सुदूरपश्चिममा किन फर्किएन सुरक्षित अभ्यास ?
2023/06/02, 2:06
 
ss

कैलालीको धनगढी उपमहानगरपालिका १ की रुपा चौधरीलाई २०७६ साउनको २१ गते सुत्केरी व्यथाले च्याप्यो । उनले घरमै बच्चालाई जन्म दिइन् । किन अस्पताल नगएको भन्ने प्रश्नको जवाफमा अस्पतालका नर्सहरुको रुखो व्यवहारको कारण अस्पताल नगएको सुनाइन् ।
रुपालाई व्यथाले च्यापेपछि अस्पताल लैजाने तयारी भयो तर रुपाले आफूलाई अस्पताल नलैजान आग्रह गरिन् ।  परिवारका अन्य सदस्यले बच्चा जन्माउनु भन्दा करिव एक घण्टा अघि मात्रै उनलाई व्यथा लागेको थाहा पाएका थिए ।

अस्पताल उनको घर भन्दा करिव २० मिनेट मात्रै टाढा छ । बच्चा जन्माएपछि किन अस्पताल नगएको भनेर सोध्दा उनले अस्पतालका कर्मचारी रिसाएर झर्को फर्को गर्ने  हुँदा नगएको बताइन् । रुपाले आफ्नी जेठानी अस्पताल गएका बेला उनलाई नर्सले हकारेको देखेपछि आफूलाई पनि त्यस्तै गर्छन् भनेर अस्पताल नगएको सुनाइन् । त्यस्तै गत साउन ४ गते बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मुक्तिकोटकी कार्तिका बिकले बाटोमै बच्चा जन्माइन् । परिवारले उनलाई समयमा नै स्वास्थ्य संस्थामा लगेका थिए तर  त्यहाँ कोही पनि नभएपछि फर्कने क्रममा बाटोमा नै बच्चालाई जन्म दिएकी थिइन् । स्वास्थ्य संस्थाका सबै कर्मचारी करारमा रहेका र उनीहरुको म्याद नथपिएका कारण उक्त स्वास्थ्य संस्था कर्मचारी विहिन भएको थियो । 

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा प्रसूति सेवाको सहज पहुँच नहुँदा बाटो र घरमै सुत्केरी हुनुपरेका यी केही प्रतिनिधि मात्र हुन् । अझै पनि शहरी, ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै गर्भवतीहरु बाटो तथा घरमै सुत्केरी हुन्छन् । सुत्केरीका क्रममा अत्यधिक रक्तश्राव तथा अन्य जटिलताका कारण कतिले त बाटोमै ज्यान गुमाउनु परेका घटना समेत रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमा प्रत्येक महिलालाई प्रसूतिकर्मीबाट आवश्यक परामर्श, गर्भवती तथा प्रसूति सेवा, सुत्केरी पश्चातको परिवार नियोजन सेवा पाउने अधिकार हुनुका साथै प्रत्येक महिलालाई आधारभूत आकस्मिक प्रसूति सेवा, नवजात शिशुको लागि अत्यावश्यक सेवा पाउने अधिकार हुने भनिएको छ तर व्यवहारमा भने त्यस्तो छैन भन्ने माथि उल्लेखित दुई उदाहरणले बताउँछ । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा संस्थागत ९स्वास्थ्य संस्था तथा अस्पताल० मा सुत्केरी हुने दरमा सुधार हुँदै आए पनि सतप्रतिशत पुर्याउन सकिएको छैन । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरी घरमै बच्चा जन्माउनेको संख्या २४६ जना रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सुत्केरी हुने दर ९३ प्रतिशत रहेको छ । निर्देशनालयका निर्देशक डाक्टर जगदिश जोशीले गत आर्थिक वर्ष ९२०७८/७९० मा सात प्रतिशत महिला घर तथा बाटोमै सुत्केरी भएको बताए । 
प्रदेशमा आर्थिक वर्ष २०७६र७७ मा संस्थागत सुत्केरी दर ७१ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा वृद्धि भई ८३ प्रतिशत पुगेको थियो । प्रदेशमा सबै भन्दा कम संस्थागत सुत्केरी हुने दर डोटी र कञ्चनपुरमा रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा डोटीमा संस्थागत दर ७६ प्रतिशत रहेको छ भने कञ्चनपुरमा ७७ प्रतिशत रहेको छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा बझाङमा ८४, बाजुरामा ८९, दार्चुलामा ८७, बैतडीमा ८२, डडेल्धुरामा ९६ र अछाममा ८४ प्रतिशत रहेको छ । 

