डीपीआर छ, सिँचाइ छैनः जनताले बनाएको बाँध भत्कियो
2023/01/04, 11:45
 
dd

कैलालीका १८ गाउँका किसानले सिँचाइ समस्या भोगिरहेका छन्। कैलारी गाउँपालिका–२, कुकुरभुक्कास्थित कटैनी नदीमा रहेको गुर्गी सिँचाइ आयोजना सञ्चालन नहुँदा सो गाउँपालिकाको वडा नं। १, ५ र ७ को १८ गाउँका किसानले समस्या भोगिरहेका हुन्। उनीहरूले सो आयोजनाबाट सिँचाइ गर्न नपाएको डेढ दशक पुग्न थालेको छ। 

“गुर्गी सिँचाइ आयोजनाको पानी कुलोमा आउँदासम्म सिँचाइ गर्न समस्या थिएन, पानी कहाँ फाल्ने भन्ने थियो,” कैलारी गाउँपालिका–७, भुइयाँफाँटाका कृषक ठग्गुराम चौधरीले विगत स्मरण गर्दै भन्नुभयो, “अहिले सिँचाइ गर्नका लागि पानी कहाँबाट पाउने भन्ने भएको छ।” गुर्गी सिँचाइ आयोजनाको पानी कुलोमा आउन छोडेपछि अकाशे पानी र बोरिङको भरमा खेतीपाती गर्न बाध्य भएको किसान बताउँछन्।

अहिले सामान्य किसानलाई कृषिमा लगानी गर्न ठूलो समस्या भइरहेको उनीहरूको भनाइ छ।  किसानले सबैभन्दा बढी मलखाद र सिँचाइका लागि डिजल खरिदमा खर्च गर्नु परिरहेको सोही गाउँका अर्का कृषक बाँधुराम चौधरीले बताउनुभयो। “सिँचाइमै धेरै डिजल खर्च हुने गर्छ,” उहाँले भन्नुभयो, “डिजल भएन भने हाम्रो त खेतीपाती नै हुँदैन।” 

गुर्गी सिँचाइ आयोजनाको पानी कुलोमा आउँदासम्म एकसाथ धेरैको खेतमा सिँचाइ सुविधा भएको किसानको भनाइ छ। तर, आयोजनाको पानी आउन छोडेपछि खेतीपाती गर्न धेरै समस्या हुन थालेको उनीहरू बताउँछन्। २०६४ सालमा आएको बाढीले बाँध भत्काएपछि यो आयोजनाबाट किसानको खेतसम्म पानी पुग्न सकेको छैन। बन्द आयोजना जीर्ण बन्दै गएको छ। २०५० को दशकसम्म डेढ दर्जन गाउँसम्म सिँचाइ भए पनि बाँध भत्केपछि नहरमा पानी आउन बन्द भएको कैलारी गाउँपालिका–७ का पूर्ववडाध्यक्षसमेत रहनुभएका कृषक कमलप्रसाद चौधरी बताउनुहुन्छ। “गाउँका किसानले सिँचाइ सुविधाका लागि चाररपाँच महिनासम्म नहर निर्माणमा जनश्रमदान गर्ने गरेका थिए,” आफूले पनि जनश्रमदान गरेको स्मरण गर्दै उहाँले थप्नुभयो, “तर, हजारौँ किसानको भविष्यसँग जोडिएको यो आयोजना दीर्घकालीन बन्न सकेन।” 

स्थानीयका अनुसार कुनै बेलाका जमिनदार रामदिन महतो, छिमानन्द र देशराज महतोले सिँचाइका लागि आफ्ना रैतीमार्फत बाँध निर्माण गराएका थिएस जुन बाँध माटो र झारपातले बनेको कच्ची थियो। कच्ची बाँध नटिक्ने भएपछि २०२६ सालमा छटकपुर वसन्ताका तत्कालीन स्थानीय रोइना चौधरीको अध्यक्षतामा गठित उपभोक्ता समितिले ढुङ्गाको बाँध बनाई किसानका खेतसम्म पानी पु¥याएको थियो। 

तत्कालीन द्वन्द्व व्यवस्थापनपछि नेपाल सरकारको लगानीमा आर्थिक वर्ष २०६२÷६३ मा प्रेमशङ्र भट्टको पीएस कन्स्ट्रक्सनले पक्की बाँध बनाएको थियो। तर, डेढ करोडभन्दा बढी रुपियाँ लगानी गरेर बाँध बनाउँदा पनि त्यो दीर्घकालीन हुन सकेन। लगत्तै २०६४ मा आएको बाढीले बाँध भत्कायो। अहिले गुर्गी सिँचाइ आयोजना नाम मात्रको छ। मूल नहर ठाउँठाउँमा मिचिएको छ। 

यो आयोजनालाई पुनः सञ्चालनका लागि पुरानो जीर्ण संरचना सबै भत्काएर फेरि नयाँ संरचना बनाउन आवश्यक रहेको गुर्गी सिँचाइ उपभोक्ता संस्थाका अध्यक्ष भीष्म चौधरीले बताउनुभयो। “त्यसको लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भइसकेको छ,” उहाँले भन्नुभयो, “अब डीपीआरअनुसार नै निर्माण अगाडि बढ्छ।” 

यो आयोजनाबाट वडा नम्बर १ को मझरा, मनाउँ, हसुलिया, बिसनपुर, हरिनगर–५ को पवेरा, छुट्की पलिया, बड्का पलिया, बङ्गालीपुर, जबदहुवामा सिँचाइ सुविधा भएको थियो। यस्तै वडा नम्बर ७ को रतनपुर, मोहनपुर, तिघरी, वसन्तालगायतका गाउँसम्म सिँचाइ हुँदै आएको थियो। गुर्गी सिँचाइ आयोजना बन्द भएपछि किसानले आकाशे पानी र बोरिङको भरमा खेतीपाती गर्दै आएका छन्। 

यो आयोजना निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा छ करोड रुपियाँ बजेट विनियोजन गरेको छ। यस्तै सङ्घ सरकारले ५० करोड रुपियाँ दिने जनाइएको छ। गुर्गी सिँचाइ आयोजनाका लागि चालू आर्थिक वर्षमा ५६ करोड रुपियाँ बजेट रहेको उल्लेख गर्दै अध्यक्ष चौधरीले भन्नुभयो, “बजेट पर्याप्त छ। हामी जसरी पनि यो आयोजना बनाउँछौँ।”  गोरखापत्रबाट