कैलालीको राजकाँडा क्षेत्रमा व्यापक वन फडानी
2023/02/25, 1:06
 
rajkada

कैलालीको मोहन्याल गाउँपालिकामा पर्ने चुरे क्षेत्रमा व्यापक वन फँडानी भइरहेको छ । मोहन्याल गाउँपालिका वडा नं. ७ को राजकाँडाको चुरे क्षेत्रमा पर्ने वनमा व्यापक फँडानी भइरहेको हो । सूर्योदयको सुन्दर दृश्य हेर्न र ऐतिहासिक दरबार रहेको क्षेत्र राजकाँडामा केबलकार निर्माण हुने चर्चा चलेसँगै चुरे वन क्षेत्रमा व्यापक वन फँडानी भइरहेको छ । व्यवसायी चन्द्र ढकाल नेतृत्वको जालपादेवी केबलकार प्रालिले राजकाँडामा केबलकार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गरिरहँदा सो क्षेत्रमा व्यापक वन फँडानी भइरहेको स्थानीयहरू बताउँछन् । 


‘पहिले त्यस्तो थिएन, दुई वर्षभन्दा बढी भयो, यहाँ केबलकार आउने चर्चा भएसँगै व्यापक वन फँडानी भइरहेको छ’ एक स्थानीयले भने । ‘ऐतिहासिक दरबार क्षेत्रकै पुराना सालका रूखहरूसमेत काटिएका छन् ।’उनले दुई वर्षमा सयौंको संख्यामा रूखहरू फँडानी भएको बताए । ‘राजनीतिक र  व्यापारिक आडमा फँडानी भइरहेको छ’ उनले भने । ‘प्रहरी प्रशासन, वन प्रशासन, स्थानीय सरकार सबै मौन छन् ।’विकासका दृष्टिकोणले कैलालीको विकट स्थानका रूपमा रहेको मोहन्याल गाउँपालिकामा रहेको पुरातात्त्िवक महत्वको सम्पदा ऐतिहासिक राजकाँडा धुलिकोट राज्यको मुकामको जमिन र वन क्षेत्रको जग्गा अतिक्रमण गर्न वन फँडानी भइरहेको राजकाँडा पुगेका वेदप्रकाश तिमिल्सेनाले बताए ।  ‘मोहन्याल गाउँपालिकाले ऐलानी जग्गाको निस्सा वितरण गरिरहेको छ, यही मौका छोपेर दरबार क्षेत्रको जग्गामा वन फँडानी गर्नेहरू सक्रिय छन’ तिमिल्सेनाले भने । ‘वन फँडानीले चुरे वन क्षेत्रको नास हुनुका साथै ऐतिहासिक दरबार क्षेत्रको पुरातात्त्विक सम्पत्तिसमेत जोखिममा परेको छ ।’ उनले उक्त दरबार क्षेत्रको जंगलबारे कसैले चासो नलिएको बताए । 

यता, मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कलम साउँदले वन अतिक्रमण भइरहेको विषयमा कुनै जानकारी नआएको बताए । ‘राजकाँडामा थोरै घरहरू रहेका छन्, हामीलाई अहिलेसम्म वन अतिक्रमण भइरहेको बारेमा कुनै जानकारी आएको थिएन’ उपाध्यक्ष साउँदले भने । ‘ऐतिहासिक महत्व बोकेको दरबार क्षेत्रको वन अतिक्रमण भइरहेको हो भने हामीले गम्भीर रूपमा हेर्नेर्छौं, यसमा गाउँपालिकाले चासो लिन्छ ।’ उपाध्यक्ष साउँदले पर्यटकीय एवं ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको राजकाँडा र चुरे वन क्षेत्रको वन फँडानी रोक्न पहल गर्ने बताए । यता, सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक कृष्ण भट्टले पनि वन फँडानी भइरहेको विषयमा जानकारी नभएको प्रतिक्रिया दिए ।
‘हामीलाई अहिलेसम्म कुनै जानकारी आएको थिएन’ निर्देशक भट्टले भने । ‘पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण रहेको चुरे क्षेत्रकै वन फँडानी हुने विषयलाई हामीले गम्भीर रूपमा लिएका छौं, यसमा हाम्रो मातहतको कार्यालयलाई त्यहाँको अवस्थाबारे बुझ्न र आवश्यक कारबाही गर्न निर्देशन दिन्छौं ।’
ऐतिहासिक महत्व रहेको चुरे वन क्षेत्रमा पर्ने राजकाँडामा वन फँडानी रोक्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयहरू बताउँछन् । सो क्षेत्रमा वन फँडानी भइरहँदा पुरातात्विक महत्वको धुलिकोट दरबार क्षेत्रका भग्नावशेषसमेत जोखिम पर्ने देखिन्छ । राजकाँडा क्षेत्र बाइसेचौबिसे राज्य मध्येको धुलिकोट राज्यको मुकाम हो । राजकाँडामा वि.सं. १५९३ देखि झण्डै ४ शय ५० वर्ष धुलिकोटे राजाले शासन गरेको इतिहास छ । राजकाँडामा ऐतिहासिक धुलिकोट दरबार, टुँडिखेल, कोतखाना, खजाने ओडार, श्री मालिका मन्दिर, रानीको नुहाउने कुवालगायतका अवशेषहरू रहेका छन् ।  कैलाली जिल्लाको तराईसँग जोडिएको राजकाँडा क्षेत्र चुरेमा पर्छ । त्यहाँबाट अपी, सैपाल हिमाल, काञ्जीरवा हिमाल, ओमपर्वतदेखिका हिमशृंखला हेर्न सकिन्छ । अझ त्यो क्षेत्रबाट सूर्योदय अझ राम्रो देखिन्छ । अन्नपूर्ण पोष्ट