कैलालीको चुरे क्षेत्रमा व्यापक वन फँडानी
2023/02/25, 11:04
 
ss

कैलालीको मोहन्याल गाउँपालिकामा पर्ने चुरे क्षेत्रमा व्यापक वन फँडानी भइरहेको छ। मोहन्याल गाउँपालिका वडा नं। ७ को राजकाँडाको चुरे क्षेत्रमा पर्ने वनमा व्यापक फँडानी भइरहेको हो।  राजकाँडा क्षेत्र बाइसेचौबिसे राज्य मध्येको धुलिकोट राज्यको मुकाम हो। राजकाँडामा वि।सं। १५९३ देखि झण्डै ४ शय ५० वर्ष धुलिकोटे राजाले शासन गरेको इतिहास छ। राजकाँडामा ऐतिहासिक धुलिकोट दरबार, टुँडिखेल, कोतखाना, खजाने ओडार, श्री मालिका मन्दिर, रानीको नुहाउने कुवालगायतका अवशेषहरू रहेका छन्। 

कैलाली जिल्लाको तराईसँग जोडिएको राजकाँडा क्षेत्र चुरेमा पर्छ। त्यहाँबाट अपी, सैपाल हिमाल, काञ्जीरवा हिमाल, ओमपर्वतदेखिका हिमशृंखला हेर्न सकिन्छ। अझ त्यो क्षेत्रबाट सूर्योदय अझ राम्रो देखिन्छ। सूर्योदयको सुन्दर दृश्य हेर्न र ऐतिहासिक दरबार रहेको क्षेत्र राजकाँडामा केबलकार निर्माण हुने चर्चा चलेसँगै चुरे वन क्षेत्रमा व्यापक वन फँडानी भइरहेको हो। 

व्यवसायी चन्द्र ढकाल नेतृत्वको जालपादेवी केबलकार प्रालिले राजकाँडामा केबलकार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गरिरहँदा सो क्षेत्रमा व्यापक वन फँडानी भइरहेको स्थानीयहरू बताउँछन्।   ‘पहिले त्यस्तो थिएन, दुई वर्षभन्दा बढी भयो, यहाँ केबलकार आउने चर्चा भएसँगै व्यापक वन फँडानी भइरहेको छ’ एक स्थानीयले भने । ‘ऐतिहासिक दरबार क्षेत्रकै पुराना सालका रूखहरूसमेत काटिएका छन्।’

उनले दुई वर्षमा सयौंको संख्यामा रूखहरू फँडानी भएको बताए। ‘राजनीतिक र  व्यापारिक आडमा फँडानी भइरहेको छ’ उनले भने।  ‘प्रहरी प्रशासन, वन प्रशासन, स्थानीय सरकार सबै मौन छन्।’   विकासका दृष्टिकोणले कैलालीको विकट स्थानका रूपमा रहेको मोहन्याल गाउँपालिकामा रहेको पुरातात्त्िवक महत्त्वको सम्पदा ऐतिहासिक राजकाँडा धुलिकोट राज्यको मुकामको जमिन र वन क्षेत्रको जग्गा अतिक्रमण गर्न वन फँडानी भइरहेको राजकाँडा पुगेका वेदप्रकाश तिमिल्सेनाले बताए। 

‘मोहन्याल गाउँपालिकाले ऐलानी जग्गाको निस्सा वितरण गरिरहेको छ, यही मौका छोपेर दरबार क्षेत्रको जग्गामा वन फँडानी गर्नेहरू सक्रिय छन्’ तिमिल्सेनाले भने। ‘वन फँडानीले चुरे वन क्षेत्रको नास हुनुका साथै ऐतिहासिक दरबार क्षेत्रको पुरातात्त्विक सम्पत्तिसमेत जोखिममा परेको छ।’ उनले उक्त दरबार क्षेत्रको जंगलबारे कसैले चासो नलिएको बताए। 

यता, मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कलम साउँदले वन अतिक्रमण भइरहेको विषयमा कुनै जानकारी नआएको बताए । ‘राजकाँडामा थोरै घरहरू रहेका छन्, हामीलाई अहिलेसम्म वन अतिक्रमण भइरहेको बारेमा कुनै जानकारी आएको थिएन’ उपाध्यक्ष साउँदले भने। ‘ऐतिहासिक महत्त्व बोकेको दरबार क्षेत्रको वन अतिक्रमण भइरहेको हो भने हामीले गम्भीर रूपमा हेर्नेर्छौं, यसमा गाउँपालिकाले चासो लिन्छ ।’

उपाध्यक्ष साउँदले पर्यटकीय एवं ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको राजकाँडा र चुरे वन क्षेत्रको वन फँडानी रोक्न पहल गर्ने बताए। यता, सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक कृष्ण भट्टले पनि वन फँडानी भइरहेको विषयमा जानकारी नभएको प्रतिक्रिया दिए।

‘हामीलाई अहिलेसम्म कुनै जानकारी आएको थिएन’ निर्देशक भट्टले भने।  ‘पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण रहेको चुरे क्षेत्रकै वन फँडानी हुने विषयलाई हामीले गम्भीर रूपमा लिएका छौं, यसमा हाम्रो मातहतको कार्यालयलाई त्यहाँको अवस्थाबारे बुझ्न र आवश्यक कारबाही गर्न निर्देशन दिन्छौं।’

ऐतिहासिक महत्त्व रहेको चुरे वन क्षेत्रमा पर्ने राजकाँडामा वन फँडानी रोक्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयहरू बताउँछन्। सो क्षेत्रमा वन फँडानी भइरहँदा पुरातात्त्विक महत्त्वको धुलिकोट दरबार क्षेत्रका भग्नावशेषसमेत जोखिम पर्ने देखिन्छ।