नदी कटान र डुबानको रोकथामको प्रभावकारी पहल हुन नसक्दा कैलालीमा वर्षेनी नदी कटानको समस्या बढ्दै गएको छ। नदी कटानको समस्या बढ्दै जाँदा वर्षेनी तटीय क्षेत्र आसपासको सयौँ बिघा खेतीयोग्य जग्गा बगरमा परिणत हुने गरेको छ।
चुरे क्षेत्रबाट निस्किने नदी तथा खोलामा वर्षेनी आउने भेलले लेदो माटो, ढुङ्गा र बालुवा बगाएर ल्याएसँगै नदी तथा खोलाको सतह बढ्दा बाढी र डुबानको समस्या पनि बढ्दै गएको प्राविधिकको भनाइ छ। उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णाली, खुटिया, गोरीगङ्गा, कान्द्रा काँडा, शिवगङ्गा, घुराहा नदीले बढी कटान गर्ने गरेका छन्। नेपाल–भारत सीमावर्ती क्षेत्र हुँदै पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदीको कटानको समस्या पनि छ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको अध्ययनअनुसार मोहना, कान्द्रा, पथरैया, काँडा, खुटिया, गौरीगङ्गालगायत ठूला नदीमा कटान र डुबानको समस्या बढ्दै गएको छ। डिभिजन प्रमुख डम्बर धितालले पर्याप्त बजेटको अभावका कारण नदी नियन्त्रणसम्बन्धी काम प्रभावकारी हुन नसकिरहेको बताए। आर्थिक वर्ष २०७६÷७७ मा कान्द्रा नदी नियन्त्रणका लागि बोलपत्र आह्वान गरिएकामा कोभिड—१९को समस्याका कारण थप काम अघि बढ्न नसकेको उनले जानकारी दिए।
कञ्चनपुरका महाकाली र दोदा तथा कैलालीका खुटिया र मोहना नदीमा तटबन्धनको काम गर्ने जिम्मा कञ्चनपुरमा रहेको जनताको तटबन्धन कार्यालयलाई छ। खुटिया र मोहना नदीमा अहिलेसम्म नदी नियन्त्रणसम्बन्धी प्रभावकारी काम हुन नसकेको जनगुनासो छ। जनताको तटबन्धन कार्यालयमार्फत चालू वर्षमा मोहना र खुटियामा नियन्त्रणसम्बन्धी काम हुन लागेको जनाइएको छ।
जिल्लाको पूर्वी क्षेत्रमा कर्णाली मुहान भएको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना निर्माणाधीन छ। सो आयोजनाअन्तर्गत सिँचित क्षेत्रको बचावटका लागि कर्णाली नदीसहित पथरैया र मोहनाका कतिपय भागमा भने तटबन्धनको काम भइरहेको छ।