कैलालीको भजनी नगरपालिका–७ हिम्मतपुरका बाढी प्रभावित परिवारले आफ्नो बसोबासको लागि विकल्प देखाउन सरकारलाई आग्रह गरेका छन् ।यस वर्ष मोहना नदीले जग्गा कटान गरेपछि हिम्मतपुर सामुदायिक वन क्षेत्रमा विस्थापित भएका उनीहरुले बसोबासका लागि उचित विकल्प देखाउन आग्रह गरेका हुन ।
‘हाम्रो त जग्गै छैन । नदीले लगि सक्यो । विकल्प नभएपछि बाध्य भएर सामुदायिक वन क्षेत्रको जग्गामा बसेका हौं’, स्थानीय भरथरी डङ्गौराले भने । ‘सरकारले कि हामीलाई बस्नको लागि उपयुक्त ठाउँमा जग्गा देखाइ देओस, कि त यहिँ बस्न देओस ।’ बाढीले डङ्गौराको तीन कट्ठा घरबास कटान गरेर बगाएको थियो ।
गत साउनको बाढीले सो गाउँका केही परिवारको उठीबास गराएको थियो । कात्तिक पहिलो साता आएको बाढीले झनै तहसनहस पारेपछि विस्थापित हुने परिवारको संख्या बढेर १८ पुग्यो । विस्थापित ति सबै परिवार हिम्मतपुर सामुदायिक वनमा झुप्रो बनाएर बस्दै आएका थिए । तर, वन क्षेत्र अतिक्रमण गर्न नपाइने भन्दै दुई साता अगाडिमात्रै सव डिभिजन वन कार्यालय भजनीले डोजर लगाएर उनीहरुको झुप्रो भत्काइ दियो ।
वनले डोजर लगाएर झुप्रो भत्काइ दिएपछि बाढी प्रभावित परिवारको विचल्ली भएको छ । उनीहरु फेरि पनि वन क्षेत्रको छुट्टै ठाउँमा त्रिपाल र टिनको स–साना टहरो बनाएर बसिरहेका छन् । ‘हाम्रो आफ्नै जग्गा भएको भए यसरी दुःख पाउन आउने कसको रहर हुन्थ्यो र ?’, प्रभावित अट्वारी चौधरीले भने । ‘जग्गै नभएर त बाध्य भएर वन क्षेत्रको जग्गामा बस्न आएका हौं । यो रहर, होइन । हाम्रो बाध्यता हो ।’
जग्गाको नाममा रहेको घरबाससहितको आफ्नो चार कट्ठा पुरै जमिन नदीले कटान गरेर बगाएको अट्वारीको भनाइ छ । उनले विस्थापित भएर ज्यान जोगाए पनि बसोबास गर्ने जग्गा नहुँदा कष्टपूर्ण जीवन जिउन बाध्य रहेको उल्लेख गरे ।
‘उताबाट नदीले लखेटेपछि ज्यान जोगाउन वन क्षेत्रको जग्गामा भाग्यौं’, उनले भने । ‘यताबाट वनले धपाइरहेको छ । बनाएको झुप्रो भत्काइ दियो । यस्तो, चिसोको बेलामा हामी कहाँ जाने ? बालबच्चालाई चिसोबाट कसरी जोगाउने ?’
अट्वारीका श्रीमती मङ्गरी एक वर्षदेखि ओछ्यानमा थला परेकी छिन् । पाठेघरको क्यान्सरबाट पीडित उनको उपचारमै सम्पत्ती सकाएका अट्वारीले भएको जमिन पनि नदीले बाँकी नराखेको दुखेसो गरे । ‘वनले घर भत्काउने बेला बिरामी श्रीमतीलाई खटियामा राखेर धेरै रोएँ’, उनले भने । ‘तर, निदर्यीहरुले कुरा सुनेनन् । बल्ल–बल्ल श्रीमतीलाई घरबाट निकाले । भएको काठ सबै डोजर लगाएर कक्कुरुक्क बनाइ दिए ।’
घरमा डोजर लागेपछि टहरोमुनिमा पुसको कठ्याङ्ग्रिदो चिसो रात बिताउन बाध्य भएका बाढी प्रभावितलाई रात कटाउनै समस्या छ । रुखबाट तप्केको शितलाई त्रिपालले रोक्न सक्दैन । शितले पुरै ओछ्याननै भिज्ने गरेको ६५ वर्षीया वृद्ध दुलारी चौधरीले बताइन् । ‘गरिब मान्छे लुगालत्ता छैन । चिसोले रातभरि जीउ थरथर काम्छ’, उनले भनिन् । ‘घाम लागेपछि बल्ल बाँचे जस्तो महसुस हुने गर्छ । नदीले हाम्रो जीवनको खुशी नै लुट्यो ।’
घरबार बिनाको जीवन जीउन धेरै कष्ट भइरहेको बाढी प्रभावितको भनाइ छ । बालबच्चा र बिरामी वृद्धवृद्धालाई चिसोबाट जोगाउन निकै मुस्किल भएको विरमा चौधरीले बताइन् । ‘हामी ठूलो मान्छे त जसोतसो चिसो झेलि हाल्छौं’, उनले भनिन् । ‘तर, बालबालिका र वृद्धवृद्धालाई धेरै गाह«ो भइरहेको छ।’
बाढी प्रभावित ती परिवारहरु चिसो रात काट्न नसकेपछि आगो बालेर ज्यान न्यानो बनाउने गरेका छन् । बालबच्चालाई आगोमा सेकेर राख्ने गरेको भन्दै विरमाले थपिन्–‘उता नदीले लखेट्यो, यताबाट वनले लखेट्दैछ । यस्तो चिसोमा हामी कहाँ जाने ?’ पुसमा पानी पर्दा प्रभावितहरुको झनै विचल्ली भएको छ ।मोहना नदीले कटान गर्दा गएको साउनमै प्रभावितहरु वन क्षेत्रमा विस्थापित भएका थिए । कात्तिकमा आएको बाढीले गाउँको दक्षिणी क्षेत्रको जग्गाजमिन झनै तहसनहस बनाइ दिएको छ । असारसम्म बस्ती रहेको ठाउँमा अहिले मोहना नदी छ ।
कटान नियन्त्रणका लागि तटबन्ध नगरिएमा हिम्मतपुर गाउँ नै विस्थापित हुने भलमन्सा बालकिसन चौधरीले बताए । ‘तटबन्ध नगर्दा समस्या भएको हो’, उनले भने । ‘अब पनि सरकारले कटान नियन्त्रणमा ध्यान दिएन भने अर्को वर्षसम्म सिङ्गै गाउँ विस्थापित हुन सक्छ ।’ उनले नदीले कटान गर्न बाँकी राखेको जमिन पनि बालुवैबालुवा भइसकेको बताए ।
‘कटान नियन्त्रणका लागि हामीले तत्कालीन मन्त्री गौरीशंकर चौधरीलाई फिल्डमै सबै समस्या देखाएर तटबन्ध माग गरेका थियौं’, भलमन्सा चौधरीले भने । ‘तर, हुन्छ भन्नु भएको उहाँले पहलै नगरेपछि आज हामीले यो नियति भोग्नु परेको हो ।’