टीकापुर राजबन्दीकी सोनिया भन्छिन–‘मेरो छोरा कहिले आउँछ ?’
2023/05/29, 8:37
 
ss

टीकापुर अस्पतालमा उपचारकै क्रममा रहेका बेला पक्राउ परेका थिए मुनुवा शिवशक्ति मुक्त कमैया शिविरका हरिनारायण चौधरी । २०७२ साल भदौ ७ गते पहिचान र अधिकारका लागि हिँसात्मक आन्दोलनमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
कैलाली कारागारमा जेल जिवन विताइरहेका हरिनारायणकी आमा सोनिया छोरा घर आउने आशमा बसेकी छिन् । –‘रेश्मसंगै मेरो छोरा पनि छुट्छ भन्थे । अहिले कारागारमा सम्पर्क गर्दा फोन उठेन् । छोरा आउने हो की होइन् । केही थाहा छैन् ।’ 

सोमबार १६ औं गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेश्मलाल चौधरीलाई सरकारले आममाफी दिँदै कारागारबाट रिहा भएका छन् । तर, सोही घटनामा पक्राउ परेका हरिनारायण चौधरीसहित कैलाली कारागारमा थुनामा रहेका अन्य तीन जनाले आममाफी पाएनन् । टीकापुर घटनामा दोषी ठहर भएका नाबालक पोखरा सुधारगृहमा छन् । 

उमेरले ४२ वर्ष पुगेकी सोनिया चौधरीले कमाउने छोरा जेलभित्र हुँदा जिविकोपार्जन गर्न पनि गाह्रो भइरहेको बताउँछन् । ‘छोरा नहुँदा श्रीमान दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । दिनको पाँच सय कमाउँछन् । घरखर्च, खानाको व्यवस्था गर्न पनि समस्या रहेको छ ।’ सोनियाकी एक छोरासंगै दुई छोरी छन् । टीकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेको घटना स्मरण गर्दा सोनियाको आँखामा आँशु झर्छ । उनलाई सरकारले सोमबार कैदमाफी गरेर कैदमुक्त गर्ने आश्वासन आएको सुनाइन् । उनले भनिन –‘रेश्मसंगै कैलाली कारागारमा रहेका सम्पूर्ण टीकापुर घटनाका कैदबन्दीलाई कैदमाफी हुने हल्ला छ । के यो साँचो हो र रु’

हरिनारायण एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने डरले आन्दोलनमा सहभागी भएका थिए । सोनिया डगौराले कमैया आन्दोलन जस्तै होला भनेर छोरो आन्दोलनमा गएको बताइन् । छिमेकीहरूका अनुसार, ग्यारेजमा काम गरेर परिवार पालिरहेका हरिनारायण साह्रै सोझा मानिस हुन् । प्रत्येक घरबाट कम्तीमा एक जना आन्दोलनमा जानुपर्ने नत्र एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने उर्दी आएपछि आमा र बहिनी सीतालाई रोकेर उनी गएका थिए ।

टीकापुर घटनामा पक्राउ परेपछि थरुहट नेताहरुले राजबन्दी परिवारलाई आर्थिक सहयोग पनि गर्दै आएको स्मरण गर्दै भनिन –‘पहिला नेताहरु घरमा आउथे । आर्थिक सहयोग पनि गर्थे तर, अहिले कसैले पनि हेरेको छैन् ।’

पहिचान र थरुहट राज्यको माग गर्दै थरुहट÷थारुवान संयूक्त संघर्ष समितिले अहिले पनि आन्दोलित छ । टीकापुर घटनालाई राजनीतिक घटना बनाउनुपर्ने, राजवन्दीलाई निस्वार्थ रिहाई गर्नुपर्ने, पहिचान र अधिकार सहितको थरुहट प्रदेश बनाउनुपर्ने अहिले पनि थरुहट नेताहरुको माग रहेको छ ।