भौगोलिक विकटता, प्रसूति केन्द्र टाढा, परिवारको आर्थिक अवस्था, स्वास्थ्य केन्द्रमा कर्मचारी अभाव जस्ता कारणले प्रदेशमा धेरै महिला बाटोमै सुत्केरी हुन बाध्य भएको डाक्टर जोशीले बताए । सुत्केरी व्यथाले च्यापेपछि कतिबेला बच्चा जन्मिन्छ भन्ने सामान्य अनुमान लगाए पनि त्यस अनुसार नै हुन्छ भन्ने हुँदैन । कसैकसैमा व्यथा लागेपछि छिट्टै सुत्केरी भइहाल्ने हुन्छ भने कोही कोहीलाई धेरै समय लाग्न सक्छ । भौगोलिक विकटता भएको ठाँउमा थप बर्थिङ सेन्टरहरू खोलिनु पर्ने र जनशक्तिहरू थपेमा यो समस्या कम हुन सक्ने जोशीको बुझाई छ ।

 स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी ओम जोशीका अनुसार सुदूरपश्चिममा चालु आर्थिक वर्षमा १२५ नवजात शिशुको मृत्यु भएको छ जसमा सबै भन्दा बढी कैलालीमा ५८ शिशुको मृत्यु भएको छ । अछाममा १८, कञ्चनपुरमा ११, डोटीमा ९, डडेल्धुरा र बैतडीमा ८÷८, बाजुरामा ६, बझाङमा ४, दार्चुलामा ३ शिशुको मृत्यु भएको छ । यस्तै चालु आर्थिक वर्षमा ४५४ बालबालिकाको मृत्यु भएको छ । यसरी आमा र बच्चा दुबैको ज्यान जोखीममा पर्नुको मुख्य कारण भौगोलीक बिकटता, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउनु, स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहनु जस्ता समस्या रहेको छ । 

उपमहानगरपालिकाभित्रै पनि घरमै सुत्केरी 
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका रहेको धनगढी उपमहानगरपालिकामा आर्थिक वर्ष २०७८/७९ मा ५१ जना घरमै सुत्केरी भए । धनगढीमा संस्थागत सुत्केरी हुने संख्या बढ्दै गए पनि जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्थाको कारण अझै घरमै सुत्केरी हुने गरेका छन् । कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा तीन सय ३६ जना घरमै सुत्केरी भएका छन् जससमध्ये सबैभन्दा बढी चुरे गाउँपालिकाका महिला रहेका छन् । उक्त पालिकामा एक सय एक महिला घरमै सुत्केरी भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्ककमा रहेको छ । 

आर्थिक वर्ष २०७८/७९ मा कैलालीको भजनी नगरपालिकामा २८, टीकापुरमा ११, लम्की चुहा नगरपालिकामा १२, गौरिगंगा नगरपालिकामा १६, घोडाघोडीमा २४ र गोदावरी नगरपालिकामा एक सय एक महिला घरमै सुत्केरी भए भने मोहन्याल गाउँपालिकामा ४० र बर्दगोरिया गाउँपालिकामा नौ महिला घरमै सुत्केरी भए ।

जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा एक हजार छ सय ९२ जना र आर्थिक वर्ष २०७७/७८ मा छ सय १० जना घरमै सुत्केरी भएका थिए । आर्थिक वर्ष २०७६र७७ मा मात्र धनगढी उपमहानगरपालिका भित्रै घरमै सुत्केरी हुनेको संख्या बढी छ । एक हजार छ सय ९२ मध्ये धनगढीमा एक हजार एक सय २५ महिला घरमै सुत्केरी भए । आर्थिक वर्ष २०७७/७८ मा ७९ जना घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालयको तथ्याङ्ककमा रहेको छ । घरमै सुत्केरी हुने संख्या सबै भन्दा कम जोशीपुर, कैलारी र जानकी गाँउपालिकामा रहेको छ । ती पालिकामा आर्थिक वर्ष २०७६र७७ मा एक, आर्थिक वर्ष २०७७/७८ मा पाँच र आर्थिक वर्ष २०७८/७९ शुन्य महिला घरमै सुत्केरी भएको उल्लेख छ ।

जोशीपुर गाँउपालिकामा दुई आर्थिक वर्षदेखि घरमै सुत्केरी हुनेको संख्या शुन्य रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा सो गाउँपालिकामा दुई महिला घरमै सुत्केरी भए पनि आर्थिक वर्ष २०७७र७८ र ७८/७९ मा घरमै सुत्केरी हुनेको संख्या शुन्य रहेको छ । जानकी गाउँपालिकामा आर्थिक वर्ष २०७६/७७ मा छ र आर्थिक वर्ष २०७७/७८ मा छ जना घरमै सुत्केरी भएका छन् भने आर्थिक वर्ष २०७८र७९ मा एक महिला घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्ककमा रहेको छ । जिल्लाका पालिकाहरुमा स्वास्थ्य संस्था, जनशक्ति र उपकरण भए पनि महिलामा जनचेतना, आर्थिक अभाव, रोग लुकाउने बानी लगायतका कारण महिलाहरु घरमै सुत्केरी हुने गरेको तर यसो गर्दा आमा र बच्चा दुबै जोखिममा पर्ने तर अस्पतालसम्म पुगे स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी हुँदा महिला र बच्चाको ज्यान जोगाउन सकिने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।  

तीन वर्षको अवधीमा ७५ गर्भवती तथा सुत्केरीको उद्धार 
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी भुवन जोशीले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत सुत्केरी हुन नसकेका तथा सुत्केरी भएपछि जटिल अवस्था आएका महिलाहरूको हवाई उद्धार गरिँदै आएको बताए । उनले भने, जसको कारण धेरै महिलाको ज्यान अकालमा मृत्यु हुनुबाट जोगिएको छ । सुत्केरी हुन नसकेका, अत्याधिक रक्तस्राव भएका, जटील समस्या भएका महिलाहरुको हेलीकप्टर मार्फत उद्धार हुने गरेको छ । विकट क्षेत्रमा सहज बाटो नभएकै कारण यो क्षेत्रका महिलाले हेलीकप्टरको सुविधा पाउँदा धेरैको ज्यान जोगिएको छ । सुत्केरी व्यथा लागेका तथा सुत्केरी भएर पनि जटिल अवस्था भएकालाई सरकारले निःशुल्क हेलिकप्टरको व्यवस्थापन गरेको छ । 

पहाडी जिल्लाका सुत्केरी तथा गर्भवतीका लागि निःशुल्क हवाई उद्धार सेवाको व्यवस्था भएपछि अहिले उनीहरुलाई सहज भएको छ । सुदूरपश्चिममा तीन वर्षको अवधीमा ७५ गर्भवतीको उद्धार भएको छ । पहाडी जिल्ला बझाङ, बैतडी, बाजुरा, अछाम, डडेलधुरा, दार्चुला र डोटीमा स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेका र सुत्केरी भएपछि जटिल अवस्था आएका महिलाको हेलिकेप्टरबाट उद्धार गरिएको हो । गएका तीन वर्षमा सबैभन्दा बढी बझाङबाट ३३ महिलाको उद्धार गरिएको छ । यस्तै, बाजुराबाट १९, अछामबाट २३, दार्चुलाबाट ३, डोटीबाट २ र बैतडीबाट २  महिलाको उद्धार गरिएको छ ।  यस आर्थिक वर्षमा भने २ जनाको उद्धार भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दार्चुलाका एक र बैतडीबाट एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।