अन्तर्राष्ट्रिय महत्वको मोहना–लालझाडी जैविक मार्गको अस्तित्व सङ्कटमा परेको छ । विभिन्न क्षेत्रबाट हुँदै गएको अतिक्रमण र वन्यजन्तुको ओहोरदोहोर गर्ने क्षेत्रमा तीव्र रुपमा वस्ती विकासका कारण जैविक मार्ग गम्भीर सङ्कटमा पर्न थालेको हो । दुधुवा नेशनल पार्क र यो कोरीडोरबीचको ‘कनेक्टीभिटी’ अब लगभग सबै क्षेत्रमा टुटेको छ ।
कैलालीको त्रिनगर भन्सारदेखि कञ्चनपुरको पुनर्वास नगरपालिकाकास्थित विभिन्न क्षेत्रमा वस्ती विकास बढ्दो छ । दुधुवा नेशनलपार्क र मोहना–लालझाडी कोरीडोरबीचको सबैभन्दा कम दूरी रहेको यहि क्षेत्रमा बजारसमेत फष्टाउँदै गएका छन् ।संरक्षणकर्मीका अनुसार विगतमा मोहना नदीको किनारैकिनार हुँदै दुधुवा नेशनलपार्क र मोहना–लालझाडी कोरीडोरमा वन्यजन्तुको निर्वाध ओहोरदोहोर हुन्थ्यो । तर, अब पहिलेको जस्तो छैन । अचेल वनबाट निस्केका वन्यजन्तु वस्तीमा पुग्ने गरेका छन् ।
पछिल्लो समय दोदा नदी तटीय क्षेत्रहुँदै लालझाँडी गाउँपालिकातर्फबाटमात्रै वन्यजन्तु ओहोरदोहोरको लागि थोरै ठाउँ खाली रहेको छ । तर, लालझाडी गाउँपालिकामा धेरैजसो मानववस्ती चारकोसे लालझाडी वनतर्फ नै रहेका छन् । सो गाउँपालिकाको वडा नम्बर १ र २ का गाउँहरु राष्ट्रिय वन आपसपासमै छन् ।
दुधुवा नेशनलपार्क र मोहना–लालझाडी कोरीडोरको कनेक्टिभिटी रहेका ‘कोर एरिया’ का वस्ती बेलैमा उपयुक्त स्थानमा व्यवस्थापन गर्न नसक्दा अहिले यस्तो अवस्था आएको संरक्षणकर्मी राजबहादुर ऐरको बुझाइ छ । ‘वन्यजन्तुको ओहोरदोहोरलाई मध्यनजगर गरेर डोके बजारलाई पहिल्यै हटाएर उपयुक्त स्थानमा व्यवस्थापन गर्न आवश्यक थियो’, उनी भन्छन् । ‘तर, त्यसतर्फ ध्यान नगएपछि अहिले चुनौती झनझन बढ्दै गएको छ ।’
तत्कालीन सरकारले २०३४ सालमा भूमिहीनलाई कञ्चनपुरको पुनर्वास, बाइसेबिचुवा क्षेत्रमा ल्याएर बसाएको थियो । पुनर्वास कार्यक्रम अन्तर्गत वस्ती विकास सुरु भएको सो क्षेत्र हाल घना वस्तीमा परिणत भएको छ । वन्यजन्तु ओहोरदोहोरको ‘कोर एरिया’ मानिने यो क्षेत्रमा मानव वस्ती बाक्लिएको छ । तत्कालीन पुनर्वास कार्यक्रम अन्तर्गत बसेका परिवार लालपूर्जासहित जग्गाको मालिक भइसकेका छन् ।
अन्तर्राष्ट्रिय महत्वको जैविकमार्गमा घना वस्ती भएपछि वन्यजन्तुको निर्वाध ओहोरदोहोरमा बाधामात्रै भएको छैन, आसपासका वन क्षेत्रमा पनि गम्भीर असर परिरहेको छ । भूमिहीन, बाढी पीडित लगायतका नाममा वनक्षेत्रमा पस्नेक्रम जारी रहेको छ । मोहना–लालझाडी जैविक मार्ग क्षेत्र संरक्षणकोबारेमा कुरा उठ्ने बित्तिक्कै ठूलै झुइँचालो जाने गरेको स्थानीय दत्तनाथ सुवेदी बताउँछन् । ‘हामी चाहन्छौं, यहाँ वन्यजन्तु र मान्छेलाई कुनै पनि हानी नहोस’, उनले भने ।
मोहना–लालझाडी र दुधुवाबीचको कनेक्टिभिटी क्षेत्रमा घना वस्ती भएपछि मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको छ । जङ्गलबाट वस्तीसम्म आइपुग्ने जङ्गली हात्तीले खेतीपातीमा नोक्सानमात्रै नगरेर मान्छेको ज्यानसमेत लिने गरेका छन् । हात्तीले भौतिक संरचना भत्काउने गरेका छन् ।
कैलालीको नौ हजार र कञ्चनपुरको २९ हजार बढी गरी ३८ हजारभन्दा बढी हेक्टर क्षेत्रफल ओगटेको मोहना–लालझाडी जैविकमार्ग चुरे क्षेत्रसम्म पर्दछ । मोहना नदी किनार आसपास पर्ने कैलालीको पश्चिमी र कञ्चनपुरको पूर्वी–दक्षिणी क्षेत्रलाई मिलाएर सरकारले २०६८ सालमा मोहना–लालझाडी जैविक मार्ग संरक्षित क्षेत्र घोषणा गरेको थियो ।
जैविक मार्ग संरक्षित क्षेत्र घोषणाको एक दशकसम्म आइपुग्दा यो जैविक मार्ग नाममात्रको जस्तै भएको छ । अन्तर्राष्ट्रिय जैविक मार्गसंग कनेक्टिभिटी टुट्दै गएको छ भने, वन आसपासका क्षेत्रमा वस्ती बढ्दै गएको छ । लालझाडी सव डिभिजन वन कार्यालयका प्रमुख करुणाकर जोशीले डेढ वर्षको अवधिमा वन फडानी र चोरी शिकारका १३ वटा मुद्दा दर्ता हुन आएको जानकारी दिए ।
पछिल्लो समय लालझाडी वन अतिक्रमणको चपेटामा परेको स्थानीय अगुवा सिद्धराज जोशीको भनाइ छ । ‘सुकुम्बासी, आरक्षपीडित, मुक्त हलिया, कमैयालाई सरकारले लालझाडीकै वनमा पुनस्र्थापना गर्दा अतिक्रमण बढेको छ’, उनले भने ।