डोटीको केआइसिंह गाउँपालिका ४ चंगेसेनका प्रताप विकले भारतको पञ्चाबबाट दिपायलसम्मको गाडी भाडा मात्रै ३६ सय ८० रुपैयाँ तिरे । तीन महिनाअघि भारतको पञ्जाब गएका उनी दसैंका लागि घर फर्किएका हुन्। ‘बाटोमा सामान झार्न, चढाउन समस्या हुन्छ भनेर महंगो रकम तिरेको तर केही सजिलो भएन, झन् तीन दिनमा बोर्डरमा पुगियो,' उनले भने,'तीन महिनामा जोगाएर ल्याएको रकम बाटोमै सकिन थाल्यो ।’ भारतको पञ्जाब राज्यबाट रोडवेज गाडीहरुले गौरीफन्टा सीमासम्मको भाडा ८ सय रुपैयाँ भारु लिन्छन् । त्यो भनेको नेपाली १२ सय ८० रुपैयाँ हो । धनगढीबाट दिपायलसम्मको बस भाडा ६५० रुपैयाँ छ । उनीहरुले भारतबाट आफै टिकट काटेमा १९ सय ३० रुपैयाँ खर्च हुन्छ।
डोटीकै केआइसिंह गाउँपालिका १ का गोपाल औजीले बोर्डरसम्म नेपाली ५ हजार नाघेको बताए ।’ भारतको लधीयानाबाट डोटीको केआइसिंह नगरपालिका वडा नम्ब १ डुमराकोट जान लागेको बताउँदै उनले भने,' नेपाली रुपैयाँमा भारतमा टिकट काटेको हो, तर टिकट दिएको छैन । ‘हामीलाई छिटो हुन्छ भनियो, दसैंका बेला भएकाले धनगढीबाट पनि दिपायलका लागि आएकै दिन गाडी पाउँदैन, एकमुस्ट टिकट काट्यो भने धनगढी पुग्ने वित्तिकै दिपायल हिँडने भनियो तर तीन दिन भयो बल्ल गौरीफन्टा नाकामा पुगेका छौं।’
भारतको पञ्जाबबाट बेलुकी हिँडेको बस अर्को दिनको बिहान गौरीफन्टा पुग्छ । तर, आइतबार कैलालीसँग सीमाना जोडिएको लखिमपुरमा किसानको आन्दोलनमा भएको झडपमा ८ जनाको ज्यान गएपछि नेपाल आउने सवारी साधन बाटोमै रोकिएका कारण तीन दिन लागेको हो । तर १२ घण्टाको लामो यात्रामा नेपाली, नेपालीबाटै महंगोमा टिकटबाट लुटिरहेका छन् । डोटीको बोगटानका बलराम क्षेत्रीले आफ्नो दुई झोला सामान बढी भएकाले पञ्जाबबाट दिपालयका लागि भन्दै २५ सय भारु (नेपाली चार हजार) तिरेको बताए ।
‘हामीलाई राति खानाबाहेक अरु केही तिनै पर्दैन भनियो । गौरीफन्टामा पनि भारतीय बसपार्कदेखि नेपालको बसपार्क सम्मको सबै भाडा त्यसैमा जोडिएको बताइयो, तर सीमानामा अहिले आफैले सामान बोक्नु परेको छ,' उनले भने । अझ सीमा नाकामा हुने लुटपाटको त कुनै हिसाबै छैन । गौरीफन्टा नाकामा भारतीय बसबाट झरेपछि नेपालतिर अटो रिक्सा वा नगरबससम्मको दूरी झण्डै दुई सय मिटर छ । आफूले ल्याएको सामान, सक्ने भए आफैले, नसक्ने भए भरिया लगाएर नेपाल पुर्याउनुपर्छ। त्यो २ सय मिटरको दूरीभित्र भारतको कष्टम कार्यालय, भारतीय प्रहरीको चौकी, दुधवा नेसनल पार्कको कार्यालय र एसएसबीको वीट छिचोल्नुपर्छ । त्यो दुई सयमीटरको दूरीमा एकजना नेपालीको कम्तिमा पनि ५ सय रुपैयाँ भारु खर्च हुन्छ ।
भारतको केन्द्र सरकार मातहत रहेको अर्धसैनिक बल एसएसबीबाहेक दुधवा नेसनल पार्क, भारतीय प्रहरी र सबैभन्दा बढी कष्टमका कर्मचारीले हरेक नेपाली मजदुरबाट रकम असुल गर्ने गरेका छन् ।‘यसको कुनै हिसाब हुँदैन, उनीहरु सामानको पोका हेरेर रकम लिन्छन् । सानो पोका र झोलाहरु भने सय/दुई सय, ठूलो पोका छन् भने पाँच सय, सीमा नाकामा कार्यरत एकजना स्वास्थ्यकर्मीले भने,' ‘हामीले टुलुटुलु हेर्नु बाहेकको विकल्प छैन । यो कुरा रोक्ने कुरा सरकारको हो ।’
