कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि महाकाली प्रादेशिक अस्पतालमा भर्ना भएकामध्ये १९ प्रतिशतको मृत्यु भएको पाइएको छ । अस्पताल प्रशासनले शनिबार पत्रकार सम्मेलन गरेर उक्त तथ्य सार्वजनिक गरेको हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरिकुमार श्रेष्ठका अनुसार अस्पताल भर्ना भएका ५ सय ३७ जनामध्ये १ सय ४ जनाको उपचारका क्रममा मृत्यु भएको थियो । उनका अनुसार २३ जना संक्रमितको आकस्मिक कक्षमै मृत्यु भएको हो । पहिलो लहरको संक्रमणका बेला महाकाली अस्पतालमा कसैको पनि मृत्यु भएको थिएन ।
चैत १३ देखि असार ८ सम्म महाकाली अस्पतालमा ३ सय ५५ पुरुष र १ सय ८२ महिला गरी ५ सय ३७ जना संक्रमित भर्ना भएका छन् । तीमध्ये ८१ जनाको उपचारका क्रममा मृत्यु भएको हो । ‘२३ जनाको त इमर्जेन्सीमै मृत्यु भयो,’ मेसु डा. श्रेष्ठले भने, ‘त्यति बेलाको अवस्था अहिले सोच्न सकिँदैन, निकै गाह्रो थियो ।’ उनका अनुसार मृत्यु भएकामध्ये ५४ जना संक्रमितअघि कुनै पनि दीर्घरोग नभएका थिए । कञ्चनपुरका हालसम्म कोरोना संक्रमणका कारण १ सय ८६ जनाको मृत्यु भएको छ । जसमध्ये पहिलो लहरमा १६ जनाको मृत्यु भएको थियो । उनीहरूको जिल्लाबाहिर नेपालगन्जलगायत अस्पतालमा मृत्यु भएको हो । जिल्ला सदरमुकाम रहेको भीमदत्त नगरपालिकाका मात्रै १ सय बढीको मृत्यु भएको थियो । सुरुमा निजी क्लिनिकहरूमा धाउने र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गरेका कारण मृत्युदर बढेको अस्पतालका डाक्टरहरू बताउँछन् । सिधै अस्पताल आउने बिरामीहरूसमेत गम्भीर अवस्थामा पुग्ने गरेका कारण वैशाख अन्तिमदेखि जेठ मध्यसम्म अवस्था निकै भयावह बनेको डा. श्रेष्ठ बताउँछन् ।
दोस्रो लहरको संक्रमण सुरु भएपछि महाकाली अस्पतालमा ५० बेडको आइसोलेसन कक्षलाई बढाएर ८० बेड पुर्याइएको थियो । ६ बेडको आईसीयूलाई पनि संक्रमितका लागि प्रयोग गरिएको थियो । १८ बेडको एचडीयू पनि सञ्चालनमा ल्याइएको थियो । ‘हामीले सोच्ने समय नै पाएनौं, जे गर्यौं हतारहतारमै गर्यौं,’ श्रेष्ठले भने, ‘हामीसँग पर्याप्त जनशक्ति पनि थिएन, ५० बेडको आइसोलेसनमा दुई जना नर्सले हेर्नुपर्ने बाध्यता थियो ।’ उनका अनुसार दोस्रो लहरको संक्रमण सुरु हुँदा अस्पतालमा ५० वटा अक्सिजन सिलिन्डर मात्रै थिए । अहिले विभिन्न संघसंस्थाको सहयोगबाट करिब ४ सय सिलिन्डर पुगेका छन् ।
अस्पतालले दोस्रो लहर ओरालो लागेसँगै सम्भावित तेस्रो लहरको तयारी पनि सुरु गरेको छ । अहिलेको एचडीयू कक्षलाई बालबालिकाका लागि आईसीयू कक्ष बनाउने, अक्सिजन प्लान्ट जडान गर्ने र अक्सिजन पाइपलाइन पनि विस्तार गर्ने योजना बनाएको छ । अहिलेको आइसोलेसन कक्षलाई एचडीयू कक्षमा स्तरोन्नति गरिने मेसु श्रेष्ठले बताए । अस्पतालमा अहिले यूएन पिसको सहयोगमा अक्सिजन प्लान्ट निर्माणाधीन छ । उक्त प्लान्टबाट दैनिक १८० सिलिन्डर अक्सिजन उत्पादन हुन सक्ने देखिन्छ । महाकाली अस्पतालको पुरानो प्लान्टबाट दैनिक १२ सिलिन्डर उत्पादन भइरहेको छ । ‘अब हामीलाई पाइपलाइनको आवश्यकता बढेको छ,’ उनले भने, ‘यसका लागि सामाजिक विकास मन्त्रालयमा अनुरोध गरी पत्र पठाएका छौं ।’
अस्पतालमा संक्रमितको चाप बढेका बेला विभिन्न संघसंस्थाले अक्सिजन खरिदका लागि ९० लाख बढी आर्थिक सहयोग गरेका छन् । उक्त रकम अहिले अस्पतालले मौज्दात राखेको छ । सर्वपक्षीय बैठक बोलाएर अस्पतालको पूर्वाधार निर्माण वा पाइपलाइन विस्तारमा खर्च गर्ने सोच बनाइएको मेसु श्रेष्ठले बताए ।
कोरोना संक्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई संघीय सरकार र प्रदेश सरकारले ५०/५० प्रतिशत जोखिम भत्ता दिने घोषणा गरेको छ । तर हालसम्म पनि उक्त भत्ता नपाएको स्वास्थ्यकर्मीहरू बताउँछन् । अस्पतालका स्वास्थ्यकर्मीहरूको कोरोना बिमासमेत नगरिएको उनीहरू बताउँछन् । ‘जोखिम भत्ता दिने त भने तर अहिलेसम्म कसैले पाएका छैनौं,’ अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘नत अस्पतालले हाम्रो बिमा नै गरिदियो ।’