पुनर्वासका बाढी पिडितको गुनासो: 'घर भित्र बाढी पसेपछि खान बस्न समस्या भयो'
2021/09/01, 4:52
 
aa

कञ्चनपुरको दोदा नदीमा आएका बाढीका कारण डुबानमा परेका पीडितहरूलाई खान बस्न समस्या भइरहेको गुनासो गरेका छन् । गत भदौ ११ गते आएको बाढीले खाद्यान्न बगाएको र घरमा अहिले सम्म हिलो जमेका कारण बस्न सकिने अवस्था नरहेको उनीहरूले बताएका छन् ।

दोदा नदीको तटीय क्षेत्रमा बसोबास गरिरहेका कञ्चनपुरको पुनर्वास नगरपालिका वार्ड नं ५ सिमरीमा मात्र ६० घर डुबानमा परेका थिए । त्यसै गरी पुनर्वासकै वार्ड नं २ इँटा भट्टीलाईमा १८ घर डुबानमा परेका थिए । बाढीका कारण आफूहरूको घर भत्किएकाले बस्न निकै समस्या भएको खोया रानाले बताइन् । राहत भन्दा पनि सरकारले आफूहरूलाई उचाइ भएको क्षेत्रमा आधा कठ्ठा भए पनि घरबासका लागि जमिन उपलब्ध गराउनु पर्ने उनले बताइन् ।

“सुत्ने कोठा देखि लिएर आँगन सम्म हिलै हिलो छ, घर डुबानमा परेको एक साता बिति सक्यो , खोइ अहिले सम्म पुनर्स्थापना हुन सकेको ?,” उनले भनिन् । यो समस्या उनको मात्रै होइन उनी जस्तै करिब ७० परिवारको हो । धानबाली समेत नोक्सान गरेका कारण आफ्नो र परिवारको पेट कसरी पाल्ने भन्ने चिन्तामा रहेका अर्का बाढी पीडित ठग्नी रानाले बताए । “खेतमा भएको धानबाली पनि बाढीले सकापै गरिदियो,” उनले भने “अब आफ्नो र परिवारको पेट कसरी पाल्ने होला।” घरभित्र राखेको अन्नबाली समेत बाढीले बगाएपछि आफूहरू निकै समस्यामा रहेको उनको भनाई छ ।

अविरल वर्षाले कञ्चनपुरको बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकाका १८० घर धुरी डुबानमा परेका थिए । लालझाडी गाउँपालिकामा किसानले पालन गरिरहेका बँगुर र माछा समेत बाढीले बगाएको थियो । नेपाल प्रहरीले राति १२ बजे बाढीको सूचना पाएको र एलर्ट साइरन बजाएकाले मानिस सुरक्षित स्थानमा बसेकाले मानवीय क्षति हुन नपाएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए ।

“हामीले बाढी को सूचना पाए लगत्तै यहाँका तटीय क्षेत्रका बासिन्दालाई पनि खबर गरेका थियौ,” उनले भने, “सूचना पाए लगत्तै उनीहरू सुरक्षित स्थानमा बसेकाले मानवीय क्षति हुन भने पाएन यद्यपि उहाँहरूको अन्नबाली,जनावरहरूमा भने बाढीले  क्षेती गरेको अवस्था छ ।” बाढीले घर डुबान भई फसेका व्यक्तिलाई सशस्त्र प्रहरी र नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी र स्थानीय युवाहरूले तत्काल उद्धार गरेका थिए । यसअघि पनि २०६५ सालमा आएको बाढीले धनजनको ठुलो क्षती भएको थियो । त्यति बेलाका बाढीका कारण बिस्थापति भएकाहरूको १३ वर्ष बितिसक्दा पनि पुनर्स्थापना भने हुन सकेको छैन ।