बेपत्ता धेरै, भेटिन्छन् थोरै
2021/07/26, 12:12
 
aa

चार वर्षअघि प्रेमविवाह गरेकी कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ की २१ वर्षीया प्रतीक्षा सार्की साउन २ गतेदेखि सम्पर्कमा छैनन् । महेन्द्रनगरकै नागार्जुन डेरीमा काम गर्ने उनी कहाँ गइन् कसैलाई पनि थाहा छैन ।

प्रतीक्षाका श्रीमान् अनिलले खोजतलासका लागि माइती नेपाल कञ्चनपुरमा निवेदन दिएका छन् । ‘नागार्जुन डेरीवालाले राम्रो ठाउँमा काम दिलाउने भन्दै ललाइफकाई गरिरहेको थियो,’ अनिलले माइती नेपालमा दिएको निवेदनमा उल्लेख छ । उनले साउन २ गतेदेखि हराएकी श्रीमती खोजी दिन माइती नेपाललाई गुहार्दै निवेदन दिएका हुन् ।

भीमदत्त नगरपालिका–६ वनगाउँकी १६ वर्षीया सिमरन नेपाली हराएको पनि ४ महिना पुग्यो । गत वर्ष चैत अन्तिमतिर महेन्द्रनगर बजार क्षेत्रबाट सम्पर्कविहीन भएकी छोरीको खोजतलासका लागि आमा सरस्वतीले माइती नेपालमा निवेदन दिएकी छन् । उनी श्रीमान्सँगै छोरीसहित भारतमा बस्दै आएकी थिइन् ।

श्रीमान्ले मदिरा सेवन गरेर कुटपिट गर्ने भएकाले उनी छोरी लिएर घर फर्केकी हुन् । पछिल्लो पटक श्रीमान्ले नै छोरीलाई बोलाउन थालेपछि असुरक्षित भएको भन्दै खोजी गरिदिन उनले आग्रह गरेकी छन् । माइती नेपालको महेन्द्रनगरस्थित कार्यालयमा डेढ दशकमा यसरी बेपत्ता पारिएका र बेपत्ता भएकाहरूको खोजतलासका लागि अढाई हजार निवेदन परेका छन् । कतिपय घरबाटै र कोही कामको खोजीमा गएको अवस्थामा हराएका छन् । उनीहरू लामो समयदेखि सम्पर्कमा नआएका पनि छन् । माइती नेपालमा खोजतलासका लागि परेका निवेदनमध्ये ३ सय ६७ मात्रै फेला परेका छन् । २ हजार बढी अहिले पनि सम्पर्कविहीन छन् ।

माइती नेपालको तथ्यांकअनुसार सन् २००८ देखि हराएकाहरूको खोजबिनका लागि ठूलो संख्यामा निवेदन पर्न थालेका हुन् । २००८ मा १ सय ५९ निवेदन परेका छन् । त्यसअघिका वर्षमा ५०/६० निवेदन मात्रै आउने गरेका थिए । २०२१ मा हालसम्म ४१ निवेदन परेका छन् । जसमध्ये १२ जना सम्पर्कमा आइसकेका छन् ।

माइती नेपालका अनुसार हराउनेमा अधिकांश १४ देखि ३० वर्षसम्मका महिला र किशोरी छन् । उनीहरू घरेलु हिंसा र जागिरको प्रलोभनका कारण घर छाडेर हिँड्ने गरेको पाइन्छ । ‘कोही घरेलु हिंसाका कारण घर छाडेर हिँड्छन्, कोही ललाइफकाई जागिरको प्रलोभनमा परेर,’ माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘महिला र बालबालिकाहरू निकै बढी जोखिममा छन्, हराउने पनि यही समूहका बढी छन् ।’

कञ्चनपुरकै बेलडाँडी गाउँपालिका–१ की १४ वर्षीया सुजाता कश्यप गत फागुनदेखि सम्पर्कविहीन छिन् । घरबाटै हराएकी उनी अहिलेसम्म सम्पर्कमा आएकी छैनन् । उनका बुबा कन्हैयालालको बुझाइमा छोरीलाई कसैले ललाइफकाई भारततर्फ लगेको हुन सक्छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा ८ सय ६८ महिला तथा बालबालिका हराएका छन् । तीमध्ये ५ सय ६९ फेला परेका छन् भने २ सय ९९ अझै सम्पर्कमा आएका छैनन् । प्रहरीका अनुसार हराउनेमा सबैभन्दा बढी महिला ५ सय ३५, बालिका २ सय १८ र बालक १ सय १५ छन् । ‘हराएको निवेदन आउँछ, तर फेला परेपछि परिवारबाट केही जानकारी आउँदैन,’ जिल्ला प्रहरी कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले भने, ‘निवेदन दिनेहरू पनि त्यसपछि नियमित सम्पर्कमा आउँदैनन् ।’ उनले अधिकांश उमेर नपुगेरै भागी विवाह गर्ने र त्यसपछि परिवारले खोजतलासका लागि निवेदन दिने गरेको पाइन्छ । कतिपय रोजगारीको प्रलोभनमा भारततर्फ पनि गएको हुन सक्ने उनले बताए ।