माओवादी र उन्मुक्ति अनिर्णित, अन्यौलमा मुख्यमन्त्री शाह
2023/02/23, 12:57
 
ss

छिट्टै विश्वासको मत लग्छुु मुख्यमन्त्रीमा नियुक्त हुँदा माघ २५ गते सञ्चारकर्मीसंग कुराकानी गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले प्रतिक्रिया दिए । तर, नियुक्त भएको दुई हप्ता नाघ्दा पनि विश्वासको मत लिने टुङ्गो छैन । नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको साथ खोजिरहेका शाहले दुबैबाट समर्थन नपाउँदा विश्वासको मत लिने मिति तय गर्न सकेका छैन्न ।
बिज्ञापन

केन्द्रमा राष्ट्रपतिको उम्मेद्वार तय भएपछिमात्रै उनले विश्वासको मत लिने देखिन्छ । मुख्यमन्त्री शाहले यसैको तेस्रो साता अर्थात फागुन १६ देखि २० गतेको बिचमा सभामा विश्वासको मत पेश गर्ने तयारी गरेका छन । नियुक्त भएको ३० दिनभित्र उनले विश्वासको मत लिनुपर्ने छ । तर, उनी फागुन २५ को मितिसम्मको अवधि कुर्ने मनसायमा छैनन् । फागुन २५ गते राष्ट्रपति निर्वाचन भएकाले सबै प्रदेश सभा सदस्य काठमाण्डौ हुन्छन् । त्यसैले फागुन २० भित्रै उनले सभामा विश्वासको मत लिने छन प्रदेश सभा सदस्य प्रकाश बमले भने ।
शाहलाई उन्मुक्ति वा माओवादी केन्द्रले समर्थन गरेमा उनी प्रदेशको मुख्यमन्त्री बन्ने छन् । तर, माओवादी केन्द्रले समर्थन गर्ने वा नगर्नेबारे निर्णय तय गरेको छैन् ।

माओवादी केन्द्रका प्रदेश सभा सदस्य रमेश धामीले समर्थन गर्ने वा नगर्नेबारेमा केन्द्रको निर्णय कुरिरहेको बताए । मुख्यमन्त्रीको विश्वासको मतमा समर्थन गर्ने वा नगर्ने बारे पार्टीको धारणा भोलिसम्म थाहा भईहाल्छ उनी भन्छन् उन्मुक्तिले समर्थन गरे थाहा भएन ।
नागरिक उन्मुक्ति पनि माग र मुद्दा पूरा नभएसम्म सरकारलाई समर्थन नगर्ने अडानमा छ । उन्मुक्तिको साथ नपाउदा नेकपा एमालेबाट मुख्यमन्त्रीमा नियुक्त राजेन्द्र रावल पदमुक्त भएका थिए । तर, शाहले कुनै एक दलको साथ पाउनेमा अझै विश्वस्त छैनन् । केही दिन अघि उनले आफ्नो नेतृत्वको सरकार पाँच वर्ष टिक्ने भनेर सञ्चारकर्मीसंग प्रतिक्रिया दिए । तर, उनले कुनै एक दलको साथ पाउन मुख्यमन्त्रीमा आलोपालो गर्ने सर्त अघि बढाउनुपर्ने एक प्रदेश सभा सदस्यले बताए । नेपाली काँग्रेसले आफ्नो नेतृत्वको सरकार बनाउन पुसमा उन्मुक्तिका संसदिय दलका नेता रामेश्वर चौधरीलाई मुख्यमन्त्री बन्न प्रस्ताव गरेको थियो । अहिले शाह ठुलो दलको हिसाबले मुख्यमन्त्रीमा नियुक्त भएपनि एक दलको समर्थनका लागि दुई वर्षपछि मुख्यमन्त्री छाड्ने सर्त अघि बढाइरहेका छन् ।

प्रदेशमा अहिले शाह अल्पमतमा छन । उनलाई नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ । यस अनुसार उनको पक्षमा २४ जना रहेका छन । विश्वासको मत पाउन उनलाइ २७ जना पक्षमा पुर्याउनुपर्ने छ ।  उनी निर्वाचित कुनै पनि प्रदेश सभा सदस्यले मध्यावधि निर्वाचन नचाहेकाले विश्वासको मत पाउनेमा आशावादी रहेपनि संविधानको धारा १६८ उपधारा ५ का कारण अन्यौलमा छन । सो उपधारा अनुसार उनले विश्वासको मत नपाए कुनै व्यक्तिले बहुमत सांसद पुर्याएर नियुक्त हुन सक्ने व्यवस्था रहेको छ । सोही अनुसार माओवादी केन्द्र पनि आफ्नो नेतृत्वको सरकार बनाउने रणनीतिमा छ ।

शाहले विश्वासको मत नपाए काँग्रेसको साथ लिएर माओवादी केन्द्रका दलका नेता खगराज मुख्यमन्त्री बन्ने दाउमा छन् । भट्ट सबै दलको सहमतिमा मुख्यमन्त्री बन्न अहिले प्रदेशमा माओवादी प्रमुख प्रतिपक्षी दल रहेको दाबी गरिरहेका छन् । ५३ सदस्यीय रहेको प्रदेश सभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका उपसभामुखसहित १०, उन्मुक्तिका सात, एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टी स्वतन्त्र १/१ प्रदेश सभा सदस्य रहेका छन् ।