फोहोरबाट ग्यास र कम्पोष्ट मल बनाउने तयारी
2023/02/24, 12:26
 
ss

कैलालीको धनगढीमा फोहोरमैलाबाट खाना पकाउने एलपी ग्यास र कम्पोष्ट मल बनाउने तयारी गरिएको छ ।धनगढी उपमहानगरपालिका–२ दक्षिण बेहडीमा निर्माण भएको फोहोरमैला व्यवस्थापन केन्द्र ९वास्टे टु इनर्जी प्रोजेक्ट० मार्फत फोहोरमैलाबाट एलपी ग्यास र कम्पोष्ट मल बनाउने तयारी गरिएको हो । त्यसका लागि २० करोड ८४ लाख रुपैयाँ लगानीमा फोहोरमैला व्यवस्थापन केन्द्र ९वास्टे टु इनर्जी प्रोजेक्ट० निर्माण गरिएको छ ।

कुहिने, सड्ने फोहोरमैला व्यवस्थापन गर्ने उद्देश्यले धनगढी फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । त्रिपक्षीय लगानीमा फोहोरमैला व्यवस्थापन केन्द्र बनेको धनगढी उपमहानगरपालिकाका फोहोरमैला व्यवस्थापन तथा सरसफाई शाखा प्रमुख अशोक अवस्थीले बताए ।  

उनका अनुसार धनगढी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराएको छ । केन्द्र निर्माणमा एशियाली विकास बैङ्क वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ४० प्रतिशत र निजी क्षेत्र देव तालिम केन्द्रका सञ्चालक रविनकान्त पन्तको ६० प्रतिशत लगानी रहेको छ ।

निजी क्षेत्रका पन्तले २० वर्षसम्म फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन गरेर त्यसपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने अवस्थीले बताए । ‘२० वर्षपछि उहाँ  रविनकान्त पन्तले सञ्चालनमा रहेको अवस्थामा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ’, उनले भने ।

फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा एडीबी वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले आठ करोड ३३ लाख ६० हजार रुपैयाँ अनुदान लगानी गरेको छ । यस्तै, निजी सञ्चालकको १२ करोड ५० लाख ४० हजार रुपैयाँ लगानी रहेको छ । त्रिपक्षीय लगानीको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भइ फोहोर प्रशोधनको तयारीमा रहेको प्रमुख अवस्थीले बताए । ‘ सञ्चालकले आउँदो वैशाखबाट फोहोरमैला व्यवस्थापन गर्छौं भन्नु भएको छ’, उनले भने ।

यो फोहोरमैला व्यवस्थापन केन्द्रमा नगरपालिकाजन्य, कृषिजन्य, औद्योगिकजन्य र वनजन्य फोहोरमैला व्यवस्थापन गर्न सकिने जनाइएको छ । तर, सेफ्टी ट्याङ्की र अस्पतालबाट निस्कने फोहोर यसमा व्यवस्थापन गर्न मिल्दैन । यसैगरी, अम्लीयपन भएको कुहिने फोहोरमैला पनि व्यवस्थापन गर्न मिल्दैन ।

यो फोहोरमैला व्यवस्थापन केन्द्रमा दैनिक ३० टन फोहोरमैला प्रशोधन गर्न सकिने सञ्चालक रविनकान्त पन्तले बताए । यो परिमाणमा फोहोरमैला प्रशोधन गरिएमा दैनिक एक सय सिलिण्डर खाना पकाउने एलपी ग्यास उत्पादन हुनेछ । यसैगरी, ३।५ टन कम्पोष्ट र १।५ टन झोल मल उत्पादन हुनेछ ।

फोहोरमैला व्यवस्थापन केन्द्रलाई चाहिनेमध्ये करिब दुई टन फोहोरमैला नगरपालिकाले दिने जनाइएको छ । प्लाष्टिकमुक्त अभियान थालेको धनगढी उपमहानगरपालिकाले यसैका लागि घरभित्र र बाहिरको फोहोरमैला बजार क्षेत्र र टोल–टोलमा सङ्कलन गर्ने अभियान थालिसकेको छ । फोहोरमैला व्यवस्थापन केन्द्रलाई दैनिक पाँच टन गोबर पनि चाहिने जनाइएको छ । यसैगरी, तीन टन कुखुराको मल विवेक पोल्ट्री फर्मले दिने पन्तले बताए ।  

उनका अनुसार एक वर्षसम्म फोहोरमैला व्यवस्थापन केन्द्रको परीक्षणकाल रहनेछ । ‘यसलाई सञ्चालन गर्नुभन्दा पहिले डाइजेस्टर पुरै गोबरले भर्नुपर्छ’, उनले भने,‘अहिले गोबर भर्ने कार्य लगभग सकिएको छ । अब परीक्षण उत्पादन सुरु हुन्छ ।’ सुरुमा गोबरमात्रै प्रशोधन नगरेसम्म यसमा फोहोरमैला प्रशोधन गर्न नपाइने जनाइएको छ ।

यो फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनले कुहिने र गन्हाउने फोहोर ‘मोहर’ मा परिणत हुने सञ्चालक पन्तले बताए । ‘यसका साथै, नगर क्षेत्रपनि स्वच्छ, दुर्गन्धरहित हुनुकासाथै सफा देखिनेछ’, उनले भने ।

धनगढी उपमहानगर क्षेत्रभित्रको कुहिने फोहोरमैलालेमात्रै फोहोरमैला व्यवस्थापन केन्द्रको प्रशोधन प्लान्ट नभरिएमा अन्य क्षेत्रबाट पनि फोहोरमैला किन्न सकिने धनगढी उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । ‘यसलाई धेरै फोहोरमैला चाहिन्छ । त्यसै प¥यो भने जिल्लाको अन्यक्षेत्रबाट पनि फोहोरमैला किनेर ल्याउनु पर्ने हुन्छ’, प्रमुख अवस्थीले भने ।   

यसैगरी, धनगढी उपमहानगरपालिकाले नकुहिने फोहोरमैला व्यवस्थापनका लागि वडा नम्बर ३ मा ‘माइक्रो सेग्रीगेसन सेन्टर’ सञ्चालन गर्ने तयारी गरेको छ । सङ्कलन भएका नकुहिने फोहोरमैलामध्ये प्लाष्टिक, सीसा, बोतल छुट्टयाउने र पुनः प्रयोगका लागि बिक्री गरिने अवस्थीले बताए । उनले भने,‘त्यसबाहेक १०र१५ प्रतिशत कुनै काम नलाग्ने फोहोर निस्किन्छ । त्यसलाई त्यहिँ डम्पिङ्ग गर्छौं ।’ एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण नभएसम्म नकुहिने फोहोर सेग्रीगेसन सेन्टरमा व्यवस्थापन गरिने जनाइएको छ । धनगढी उपमहानगरपालिकाले एडीबीको सहयोगमा एकीकृत फोहोरमैला व्यवस्थापनका लागि वडा नम्बर ७ को पटेलामा ठाउँ छनोट गरेको छ ।