कैलाली कञ्चनपुरबाट बेचबिखनमा परेका ६३२ महिला तथा बालबालिकाको उद्धार, ४ जना विरुद्ध मुद्दा दर्ता
2023/11/08, 4:08
 
ss

कैलाली र कञ्चनपुरबाट मानव बेचबिखनमा परेका महिला तथा बालबालिकाको उद्धार गरिएको छ। शान्ति पुनस्र्थापना गृह कैलाली र कञ्चनपुरले गत वर्ष बेचबिखनको जोखिममा ६ सय ३२ जना महिला तथा बालबालिकाको उद्धार गरिएको जनाएका हुन् ।

शान्ति पुनस्र्थापना गृह कैलालीले गत वर्ष मानव बेचबिखनको जोखिममा परेका तीन सय ८८ जना महिला तथा बालबालिकाहरुको उद्धार गरेको जनाएको छ ।  यस्तै सोही अवधिमा कञ्चनपुरबाट २ सय ४४ महिला तथा बालबालिकाको उद्धार गरिएको शान्ति पुनस्र्थापना गृह कञ्चनपुरले जनाएको छ। यस्तै शान्ति पुनस्र्थापना गृह धनगढी शाखाका अनुसार मानव बेचबिखन तथा ओसारपोसारमा ४ जना विरुद्ध मुद्दा समेत दर्ता गरिएको छ। जस अनुसार दुई जना विरुद्ध मानव बेचबिखन तथा ओसारपसार र दुई जना विरुद्ध सार्वजनिक मुद्दा समेत दर्ता गरिएको बताइएको छ।

गत आर्थिक वर्षको साउन महिनामा कैलालीबाट २३ कञ्चनपुरबाट २९ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ। भदौ महिनामा कैलालीबाट ३४ जना महिला तथा बालबालिकाको उद्धार गरिएकोमा कञ्चनपुरबाट १७ उद्धार गरिएको शान्ति पुनस्र्थापना गृह कञ्चनपुरले जनाएको छ। यस्तै असोज महिनामा कैलालीबाट २३ र कञ्चनपुरबाट १४ महिला तथा बालबालिकाको उद्धार गरिएको छ। यस्तै कात्तिकमा कैलालीबाट २५ र कञ्चनपुरबाट ९ महिला तथा बालबालिकाको उद्धार गरिएको छ। मंसिर महिनामा कैलालीबाट ४२, कञ्चनपुरबाट १४ जना, पौष महिनामा कैलालीबाट ४०, कञ्चनपुरबाट १२ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ।

यस्तै माघ महिनामा कैलालीबाट ४२, कञ्चनपुरबाट १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ । फागुन महिनामा कैलालीबाट २१, कञ्चनपुरबाट ९ जना,चैत महिनामा कैलालीबाट ३०, कञ्चनपुरबाट १४ जना, बैशाख महिनामा कैलालीबाट ३१, कञ्चनपुरबाट ३७, जेठमा कैलालीबाट ३२, कञ्चनपुरबाट ३३ जना तथा असाढ महिनामा कैलालीबाट ४६ कञ्चनपुरबाट ३८ जना महिला तथा बालबालिकाको उद्धार गरिएको शान्ति पुनस्र्थापना गृहले जनाएको छ । मानव बेचबिखन तथा ओसारपसारको जोखिम पूर्ण यात्रामा रहेका किशोरी तथा बालबालिकाहरुलाई शान्ति पुनस्र्थापना गृहको धनगढीले उद्धार गरेर परिवारको जिम्मा लगाएको जनाएको छ।

सो अवधिमा ११ जना महिला तथा किशोरीलाई भारतबाट उद्धार गरिएको जिल्ला कार्यसमिति संयोजक कैलास सोव रानाको भनाई छ । हराएको र खोजी गरि पाउँ भन्दै आफन्तले शान्ति पुनस्र्थापना गृह धनगढीमा १३७ जनाले निवेदन दिएको उनको भनाई छ । हराएको र निवेदन दिएकामध्ये अहिलेसम्म ५ जना मात्रै फेला परेको कार्यक्रम संयोजक सोवले जानकारी दिएकी छिन् । कैलाली र कञ्चनपुरको भारतसँग सीमा जोडिएका ति मुख्य तथा खुला नाका प्रयोग गरी मानव बेचबिखन गर्नेले कामको प्रलोभन वा बिभिन्न वाहाना देखाएर भारत वा तेस्रो मुलुक लैजाने गरेका छन्।मानव बेचबिखन तथा ओसारपसार सम्वन्धि ऐन २०६४ ले यस्तो कार्यमा संलग्न व्यक्तिलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाखसम्म जरिवानाको व्यवस्था छ। मानव बेचबिखन र जबरजस्ती करणी अपराधमा बालबालिका किन्ने, बेच्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले विदेश लैजाने सम्वन्धि कसुर अन्तर्गत १५ देखि २० वर्षसम्म कैदको व्यवस्था छ। भने एक लाखदेखि दुई लाखसम्म जरिवानाको व्यवस्था रहेको छ।