मछेट्टिमा विद्युत जडान
2020/07/31, 12:35
 
Bidya

कञ्चनपुर स्थित खल्ला मछेट्टी टुडिखेलमा झण्डै ३४ वर्ष पछि विद्युत जडान कार्य  भैरहेको छ । २०४३ सालमा पहाडका विभिन्न ठाउँबाट तराई झरेको उक्त  बस्तीमा अझै विभिन्न आधारभुत आवश्यकताको समेत आपूर्ति हुन बाकि नै छ।

नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर शाखा र भीमदत्त नगरपालिकाको संयुक्त साझेदारीमा नगपालिकाकै दुर्गम क्षेत्र टुडिखेल ,खल्ला र मछेट्टीमा विद्युत जडान  हुन थालेको हो ।

भीमदत्त नगरपालिका–९ का वडाअध्यक्ष राम नाथले विद्युतको मेनलाइन जडान गर्ने कार्य भैरहेको बताए।जिल्लाको सदरमुकामबाट लगभग ३५ किलोमिटर टाढा रहेका खल्ला ,मछेट्टी र टुडिखेललाई  विकास सँग जोड्नका लागि विद्युत जडान भैरहेको बताए । “लामो समयदेखी ऐलानी जमिनमा बसोबास गरिरहेका मानिसलाई विकास सँग जोड्न विद्युत जडान कार्य भैरहेको छ ।”

वडाध्यक्ष नाथले भने, “आफु निर्वाचित भएको  केही वर्षमै खल्ला मछेट्टीका समुदायलाई सडक मार्गमा जोडियो, अब गाउँ भरिनै विद्युत जोड्ने योजना छ ।”

९ नम्बर वडाकार्यालय रहेको  ब्रहम्देव बजारबाट झण्डै ६ किलो मिटर टाढा रहेको उक्त बस्तीलाई विद्युत सँग जोड्न पोल गाड्ने काम सकिएको छ ।
भीमदत्तका अन्य वडाका तुलनामा रुपमा पिछडिएर रहेको  सो वडामा पछिल्लो समयमा भने विकासका पुर्वाधारलाई जोड्ने काम भने तिव्र रुपमा भैरहेकोे वडाअध्यक्ष नाथले बताए ।

खल्ला मछेट्टी र टुडिखेल गरी तिन ओटा गाउँ रहेको उक्त ठाउँमा  ५०० सय परिवार बस्दै आएका छन् । यहाँका  मानिसहरु ब्रह्रमदेव बजार आउन डेढ घण्टा  हिनेर आउने गर्दछन् ।  बिरामी भएको बेला तथा कुटाई पिसाई गर्न पनि हिडेर जानुपर्ने बाध्यता कायामै छ।

पछिल्लो  दुई वर्षदेखी गाउँमा मोटर बाटो पुग्दा हिड्नु पर्ने केही प्रतिशत बाध्यता भने हटेको छ । ५०० सय  घर धुरी रहेको खल्ला, मछेट्टी र टुडिखेल लाई आर्थिक वर्ष भित्रै विजुली जडान कार्य सक्ने योजनामा वडाकार्यालय रहेको छ ।

“पोल गाड्ने काम सकिए पनि मेन लाइन जडानकोे काम चलिरहेको छ, सडक किनारमा भएका घरपरिवारलाई साउन महिना भित्रै मेनलाइन बाट विजुली जडान गर्ने गरी विद्युत जडानको कार्य भैरहेको छ ।” वडाअध्यक्ष नाथले भने, “आर्थक वर्षभित्र गाउँका सवै घरधुरीमा विजुलि जडान गरिनेछ ।” साउन महिना बाटै भोल्टेज कम हुन नदिनको लागि तिनओटा गाउँमा तिन ओटा ट्रान्समिटर राखेर विद्युत आपुर्ती गरिने उनले बताए ।

