टेलिकमको टावर बनेको दुई वर्षसम्म पनि सञ्चालनमा आएन
2021/07/25, 9:52
 
dd

सहरी क्षेत्रदेखि आर्थिक हिसाबले कम सवल दुर्गम स्थानमा राष्ट्रव्यपी पहुँच भन्न नेपाल टेलिकम पछि पर्दैन। तर, दुर्गम जिल्लाका गाउँमा अझै नेपाल टेलिकमको टावर टिप्न कि रूख चढ्नुपर्छ कि त १/२ घण्टाको यात्रा गरेर डाँडा चढ्नुपर्छ।

यस्तो नियति सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँमा सधैँ भोग्दै आएको समस्या हो। प्रायः दुर्गममा त यस्तो हुन्छ भन्ने लगभग धेरैलाई थाहा छ। तर, सुगम जिल्लामा पनि टेलिकमको टावर नहुँदा नागरिक सञ्चार सेवाबाट टाढा रहेको भन्ने सुन्दा अच्चम लाग्न सक्छ। यस्तो नियति भोगिरहेका छन् कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका स्थानीय।

सुन्दरीफाँटामा नेपाल टेलिकमको टावर बनेको दुई वर्ष पुगेको छ। तर, टेलिकमको टावर बने पनि सञ्चालनमा नआउँदा त्यहाँका स्थानीय सञ्चार सेवाबाट टाढा भएका छन्। टावर बनेको दुई वर्ष भइसक्यो। तर, अहिलेसम्म पनि कृष्णपुरवासीले टावरबाट सेवा पाएका छैनन्।

अर्थात् २१औं शताब्दीमा उनीहरू सञ्चार सेवाबाट वञ्चित छन्। टावरको भौतिक संरचना बनेर तयार हुँदासमेत टावर सञ्चालनमा आउन सकेको छैन।

टेलिकमले हरेक महिना ६ हजार रुपैयाँ जमिनको भाडा तिर्दै आएको छ। टावर बनेर मात्रै के गर्ने, सञ्चालनमा आएको छैन, सुन्दरीफाँटाका गोरे बोहराले भने, ‘बनेको दुई वर्ष भइसक्यो, टावर नहुँदा आफन्तलाई फोन गर्न टाढा जानुपर्छ।’

टावर नहुँदा एनसेलको सिम खरिद गर्नुपरेको गुनासो स्थानीयको छ। टावरको भौतिक संरचना बनेर ठेकेदारले टावर सञ्चालनको लागि टेलिकमको जिम्मा लगाए तीन महिना बितिसकेको छ। तर, अझै टेलिकमले भने टावरलाई सञ्चलनमा ल्याउन सकेको छैन।

स्थानीयले टावरको सञ्चालनबारे सोधपुछ गर्दा कोभिडको १९ को बहाना देखाउँदै आएको नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय अत्तरियाले बताउने गरेको गुनासो छ।

गाउँमा टावर नआउँदा नेपाल टेलिकमको टावर निर्माण गर्न लगाएको र लामो समयसम्म टावर सञ्चालन नआउँदा यसबारे कुरा गर्दा टेलिकमले ठेकेदारलाई दोष लगाएको छ।

तर, ठेकेदार भने टावर सञ्चालनको जिम्मा टेलिकमले नै हेर्ने भन्दै आफ्नो कुनै दोष नरहेको दाबी गर्दै आएको छ। टावर सञ्चालन गर्नुभन्दा टेलिकमले ठेकेदारलाई दोष दिँदै आइरहेको कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहनबहादुर बस्नेत बताउँछन्।

उनले टावर सञ्चालनका लागि सम्बन्धी निकायमा भन्दा समेत वास्ता नगरेको बताए। यता, नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय अत्तरियाका वरिष्ठ इन्जिनियर घनश्याम पाठकले भने अबको एक हप्तामा टावर सञ्चालनमा आउने बताए।

‘कोभिडका कारण कर्मचारीलाई काम गर्न जाऊ पनि भन्नुभएन,’ इन्जिनियर पाठकले भने, ‘मर्मत सम्भारको काम भने जारी थियो, अरू कामका लागि कर्मचारी अभाव देखिएको थियो।’

कोभिडले टावरका लागि आवश्यक पर्ने सामानसमेत आइपुगेको थिएन। उनले भने, ‘अब सामान आइसकेकाले एक हप्तामा त्यहाँका जनताले सेवा पाउँछन्।’