कैलालीको घोडाघोडी ताल थारु समुदायको आस्थाको धरोहर हो । आफ्नो देवीदेवतासंग जोडेर यो समुदायका मान्छेले घोडाघोडी ताललाई पवित्र मान्छन् । तर, थारु समुदायले पवित्र मान्दै आएको विश्व रामसार क्षेत्रमा सूचीकृत प्रसिद्ध घोडाघोडी ताल दिनप्रतिदिन प्रदूषित हुँदै गएको छ । जसको कारण घोडाघोडीको साख गुम्ने खतरा पनि बढेको छ ।
ताल क्षेत्रमा बढ्दै गएको प्रदूषणका कारण जैविक विविधताको दृष्टिकोणले अति महत्वपूर्ण यो तालले साख गुमाउने खतरा बढेको हो । तोकिएको निश्चित मापदण्ड पूरा गरेको आधारमा सन २००३ मा घोडाघोडी तालसहित घोडाघोडी ताल क्षेत्रलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो ।
तर, हालका दिनमा यो ताल फोहोर र प्रदूषित हुँदै गएको छ । तालको पानीसहित किनारमा यत्रतत्र प्लाष्टिक र सीसाका बोतलहरु जथाभावी फालिएका छन् । सुन्दर घोडाघोडी ताल क्षेत्र ठोस फोहोरमैलाका कारण कुरुप बन्न थालेको छ ।
घोडाघोडी तालमा दिनहुँ घुम्न आउने व्यक्तिहरुले जथाभावी प्लाष्टिकजन्य वस्तु फाल्ने, फोहोर गर्ने जस्ता कारणले घोडाघोडी ताल कुरुप बन्न लागेको हो । नेपालका लागि अत्यन्त महत्वपूर्ण र सुन्दर यो ताल प्रदूषित हुुँदै जानू ठूलो चिन्ताको विषय रहेको प्रकृति संरक्षण क्लब बर्दियाका सचिव एवम् द डेन एड्भेञ्चर्सका प्रबन्ध निर्देशक राजन चौधरीले बताए ।
‘घोडाघोडी एउटा अति महत्वपूर्ण भर्जिन ल्याण्ड हो । यस्तो महत्वपूर्ण क्षेत्र हाम्रो मुलुकमा कहीँपनि छैन’, घोडाघोडी ताल क्षेत्रमा चरा अवलोकनका लागि आएका उनले भने । ‘तर, यसरी प्लाष्टिक र सीसाजन्य फोहोरमैला जथाभावी फालिनु कदापि राम्रो होइन । यस्ता कार्य तुरुन्त रोकिनु पर्दछ ।’
सन १९९७ देखि घोडाघोडी ताल क्षेत्रको अवलोकन गर्दै आएको अनुभव सुनाउँदै चौधरीले भने–‘गतविगतमा मनोरम र सुन्दर घोडाघोडी ताल क्षेत्रमा हाल फोहोर बढ्दै गएको र तालमा पानीपनि कम हुँदै गएको छ ।’
मन्दिर आसपासको घोडाघोडी ताल क्षेत्रमा पूजा गर्ने, पिकनिक खाने व्यक्तिले जथाभावी फोहोर गर्ने गरेका छन् । यसैगरी, घुमफिर गर्ने व्यक्तिले पनि जथाभावी फोहोर गर्ने गरेका जनाइएको छ । मन्दिरभन्दा अलि पर जङ्गल क्षेत्रमा भने सीसाका बोतल जथाभावी फालिएका छन् । ताल क्षेत्रको वनमा गएर मदिरा सेवन गर्ने र जता पायो उतै बोतल फाल्ने कार्य हुँदै आएको छ ।
