परामर्श गर्ने गरेका छन् । आउने आप्रवासीहरुलाई कडाइ त गरेका छौँ तर कीटको अभावले परीक्षण गर्न सकिएको छैनु, गड्डाचौकी हेल्थ डेस्क प्रमुख विशाल भट्टले भने, शंकास्पद देखिएकालाई एक हप्ता घर परिवारका सदस्यबाट टाढा बस्न सम्झाइबुझाइ पठाउने गरेका छौँ ।
विगतका वर्षहरूमा समयमा नाकामा कडाइ गर्न नसक्दा सङ्क्रमण फैलिएकाले सरकारले नाकामा कडाइ गर्नुपर्ने स्थानीय बताउँछन् । गड्डाचौकी नाकाबाट आउनेहरूको कोभिड परीक्षण हुन सकेको छैनु, स्थानीय पदम थापाले भने, नाकाबाट फर्किनेहरू स्वाथ्य परीक्षणका लागि हेल्थ डेस्कमा जाँदैनन् सुरक्षाकर्मीले रोकेको देखिदैन । उनले भारतबाट आउने जीप, कार र बसहरु नाकामा नरोकी सिधैँ नेपाल प्रवेश गर्ने गरेको उल्लेख गर्दै प्रशासनले नाकामा रोकेर हेल्थ डेस्कमा जाँच गराउनुपर्ने बताए । कोरोना महामारीपछि सुदूरपश्चिममा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा हेल्थ डेस्क स्थापना गरिएका छन् ।