दार्चुलास्थित महाकाली नदीमा नेपाल–भारत जोड्ने १० वटा झोलुङ्गे पुल सञ्चालनमा आएका छन् । नेपाल सरकारको तुइन विस्थापन कार्यक्रमअन्तर्गत पछिल्लो दुई वर्षमा महाकालीमा चारवटा पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो।
तुइन विस्थापन कार्यक्रम सञ्चालन भएपछि २०७३ सालयता लेकम गाउँपालिका–३, लालीस मालिकार्जुन गाउँपालिका–६, बाँकु, व्यास गाउँपालिका–६, बडूगाउँ र तिगरमस व्यास गाउँपालिका–२, मालगाउँ र व्यास–४, मलघट्टेमा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। यसअघि दार्चुला सदरमुकाम खलङ्गास्थित पुलघाट, महाकाली नगरपालिका–९ दत्तु, व्यास गाउँपालिका–१ सीतापुल र मालिकार्जुन गाउँपालिका–७ जोलजीवीमा पुल सञ्चालनमा थियो । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत पिथौरागढको मल्लाछारछुम जोड्ने गरी सुदूरपहाडमै पहिलो पक्की पुल निर्माणको काम भइरहेको छ।
यस्तै व्यास गाउँपालिकाको मालगाउँ र मलघट्टेमा नेपाल–भारत जोड्ने दुईवटा झोलुङ्गे पुल सञ्चालनमा आएको छ। नेपाल सरकारले मलघट्टेमा १२० मिटर लामो र मालघाटमा १४० मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । जिल्ला सुरक्षा समितिको गएसाता बसेको बैठकले सुन्सेरा जोड्ने मलघट्टे पुलमा नेपाल प्रहरी र मालगाउँ जोड्ने पुलमा सशस्त्र प्रहरीलाई तत्काल पुलको सुरक्षा एवं सञ्चालनमा खटाउने निर्णय गरेको थियो । व्यास गाउँपालिका–२, दुम्लिङमा अझै झोलुङ्गे पुल निर्माण भएको छैन। स्थानीयले पटक–पटक झोलुङ्गे पुल राख्न माग गरे पनि सुनुवाइ हुन नसकेको व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले बताए।
दुम्लिङमा पुल थप्न पहल भइरहेको उनको भनाइ छ। महाकालीमा धमाधम पुल बनेसँगै तुइन र ट्युब विस्थापन हुँदै गएको व्यास गाउँपालिकाका स्थानीय दीपक भट्टले जानकारी दिए । व्यास क्षेत्रका अधिकांश मानिस दैनिक उपभोग्य सामाग्री किनमेलका लागि भारतीय बजार जाने गर्छन् । पुलसम्म पुग्न घुमाउरो बाटो प्रयोग गर्नुपर्ने भएकाले स्थानीयले अझै पनि केही स्थानमा जोखिमपूर्ण तुइन प्रयोग गरेर यात्रा गर्ने गरेको बताइन्छ । सीमा नदी क्षेत्रका अधिकांश स्थानमा झोलुङ्गे पुल बनिसकेकाले तुइन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने स्थानीय बुद्धिजीवीको भनाइ छ । महाकाली नदी तर्ने क्रममा दुर्घटनामा परी व्यास गाउँपालिका–२, मालका जयसिंह धामीको डेढ वर्षपहिले मृत्यु भएको थियो । तुइन तर्ने क्रममा भरतीय एसएसबीले तुइन फुस्काइदिएर धामी नदीमा बेपत्ता भएका थिए। सो ठाउँमा समेत झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
तुइन र ट्युब प्रयोग गरी महाकाली नदी तर्ने क्रममा अहिलेसम्म ६६ जनाले ज्यान गुमाइसकेका छन् । व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले ज्यानमारा तुइन विस्थापन गरी झोलुङ्गे पुुलको निर्माणले महाकाली नदीमा हुने जोखिमपूर्ण यात्रा सुरक्षित भएको बताए। व्यासका स्थानीय बासिन्दा बजार आउजाउ गर्न मात्र हैन, बिहेबारी र मेलापातका लागि समेत नेपाल–भारत आउजाउ गर्ने गर्छन् । व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरका अनुसार यसअघि पुल निर्माणको सम्झौता भए पनि ठेकेदारले काममा ढिलाइ गरेका कारण समस्या भएको थियो । पुलले दुवै देशको सम्बन्धमा नयाँ आयाम थपिदिएको स्थानीयको भनाइ छ । पुल सञ्चालनमा आएसँगै बिहेबारी, सामान ढुवानी र आवतजावतमा सहज भएको छ।