रानीजमराको मूल नहरबाटै खेतमा पानी
लम्कीतिरको नहरमा पनि एक साताभित्रै पानी सञ्चालन गरिने
2023/06/16, 1:42
 
रानीजमराको मूल नहरबाटै खेतमा पानी

टीकापुर - राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजना सुरु भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन भएको छ । जेठ ३१ गते साँझ मूल नहरबाट पठाएको पानी शाखा, प्रशाखा नहर हुँदै जेठ ३२ गते दिउँसो किसानको खेत खेतमा पुगेको छ । 

आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु भएको आयोजनाले यसअघि मूल नहरको परीक्षण गरेको थियो । यस पटक मूल नहरबाट पानी ल्याई तीन वटै कुला प्रणालीमा ४५ क्युमेक्स पानी पठाइएको आयोजनाका निर्देशक केदारकुमार श्रेष्ठले जानकारी दिए। यी प्रणालीबाट १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ हुन्छ । श्रेष्ठका अनुसार लम्कीतिरको नहरमा पनि एक साताभित्रै पानी सञ्चालन गरिने छ, जहाँबाट छ हजार हेक्टर जमिनमा सिँचाइ हुने छ । 

यसअघि कर्णाली नदीबाट किसानको खेतमा पानी ल्याउन बनाइएको अस्थायी मुहानले बर्सेनि समस्या हुने गरेको थियो । कर्णालीमा बाढी बढेका बेला नदीबाट बाढी आएर खेत डुबाउँथ्यो भने बाढी घटेपछि कुलामा पानी सुकेर धान खेतीलाई पर्याप्त पानी पुग्दैनथ्यो । मूल नहरबाट पानी आएपछि किसान ढुक्क भएका छन् । जमरा कुलो जल उपभोक्ता संस्थाका अध्यक्ष मानवबहादुर चौधरी नहरबाटै पानी किसानको खेतमा पुगेपछि जोखिम घटेको र आनन्द बढेको बताए। अब बाह्रै महिना नहरमा चाहे जति पानी ल्याउन सकिन्छ, बढी वर्षा भएको दिन नहरको ढोका बन्द गरी पानी कर्णालीमै बगाउने व्यवस्था भएकाले जोखिम घट्ने चौधरीको भनाइ छ ।

कैलालीमा ३८ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ गर्ने उद्देश्यले सुरु भएको आयोजनाको पहिलो चरण ९२०६७/६८ देखि २०७४/७५० मा विश्व बैङ्कको लगानी १२ अर्ब ३७ करोड ७५ लाख रुपियाँ खर्च भइसकेको छ । 

दोस्रो चरण ९२०७४/७५ देखि २०८०/८१० मा १५ अर्ब ३२ करोड ४९ लाख रुपियाँ खर्च हुने छ । 

२७ अर्ब ७० करोड २३ लाख रुपियाँ लागत रहेको आयोजनामा १७ अर्ब ५६ करोड ७२ लाख रुपियाँ नेपाल सरकार, नौ अर्ब ९५ करोड ५१ लाख रुपियाँ विश्व बैङ्कको ऋण र १८ करोड रुपियाँ उपभोक्ता समितिको लगानी भइरहेको छ । आयोजनामा हालसम्म १८ अर्ब रुपियाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । रानीजमरा कुलरियाबाट १४ हजार तीन सय हेक्टर सिँचाइ गर्न आठ हजार ८७५ मिटरको मूल नहर, दक्षिणतर्फको १०.६० किलोमिटर नहर निर्माण भइसकेको छ ।