यार्सा टिप्न नपाउँदा जुटेन घर खर्च
2020/07/05, 8:07
 
yarsa

१३ वर्ष भयो, दार्चुलाको नौगाड गाउँपालिका–१ का नरेन्द्र बमले प्रत्येक सिजनमा यार्सागुम्बु संकलन गरेर घर खर्च धान्ने गरेका थिए । करिब दुई महिनाको यार्सागुम्बुलगायत जडीबुटी संकलन गरेर उनले वर्ष गुजार्थे । यो वर्ष भने संकलन गर्न नपाउँदा उनी कसरी घरपरिवारको खर्च जोहो गर्ने भन्ने समस्यामा परेका छन् । सिजनका बेला घरका केहीले यार्सागुम्बु र केहीले जडीबुटी संकलन गरेर २ लाखसम्म आम्दानी गर्ने गरेको बमले बताए । ‘यो वर्ष गाउँमा अन्य काम पनि पाइएको छैन,’ उनले भने, ‘आम्दानी गर्ने बाटो छैन । कसरी घरपरिवार धान्ने हो ?’

जिल्लाका उत्तरी भेगका स्थानीयको मुख्य आयस्रोतका रूपमा रहेको यार्सा संकलनमा सरकारले रोक लगाएपछि बमजस्ता परिवारमा समस्या थपिएको छ । कोरोना संक्रमण फैलिने डरले पूरै देश लकडाउन भएपछि यार्सा संकलनमा रोक लगाइएको हो । हजारौंको संख्यामा यार्सा संकलन गर्न अनुमति दिँदा कोरोना संक्रमण बढ्ने डरले रोक लगाइएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । हिमाली भेगमा वैशाख पहिलो सातादेखि यार्सा टिप्ने सिजन सुरु हुन्छ । यो बेला गाउँमा हिँड्डुल गर्न नसक्ने वृद्धवृद्धा र साना बालबालिका मात्र भेटिन्थे । दुईरतीन दिनको लगातार पैदल यात्रापछि उनीहरु यार्सा पाटन पुग्छन् । डेढ दुई महिनामा यार्सा टिपेर वर्षभरलाई धान्ने खर्च जोहो गर्छन् ।

लकडाउनले दुई महिनादेखि कुनै क्षेत्रबाट आम्दानी भएको छैन । गत वर्ष दुई महिनामा करिब डेढ लाख रुपैयाँको यार्सा संकलन गरी आम्दानी गरेको व्यास गाउँपालिका ५ का लालसिंह धामीले बताए । ‘तर यो वर्ष घरपरिवार नै कसरी पाल्ने भन्ने मेसो मिलेको छैन,’ उनले भने । जिल्लाका व्यास, अपी हिमाल, नौगाड, दुहु र मार्मा गाउँपालिकाका स्थानीयको मुख्य आम्दानीको स्रोत यार्सासहित अन्य जडीबुटी संकलन हो । वैशाखबाट जडीबुटी संकलनका लागि हिमाली क्षेत्रका पाटनमा जाने र जेठ अन्तिमतिर घर फर्कने हुनाले यो सिजनमा गाउँ रित्तिएर लेकहरुमा मानिसको चहलपहल हुन्थ्यो ।
विगतमा विद्यालयसमेत बन्द गराएर यति बेला हिमाली क्षेत्रका स्थानीय सबै यार्सा संकलन गर्न जाने गरेका थिए । तीनदेखि चार हजार मिटरको उचाइमा पाइने यार्सा टिप्न पहिलो सातादेखि अनुमति जारी हुँदै आएको थियो । तर योपटक भने अनुमति नदिने भएपछि स्थानीय निराश छन् ।