नेपालको बजारमा व्यापारीले आफुखुसी भाउँ बढाएपछि दसैँको किनमेल गर्न बजार पसेका धनगढीवासी सिमापारी जान्छन्। चाड शुरु भए लगत्तै व्यापारीहरुले आफैँ भाउँ बढाउँछन्। नेपालको बजारमा भाउँ बढाएपछि उनीहरु सिमा कटेर पारी जान्छन्।
१५ दिन अगाडि भन्दा अहिले उही सामानको मूल्य ४ सय रुपैयाँले बढेको धनगढी हसनपुरकी पुष्पा ढकालले गुनासो गरिन्। ‘१५ दिन अघि खाद्यान्न किनेकी थिए,’ढकालले भनिन्,‘अहिले त्यहीँ खाद्यान्न किन्दा ४ सय रुपैयाँ बढी तिर्नु पर्यो।’
बजारमा सामानको मूल्य बढेकै कारण रित्तो हात घर फर्केको बताउँछिन् शान्ता अधिकारी। उनले अब दसैँको कपडा किन्न सीमापारिको वनगाउँ जाने बताइन। उनले भनिन्,‘सीमापारिको वनगाउँ बजारमा सस्तो पाइन्छ अब त्यहीँबाट दसैँका लागि किनमेल गछौँ।’
मौसमी अनुगमन समेत भएन
प्रदेश राजधानी धनगढीमा चाडपर्व लक्षित बजार अनुगमन नहुँदा व्यापारीले आफूखुसी मूल्य तोक्ने गरेको अत्तरियाकी सपना रोकायाले बताइन। ‘चाडपर्वमा हामी ग्राहक लुटिन्छौँ,’ रोकायले भनिन्,‘वर्षमा एक दुई चोटि बजार अनुगमन गरेको सुन्थे तर यो दसैँको समयमा बजार अनुगमन नहुँदा हामी मारमा छौँ।’
सरकारले भने देशै भर बजार अनुगमन गर्न टोली खटाएको बताएको छ। गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा सात वटै प्रदेशमा अनुगमन टोली खटाएको जनाएको छ। तर, त्यो टोलीले धनगढीका बजारमा अनुगमन गरेको छैन।
स्थानीय तहलाई बजार अनुगमन गर्ने एकल अधिकार भए पनि धनगढी उपमहानगरपालिका पनि बजार अनुगमनमा ननिस्किएको राष्ट्रिय उपभोक्ता संरक्षण मञ्च कैलालीका संयोजक हरि रेग्मीको आरोप छ। रेग्मीले भने,‘बजारमा म्याद गुज्रिएको सामान उल्लेख्य परिमाणमा भए पनि अनुगमन नहुँदा उपभोक्ता समस्यामा छन्,हाम्रो एकल प्रयासले केही हुँदैन।’
उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख योगेन्द्र बहादुर चन्द अनुगमनका लागि अन्य सरोकारवाला निकायले समन्वय नगर्दा स्थानीय तहबाट अनुगमन हुन नसकेको बताउँछन्। ‘अन्य सरोकारवाला निकायले एक÷दुई पटक बजार अनुगमन गरेछन्, हामीलाई खबर नै भएन,’चन्दले भने,‘हामीले बजारमै गएर अनुगमन नगरे पनि नगर प्रहरीले विवाद रहेको ठाउँमा गएर समन्वय गरी रहेका छन्।’
कैलालीका प्रमुख जिल्ला अधिकार खगेन्द्रप्रसाद रिजाल भने चाडपर्व लक्षित अनुगमन भइरहेको दाबी गर्छन्। ‘दसैँ, तिहार र छठ जस्ता महान् चाडमा खपत र माग बढ्ने भएकोले बजारमा विभिन्न सामग्रीहरूको मूल्यवृद्धि हुन्छ,त्यसैले यो बेला उपभोक्ता नठगिउन् भनेर हामीले बजार अनुगमनमा तीव्रता दिएका छौँ,अव चाड पर्वको समयमा मात्रै नभएर आवश्यकता अनुसार दैनिक रूपमा हामी अनुगमनमा जोड दिन्छौँ।’
प्रशासन कार्यालयका अनुसार साउनमा १३, भदौमा २५ र असोज महिनामा हालसम्म १२ वटा पसलमा अनुगमन गरिएको छ। अनुगमनको क्रममा एउटामा १० हजार रुपैयाँ र अर्कोमा २० हजार गरी दुई पसललाई जरिबाना, ४ वटा पसलमा १७ हजार भन्दा बढीको म्याद सकिएको सामाग्री पाइएकोले तत्काल फिर्ता गर्न लगाइएको प्रशासन कार्यालय कैलालीले जनाएको छ।