सुदुरपश्चिममा रातीको समयमा ८.६ को भुकम्प गए साढे १६ हजारको मृत्यु हुने सम्भावना, बढी क्षती कैलालीमा
2023/11/07, 1:40
 
ss

विपद जन्य जोखिम न्युनिकरण र सुसुचित सार्वजनिक नीति तय गर्न सांसदहरुको भुमिका महत्वपुर्ण हुने सुझाब दिइएको छ। सुदुरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना,सुपर परियोजनाको प्राविधिक सहयोग र प्रदेश सभा सचिवालय सुदुरपश्चिमको समन्वयमा भएको जोखिम सुसुचित सार्वजनिक नीति तय गर्न सांसदहरुको भुमिका बिषयक कार्यशाला गोष्ठीमा उक्त सुझाब दिइएको हो।


प्रदेशमा भुकम्प,बाढी,पहिरो,आगलागी,चट्याङजस्ता विपदहरुबाट प्रभावित हुन सक्ने भएकाले साँसदहरुले जोखीम न्युनिकरणका लागी अल्पकालीन, मध्यकालीन दीर्घकालीन कार्ययोजना बनाई निती नियममा समेटेर कार्यान्वयन गर्नुपर्ने बिषयविज्ञले सुझाब दिएका हुन्। बिगत ११ बर्षमा २१ सय १९ विपद घटनामा २३८ जनाले ज्यान गुमाउनुका साथै ३१ करोडको क्षती भएको छ। भबिश्यमा पश्चिम नेपाललाई केन्द्र बिन्दु बनाएर ८ दशमलव ६ रेक्टरको भुकम्प जाने सम्भावना रहेको विपद् बिषय विज्ञले बताएका छन्।

नेपाल सरकारका पुर्वशिक्षा मन्त्री एवं विपदजोखीम न्युनिकरण तथा ब्यवस्थापन राष्ट्रिय परिषद् विपद विज्ञ सदस्य डाक्टर गंगालाल तुलाधारले सडक दुर्घटना बाहेक प्रत्येक बर्ष देशमा ५०० बिभिन्न विपद घटनाबाट ९०० ब्यक्तीहरुले ज्यान गुमाउने गरेको बताए। उनले बार्षिक रुपमा विपद्का कारण ६ लाख ४० हजार ब्यक्तीहरु प्रभावित हुने गरेको र ३० हजार घरहरु क्षतीग्रस्त हुने गरेको जानकारी दिए।

उनले सुदुरपश्चिममा पहिरो, भुकम्प, बाढी, आगलागी,शितलहर,चट्याङ्ग,सडक दुर्घटना महामारी, जनावर आतंक लगायत विपद रहेकाले यसको न्युनिकरणमा साँसदहरुको मुख्य जिम्मेबारी हुने बताए। सुदुरपश्चिममा सन् १९७१ देखी २०१९ सम्म पहिरोबाट ५ सय १० जना, बाढीबाट ३ सय १८ जनाको मृत्यु भएको उनले बताए। यस्तै भुकम्पबाट १२७, आगोबाट १२५ तथा चट्याङबाट १२४ जनाको मृत्यु भएको विपदजोखीम न्युनिकरण तथा ब्यवस्थापन राष्ट्रियपरिषद् विपद विज्ञसदस्य डाक्टर तुलाधारले बताए।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सुदुरपश्चिममा २०८० असोज १६ गते दिउँसो २ः४० मा ५ दशमलव ३ रेक्टर स्केल, असोज १६ गते दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ। जस्मा १ जनाको मृत्यु ११ जना घाईते भएका छन्। निजीघर २४ सय ४५ पुर्ण क्षती र ५९सय ९५ घरमा आंशिक क्षती भएका छन्। १ सय २ सरकारी भवन पुर्ण क्षती र १ सय ३४ सरकारी भवनमा आंशिक क्षती पुगेको छ।

यस्तै सुदुरपश्चिममा रातीको समयमा ८ दशमलव ६ रेक्टरको भूकम्प गएमा १६ हजार ७ सय ७२ जनाको मृत्यु हुने सम्भावना रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यस्तै बिदाको दिनमा भूकम्प गएमा १० हजार ७ सय ९७ जना र कार्यालय समयमा उक्त रेक्टरको भूकम्प गएमा ७ हजार ७ सय ६६ जनाको मृत्यु हुने आंकलन गरिएको छ। जस्मा सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरमा मानिसको मृत्यु हुने देखीएको बताइएको छ।

त्यसकारण प्रदेश सरकारले विस्तृत भुकम्पीय प्रकोप तथा जोखीम आंकलन र परिदृश्यमा आधारित कुल क्षती तथा नोक्सानी आंकलन गर्ने, जोखीम न्युनिकरणका लागी अल्पकालीन, मध्यकालीन दिर्घकालीन कार्ययोजना बनाई कार्यान्वयन गर्ने, प्रदेश तथा स्थानिय तहमा भुकम्प प्रतिकार्य ढाँचा बनाई लागु गराउने, सबै बर्ग क्षेत्रलाई सेमेटेर विपद जोखिम न्युनिकरण नीती ऐन तथा रणनितीक कार्ययोजना तयार गरी लागु गर्ने र सरकारी निकाय,समुदाय,निजी तथा अन्य सरोकारवालाहरुको विपद पूवतयारी तथा प्रतिकार्य क्षमता अभिबद्र्धि गर्ने योजना बनाउनुपर्ने जोड दिइएको छ।

जोखिम सुसुचित सार्वजनिक नीति तय गर्न सांसदहरुको भुमिका बिषयक कार्यशाला गोष्ठी कार्यक्रममा सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले प्रदेश सरकार विपद जन्य जोखिम न्युनिकरण र सार्वजनिक नीति तय गर्न योजनाका साथ अघि बढ्ने बताएका छन्। उनले सबैको सुझाब अनुसार र प्रदेशका बिभिन्न मन्त्रालयको समन्वयमा उक्त रणनिती र कार्यायोजना बनाई लागु गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा प्रदेश सरकारका मन्त्री,उपसभामुख, प्रदेश सभा सदस्य, भुकम्पविद्, नेपाल रेडक्रसका प्रतिनिधी लगायतको उपस्थीती रहेको थियो।