सीमावर्ती भारतीय बजार नेपाली ग्राहकले खचाखच
2023/11/13, 12:14
 
ss

जति बेला नेपालमा चाडपर्वको उल्लास बढ्छ, त्यति बेला सीमावर्ती भारतीय बजार भारतीय ग्राहकले होइन, नेपालीहरूले खचाखच भरिन्छ । सस्तो मूल्यमा पाइने भन्दै नुनदेखि सुनसम्म किनमेल गर्न नेपाली उपभोक्ताहरू २/३ किलोमिटर दुरी तय गर्दै सीमावर्ती भारतीय बजार चहार्छन् । दसैँलगत्तै दीपावलीको माहौल बढे यता कैलाली जिल्लासँग जोडिएको भारतीय सीमावर्ती वनगाउँ, सुडा, पलिया, चन्दनचौकी, टिकुनियालगायत भारतीय बजार नेपाली उपभोक्ताले खचाखच भरिएका छन् ।

वनगाउँमा किनमेल गर्न पुगेका धनगढी उपमहानगरपालिका–८ का दिनेश रानाले धनगढी बजारमा भन्दा हरेक सामान सस्तोमा पाइने भएकोले किनमेल गर्न जाने गरेको बताए । खासगरी नुन, चिनी, खुर्सानी, मसलालगायत दैनिक उपभोग्य वस्तु किन्न आफूहरु भारतीय बजार पुग्ने गरेको रानाको भनाइ छ । धनगढी–३ की कुमारी बम दसैँको चाहिने कपडा धनगढीमै नकिनी वनगाउँ पुगेकी थिइन् । साडी, धोती, कुर्तालगायत थान कपडासमेत सस्तोमा पाइने भन्दै उनले भारतीय बजारमा भर पर्दै आएको बताइन् ।

राना र बम मात्रै होइनन्, अधिकांश सीमावर्ती नेपालीहरू दशकौँदेखि भारतीय बजारमै किनमेल गर्न पुग्छन् । वनगाउँ बजारस्थित जयश्रीराम बर्तन भण्डार एन्ड हार्डवेयरका सञ्चालक वीरेन्द्र गुप्ताले दसैँ, तिहार, तीजलगायत मुख्य–मुख्य चाडपर्वमा लाखौँ नेपालीहरू किनमेलको लागि आउने गरेको सुनाए । नेपाली उपभोक्ताबाटै बजार चलेको स्विकार्दै गुप्ताले नेपाली बजारभन्दा सस्तोमा मालसामान बिक्री गर्दै आएको दाबी पनि गरे । धनगढी बजारदेखि करिब ५ किलोमिटर र त्रिनगर भन्सार नाकादेखि करिब २/३ किलोमिटर दुरीमा रहेको अस्थायी वनगाउँ बजार फस्टाउनु पहिले झन्डै डेढ सय वर्षसम्म निकै फस्टाएको थियो, गौरीफन्टा बजार ।


भारतीय वनगाउँ बजारले धनगढी बजारलाई, चन्दनचौकी बजारले कैलाली जिल्लाका दक्षिणी क्षेत्रमा रहेको हसुलिया बजारलाई र अर्को भारतीय तिकुनिया बजारले जिल्लाको टीकापुर बजारलाई असर गर्दै आएको छ ।