धनगढी- गौरा पर्वको अवसरमा सुदूरपश्चिममा आज (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारको मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले आज बिदा दिने निर्णय गरेको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै गौरा पर्वका अवसरमा बिदा दिइएको जनाएको छ। आज प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा बिदा दिइएको सूचनामा उल्लेख छ। सुदूरपश्चिमको मुख्य पर्व गौरा हिजोबाट विधिवत रुपमा सुरु भएको छ।
भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन हिजो घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् । महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।
सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितको भनाइ छ ।
सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ । सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दशैँभन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ ।
गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको डेउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि डेउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन् । यतिबेला कञ्चनपुरको भीमदत्तनगरलगायत विभिन्न स्थानहमा हरेक दिन देउडा खेल सञ्चालन भइरहेका छन् ।
गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने चलन छ । साथै देउडा र धमारी, ढुस्को, होरी खेलसमेत खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख–सुख बाँड्नुका साथै माया–प्रेम बाँड्ने गरिन्छ ।
यो पर्वलाई एकताका पर्वका रुपमा पनि लिइन्छ । गौरा पर्वका लागि काम विशेषले घरबाहिर गएका व्यक्तिहरु घर फर्किने गर्दछन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरा पर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रशन्न हुने जनविश्वास छ ।