घोडाघोडी ताल क्षेत्रमा यसरी भइरहेको ठोस फोहोरमैलाले प्रदूषण बढाउने र जैविक विविधतामा असर पु¥याउने संरक्षणमा लागेकाहरुको बुझाइ छ । बर्दिया राष्ट्रिय निकुञ्जमा नेचरगाइडको रुपमा काम गर्दै आउनु भएका आनुराम चौधरीले घोडाघोडी ताल क्षेत्रमा पर्यटक कम आउनुको एउटा कारण प्रदूषण पनि रहेको बताए ।
‘हामीले पनि धेरै सोंचविचार गरेरमात्रै यहाँ पर्यटक ल्याउनु पर्दछ’, उनले भने । ‘किनभने, पर्यटक स्वच्छ, सुन्दर, प्राकृतिक मनोरम दृश्य हेर्न मन पराउँछन् । यस्तो फोहोरमैला हैन ।’ घोडाघोडी ताल थारु समुदायको लागि पवित्र स्थान हो ।
सो समुदायका मान्छेले घोडाघोडीलाई पवित्र मान्दै त्यहाँ हरेक वर्ष ‘लवाङ्गी पूजा’ पनि गर्दै आएका छन् । आफूहरुको आस्थाको केन्द्रको रुपमा रहेको घोडाघोडी ताल प्रदूषित हुुँदै गएकोमा पुजारी अक्षारुदास चौधरीकोपनि चित्त दुखेको छ ।
आठ वर्षदेखि घोडाघोडी ताललाई नियाल्दै आउनु भएका उनले भने घोडाघोडीमा फोहोर गर्नु हुन्न भन्ने सोंचका साथ कमै मान्छे आउने गरेको बताए । ‘हैन, भने जो आयो त्यहिँ पानीको बोतल र खानेकुरा लिएर आउँछन् । खाएर जथाभावी फाल्छन्’, उनले गुनासो गरे । ‘फोहोर नगर्नुस भनेर मैलेमात्रै क–कसलाई भन्ने ?’ बढीजसो केटाकेटीहरु जङ्गलतिर पस्ने र फोहोरमैला जथाभावी फाल्ने गरेको चौधरीको भनाइ छ ।
घोडाघोडी ताल क्षेत्रमा बढ्दै गएको प्रदूषणले ताल क्षेत्रलाई कुरुपमात्रै बनाएको छैन, त्यहाँको जलीय र स्थलीय जीवनमा पनि असर पारिरहेको छ । प्लाष्टिकजन्य फोहोरका कारण चराहरुमा असर पर्न थालेको छ । यसैगरी, जङ्गलमा पाइने चिजबिज खाएर बाँच्ने बाँदर मान्छेले खाने खानेकुरा खानमा पल्किरहेका छन् ।
घोडाघोडी ताल क्षेत्रलाई थप प्रदूषित र बद्नाम हुनबाट जोगाउनका लागि तत्कालाई संरक्षण क्षेत्र घोषणा गर्नु पर्ने संरक्षणकर्मीहरुको जोड छ । घोडाघोडी नेपालको अमूल्य सम्पत्ति रहेको उल्लेख गर्दै प्रकृति संरक्षण क्लब बर्दियाका सचिव चौधरीले यसलाई शीघ्र संरक्षण क्षेत्र घोषणा गरेर जोगाउन आवश्यक रहेको बताए । ‘यो हाम्रो महत्वपूर्ण र अमूल्य सम्पत्ति हो’, उनले भने । ‘यसलाई जोगाउन इमिडिएट संरक्षण क्षेत्र बनाएर जोगाउनु पर्दछ ।’
बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका उपाध्यक्ष दयाराम चौधरीले घोडाघोडी ताल क्षेत्रलाई एक महिनाभित्रै ‘बर्ड सेन्चुरी’ घोषणा गरिने बताए । ‘हामी यसलाई नेपालकै पहिलो चरा सेन्चुरी बनाउन गइरहेका छौं’, उनले भने । घोडाघोडी ताललाई चरा सेन्चुरी बनाइएपछि त्यहाँ जथाभावी प्रवेश गर्न र चरालाई हानी गर्ने खालको गतिविधि गर्नमा रोक लगाइने छ ।