थरुहट÷थारुवानका नेता माधव थारुले रेश्मको रिहाइमा टीकापुर घटनाको कुनै संलग्नता नरहेको बताउँछन् । उनले भने –‘यो सरकारको निर्णय हो । यसमा म केही भन्दिन । उहाँको पार्टी सरकारमा रहेकाले उहाँले रिहाइ पाएका हुन् ।’ उनले सरकारले टीकापुर घटनाको निष्पक्ष छानविन हुनुपर्ने बताए । ‘लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सरकारसंग माग गर्दा पनि सुनुवाइ भएको छैन् । थारुहरुलाईनै दोषि देखाउने गरि जिल्ला, उच्च र सर्वोच्च अदालतको फैसला भएको छ । प्रतिवेदनप्रति न्यायिक निकायले ध्यान नदिइ निर्णय गरेका छन् ।’

नागरिक उन्मुक्ति पार्टीले रेश्मलाई आम माफी दिएर न्याय नगरेको प्रतिक्रिया दिएका छन् । ‘बिग्रह, बिखण्डनको लडाइ होइन । न त बदलाभाव रिसरागको लडाइ हो यो । यो त सदभव, अपनत्व, न्यायका लागि समृद्ध नेपाल र नेपालि बन्ने बनाउने अभियान हो । सहयोग गर्नुहुने सबै सबैलाइ धन्यबाद छ’ उन्मुक्तिका नेता लक्ष्मण थारु भन्छन् । उन्मुक्तिका नेताहरुले न्याय भन्दा शासकको दया ठुलो नभएको प्रतिक्रिया दिन्छन् । ‘गणतन्त्र दिवसमा रेशम चौधरी लगायत चार सय ८२ जना लाई आम माफी दिएका छ्न’ उन्मुक्तिका नेता श्रवण चौधरी भन्छन् –‘निर्दोष रेशम चौधरीलाई दोषी प्रमाणित गरि आम माफी दिनु सम्पुर्ण थारु समुदाय र पहिचानबादीहरु प्रतिको अन्याय हो । माफी भन्दा न्याय धेरै गुणा बेस हुन्थ्यो यो माफीले रेशमलाई सदाको लागि अपराधीको टीका लगाएको छ ।’

राज्य पुनर्संचना गर्दा सिमांकनको  विषयमा असन्तुष्ट थारु समुदायले थरुहट–थारुवान प्रदेशको माग गर्दै पश्चिम नेपालका कैलाली–कञ्चनपुरसहितका जिल्लामा आन्दोलन गर्दै आएका थिए । त्यसविरुद्ध अखण्ड सुदूरपश्चिमको नारासहित पहाडी समुदायले पनि आन्दोलन गर्दै आएका थिए । अखण्ड सुदूरपश्चिमको तुलनामा थरुहट–थारुवान संघर्ष समितिको आन्दोलनले चर्को रुप लियो । कैलालीको टिकापुरमा ७ भदौ २०७२ मा थारु समुदायले चोक र सार्वजनिक स्थानमा थरुहट प्रदेश लेखिएको बोर्ड राख्ने कार्यक्रम थियो । उनीहरुले सडक बन्द गरेर प्रदर्शन जारी राखेका थिए ।

आन्दोलनकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको मुनुवा गाविस वडा नम्बर ६ मा प्रहरीसँग झडप भयो । त्यो झडपपछि घरेलु हतियारसहित आएका आन्दोलनकारीले पशुहाट नजिकै एसएसपी न्यौपानेमाथि नै आक्रमण गरे । सो घटनामा न्यौपानेसहित नेपाल प्रहरीका प्रहरी निरीक्षक बलराम विष्ट, केशव बोहोरा, प्रहरी हबल्दार लक्षमण खड्का तथा प्रहरी जवान लोकेन्द्र चन्द मारिए । यसैगरी सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरी र आफ्नै घरमा बसेका एक नाबालक टेकबहादुर साउदको पनि मृत्यु भयो ।