दुई करोड खर्चेर प्राकृतिक ताल व्यवस्थापन
2023/02/28, 6:13
 
ss

कैयौं वर्षदेखि बेवारिसे अवस्थामा रहेको धनगढी उपमहानगरपालिका–८ स्थित तौलाहा ताललाई पर्यटकीय गन्तव्यमा परिणत गरिदैछ ।क्षेत्रीय सहरी विकास आयोजना र धनगढी उपमहानगरपालिकाको लगानीमा व्यवस्थित गरेर ताललाई पर्यटकीय गन्तव्यमा परिणत गर्न लागिएको हो । यसको व्यवस्थापनमा दुई करोडभन्दा बढी खर्च भएको छ । 

पर्यटन गतिविधि सञ्चालनका लागि ठूलो रकम खर्चेर यो प्राकृतिक तालको व्यवस्थापन गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरीले बताए । ‘वडा नम्बर ८ को एउटा पर्यटकीय क्षेत्र बनाउनका लागि ताललाई व्यवस्थापन गर्ने कार्य भएको हो’, उनले भने । ‘माछा मार्न र माटो निकाल्नमात्रै काम आएको यो ताल हाम्रो वडाको अब एउटा पर्यटकीय गन्तव्य बन्नेछ ।’ व्यवस्थित गरिएको तालबाट सङ्कलन हुने राजस्वको केही प्रतिशत वडा कार्यालयले पनि पाउने सहमति भएको वडा अध्यक्ष चौधरीको भनाइ छ । 

उनका अनुसार तौलाहा ताल क्षेत्रको क्षेत्रफल करिब डेढ बिघा रहेको छ । तर, पानीले ओगटेको क्षेत्र भने कम छ । ताललाई व्यवस्थित गरेर वाटर पार्क जस्तै बनाइएको छ । पानी बाहेकको भागमा टायल बिच्छ्याउनुकासाथै किनारमा चारैतिर दुबो राखिदैंछ । गेटमा टिकट घर र शौंचालय निर्माण गरिएको छ । यस्तै, बोरिङ जडान गर्ने कार्य भइरहेको छ । यसैगरी, ताल क्षेत्रलाई उज्यालो बनाउने गरी पाँच वटा पोलमा सेन्सरयुक्त बत्ती राखिदैंछ । ताल क्षेत्रमा संरचना निर्माणको कार्य लगभग अन्तिम चरणमा पुगेको साइट ईन्चार्ज नरेश कुँवरले बताए । ‘दुबो राख्ने, बत्ती र बोरिङ जडान गर्ने कार्य दुईदिनभित्रै सकिन्छ’, उनले भने,‘त्यसपछि फिनिसिङ गरेर काम सकिन्छ ।’ 

यसको लागत भ्याटसहित दुई करोड ३४ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा ठेक्का भएको थियो । धनगढीकै रोयल पवन जेभीले ठेक्का पाएर काम गरिरहेको छ ।   निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रबन्ध निर्देशक महेश महराले बताए । ‘केही काममात्रै बाँकी छ’, उनले भने । अब केही दिनभित्रै निर्माणको काम सम्पन्न गरेर धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने महराले बताए । 

उनका अनुसार ताललाई सौन्दर्यकरण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० मा धेरै कुरा थियो । तर, बजेट कम रहेका कारण कतिपय संरचना बनाइएको छैन । गत चैतदेखि कम्पनीले भुक्तानी पनि पाएको छैन । अहिलेसम्म एक करोडमात्रै भुक्तानी भएको जनाउँदै महराले त्यसै त कम बजेट, त्यो पनि ढिलो गरेर आउँदा डीपीआरमा रहेका कतिपय संरचना नबनाइएको उल्लेख गरे ।  

ताल व्यवस्थापनको लागि दुई वर्षको समायवधि रहेको थियो । तर, कोरोना र विवादका कारण केही समय काम रोकिएको थियो । प्राकृतिक ताल मासेर सिमेन्टको संरचना बनाउन नदिने भन्दै धनगढी गाउँका रानाथारु समुदायले विरोध जनाएपछि एक वर्षसम्म काम ठप्प भएको महराले बताए । ‘विवाद मिलेपछि पुनः काम अगाडि बढ्यो’, उनले भने,‘अहिले समस्या छैन ।’   आदिवासी जनजाति रानाथारु समुदायले पहिलेदेखि तौलाहा तालबाट माटो निकालेर घर लिपपोतको काम गर्दै आएका थिए । उनीहरुले कुलदेवता भुइँया पुज्नका लागि माटोले लिपपोत गर्दछन् । लिपपोतबिना चोखो नमान्ने चलन छ । 

प्राकृतिक ताल मासेर आधुनिक संरचना निर्माण गरेमा कुलदेवता पुज्नका लागि आफूहरुले माटो नपाउने तर्क रानाथारु समुदायको थियो । तर, धनगढी उपमहानगरपालिकाले सार्वजनिक जग्गा, तालतलैया नगरपालिकाको मातहतमा रहने र व्यक्ति वा समुदायले प्रयोग गर्न नपाउने निर्णय गरेपछि निर्माणको काम अगाडि बढेको वडा अध्यक्ष चौधरीले बताए । ‘अहिले विवाद वा विमति कसैको पनि छैन’, उनले भने,‘ताल व्यवस्थित भएमा यहिँका बासिन्दालाई पनि फाइदा हुनेछ ।’   व्यवस्थापनसहित सौन्दर्यकरण गरिएको ताललाई पर्यटन गतिविधि सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाले ठेक्कामार्फत निजी क्षेत्रलाई दिने बताइएको छ । यसमा बोटिङसमेत सञ्चालन गर्न सकिने साइट इन्चार्ज कुँवरले बताए ।