खल्ला मछेट्टी क्षेत्रमा स्थानिय सवैको जमिन दर्ता नभई ऐलानीमै छ । विद्युत जडान गर्दा लालपुर्जा चाहिन्छ । तर वडा कायालर्यले भने बसोबासका आधारमा मिटर वितरण गर्ने योजना बनाएको छ । ू३४ वर्ष लामो समयदेखीको बसोबास भएपनि जमिन दर्ता प्रक्रियामै छ, जमिन दर्ता प्रक्रियामै भएका वडाबासीलाई बसोबासका आधारमा मिटर वितरण गर्ने योजना छ ।ू
विद्युतको पहुँच गरिए सँगै आगामी दिनमा दर्ता प्रक्रिया दर्ता मै रहिरहने भने होइन, ढिलोचाँडो दर्ता गर्ने कार्य पनि सकिने विस्वास छ ।वडाअध्यक्ष नाथले विद्युतको पहुँच पुरा गरी आउँदो दिनमा भने खानेपानी लगायतको पहुँच सृजना गरिने बताए ।

गाउँघरमा विद्युतको पहुँच हुने भएपछि खल्लाबासी भने हर्सित भएका छन् । उज्यालो लगायत मोवाइल चार्ज जस्ता कुराहरुमा सोलार बाटै गुजारा चलाइरहेका स्थानियलाई भने विद्युतको पहुच हुने भएपछि सहज हुने भएको छ ।

“वर्षौ देखी अहिले सम्मै विद्युत नभएर धेरै समस्या भएको छ, कुटाई, पिसाई लगायत मोवाइल चार्ज गर्न पनि एक घण्टाको दुरीमा बजार जानु पर्ने बाध्यता थियो ।” भीमदत्त नगरपालिका–९  खल्लाकी अञ्जली देवी बोहराले भनिन्, “विद्युत आउने भनेर सुन्ने मात्रै गरिन्थ्यो, अव विद्युत जडान कार्य भएपछि भने थोरै भएपनि खुसी लागको छ ।” विद्युत विस्तार भएपछि भने कुटाई पिसाई लगायत चार्ज गर्न एक घण्टा टाढा जानु पर्ने समस्या पनि हट्ने उनले बताइन् ।

खल्ला मछेट्टी गाउँ भनेको माहाकाली नदीको किनारको गाउँ हो । माहाकाली पारि भारत वारि नेपाल । यहाँका धेरै जसो मानिसको गुजारा भने भारतबाटै चल्ने गर्दछ । प्रत्येक घरको झण्डै २ देखी ५ जना सम्म रोगारीको लागि भारत गएको पाईन्छ । लकडाउन पछि भने दुर्व तर्फ सीमानाका बन्द हुँदा समस्या भएको बोहराले बताइन् ।

“नागरिकको हिसाबले मात्रै नेपाली भएको लाग्छ, तर सेवा सुविधा पुरै भारतबाट लिन्छौ। रोजगारी, लुगा कपडा, घरायसी सम्पुर्ण सामान ।, अहिले कोरोनाका कारण सीमा बन्द हुँदा दैनिक जिवन चलाउन निकै मुस्किल परेको अवस्था छ, नेपालमा बसोबास भएपनि नत रोजगारी नै पाईन्छ नत उचित विकास नै ।, दुई दशक पछिमात्रै राज्यको तर्फबाट कच्ची सडक र विद्युतको पहुँचमा पुग्नु भनेको र्दुभाग्य जस्तै हो ।”

उनले भनिन्, । स्वास्थ्यको नाममा सानो क्लिनिक भएपनि डाक्टर भने कहिले–कहिले मात्रै आउने गरेको उनको गुनासो छ । खल्ला मछेट्टीमा अहिले प्रथमिक तह सम्मको विद्यालय पनि छ । प्राथमिक तह सम्म भएपनि माध्यामिक तह पढ्न भने यहाँका विद्यार्थीलाई ब्रहम्देव बजार नै पुग्नु पर्ने बाध्यता छ ।

“पाँच कक्षा सम्म विद्यार्थी सानै उमेरको हुन्छ, एक घण्टाको बाटो पुरै जंगल पर्छ ।, वर्षायाममा त भन् खोला आउँछ पानी परेपछि विद्यार्थीलाई विद्यालय जान पनि निकै जोखिम हुन्छ ।” उनले भनिन्, । माहाकाली नदीको किनारै किनार विद्यालय जाने बाटो भएकोले पनि जोखिम वर्षै पिच्छे बढ्दै गएको उनले बताइन् ।