अछामको जैगढका हरिराम पार्कीले नाकामा मात्रै ६ सय रुपैयाँ खर्च भएको बताए । ‘दुईटा झोलाको भारतीय सुरक्षा एजेन्सीमा ६ सय रुपैयाँ बुझाए, लठ्ठी समातेर बसेका हुन्छन्, रकम दिएन भने बाँधिएको सामान खोल भन्छन्, सामान बोक्ने कि खोल्ने भन्ने हतार हुन्छ, त्यसैले रकम दिनको विकल्प छैन’ पार्कीले भने । दुई सय मिटरभित्रको त्यो लुटपाटपछि पनि भारतबाट फर्किने नेपाली मजदुर माथिको क्रुरता सकिँदैन । नेपालतिर कुरी रहेका अटो चालक र नगर बसमा पनि उनीहरुमा थी लुटपाट हुन्छ । भारतको बसपार्कमा सामान झारेका नेपालीहरुको, वारी ल्याइदिएवाफत मात्रै दुई/तीन सय भारु असुल हुनेगर्छ ।
‘अटो रिक्साले गौरीफन्टाको बसपार्कबाट सामान बोकेर नेपालतिर पुर्याएको र त्यहाँबाट धनगढी बसपार्क पुर्याएको ५ सय भारु लियो, 'कैलालीको घोडाघोडी नगरपालिका ३ का प्रकाश रावलले भने,‘सामान बोक्न सकिदैन, उनीहरु पारि (भारत) बसपार्कमै पुगेका हुँदारहेछन, अनी बाध्य भएर बोकी माग्नु पर्यो ।’ अटो र इ–रिक्सा चालकहरुले मनपरि, यसरी रकम लिन थालेको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले नेपालतिर कुरिरहेका अटो र इरिक्सा चालकलाई भरतको बसपार्कसम्म जान रोकेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल भन्छन, ‘उनीहरुले मनपरी भाडा लिने गरेका कारण केही दिनदेखि उनीहरुलाई भारतको बसपार्कसम्म जान रोकि दिन भारतीय सुरक्षा एजेन्सीलाई आग्रह गरेका छौं।’ त्यसपछि पनि भारतबाट फर्केका नेपालीहरु माथिको लुटपाट रोकिदैन । वारिपट्टी सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि दसैंका बेला चियापानी भन्दै रकम लिने गरेका छन् । एकजना भारतबाट फर्केका यात्रु भन्छन, ‘चियापानी दिनु पर्यो भनेपछि नेपाली ५०/१०० रुपैयाँ दिइयो, भारतकाले त लुटछन् भने हाम्रा दाजुभाइलाई पनि चियापानी खाउन भनेर दिएको नी ।’
सीमा नाकामा नेपाली मजदुरमाथि हुने लुटपाट यो नौलो भने होइन । हरेक दसैं तिहार वा नयाँ वर्षमा स्वदेश फर्किने नेपालीलाई सबैभन्दा बढी भारतको कष्टमका कर्मचारीहरुले दु:ख दिनेगर्छन्। गत वर्षहरुमा उनीहरुले भारतबाट फर्किने नेपालीलाई नाकामै लाइन लगाएर रकम दिने गर्थे भने आजभोली सीमा नाकामा सीसी क्यामेरा जडान भएकाले उनीहरुले क्यामेरा छलेर रकम लिने गरेका छन् ।
नेपाल भन्सारमा कार्यरत एकजना कर्मचारी भन्छन, 'अहिले कष्टमका कर्मचारी अटो चालक, इरिक्सा वा भरियाका रुपमा सामान बोक्नेहरुलाई परिचालन गरेर रकम दिने गरेका छन ।’ कञ्चनपुरको गड्डाचौकी नाकामा भने तांगा चालकहरुले कष्टम, भारतीय प्रहरीसहितका स्थानमा रकम दिन बसपार्क (बनबासा) मै रकम जोडेर लिने गरेका छन् । ‘एक ताँगामा १० जना जति बसाउन सकिन्छ, त्यो पनि सामान ठिक्क भयो भने । एक सवारी (यात्रु)को बनबासादेखि महेन्द्रनगरसम्म सय रुपैयाँ भारु छ । तर बाटोमा उनीहरुको सामान खोजेर घण्टौं लाग्ने भएकाले हामीले सबैलाई दिने रकम जोडेर माग्ने गर्छौं,' एकजना तांगा चालकले बताए ।
उनले, हरेक यात्रुको कम्तीमा पनि तीन सय तिरेर बनबासादेखि गड्डाचौकीसम्म सुरक्षाकर्मीहरुलाई बाँडनमै खर्च हुने बताए । भारतबाट फर्किने नेपालीहरु माथिको लुटपाट नेपालका बसपार्कमा समेत हुने गरेको छ । दसैं र तिहारका बेला टिकट पनि नपाउने बहाना बनाउँदै दलालहरुले बस बुकिङ गरेर महंगो भाडा असुल्ने गरेका छन् ।