नदी कटानका कारण सीमा स्तम्भको सुरक्षामा चुनौती
2020/08/02, 4:22
 
Sima

कैलालीमा मोहना नदीले सीमा क्षेत्रका कतिपय ठाउँमा कटान गरेर आफ्नो पुरानो धार परिवर्तन गर्ने गरेको छ। सोका कारण ठाउँठाउँमा वर्षेनी हुने कटानका कारण सीमास्तम्भ हराउने, भत्किने र पुरिने समस्या छ।

आव २०७६/७७ मा नेपाल–भारत सीमा सर्भेक्षण टोली नं ४ का प्रमुखको जिम्मेवारीमा रहेका सुदर्शनसिंह धामी मोहना नदीले कटान गरेर आफ्नो धार परिवर्तन गर्दा सीमास्तम्भ भत्किने, पुरिने वा हराउने समस्या रहेको बताउँछन्। “यो नदीले कटान गरेर धार परिवर्तन गरेको ठाउँमा सीमास्तम्भको सुरक्षा गर्न समस्या छ”, धामीले भने, “कैलालीको फूलबारी क्षेत्रमा मोहना नदीले आफ्नो धार परिवर्तन गरेकै कारण उत्पन्न सीमा विवाद टुङ्गिन सकेको छैन।” नदीले पुरानो धार परिवर्तन गरेकै कारण सो ठाउँमा रहेको ७४२ नं को मुख्य सीमास्तम्भ र ७४१/१ तथा ७४२/२ नं सहायक सीमास्तम्भ हराएका छन्। 

फूलबारी क्षेत्रमा नदीले धार परिवर्तन गर्दा भारतका केही जग्गा नेपालतर्फ पर्न गएको बताइएको छ। विवाद देखिएको भूमि आफूहरुको भएको जनाउँदै नेपालीले उक्त भूमिलाई सामुदायिक वनका रुपमा उपयोग गरिरहेका छन्। धामीले भने, “फूलबारीको सीमा क्षेत्रमा सीमा विवादको टुङ्गो लाग्न सकेको छैन र जिल्लाका अरु सीमा क्षेत्रमा विवाद छैन।”

सशस्त्र प्रहरी बल नं ३४ गणका प्रहरी उपरीक्षक कमल तिउसिनाले दक्षिण पूर्वी सीमास्थित कर्णाली नदी नजिकैको ७०१/१नं सीमा स्तम्भ नदीको बहावका कारण पुरिएको बताए। नदी वारिपारि कतिपय ठाउँमा नेपालका गाउँ र कतिपय ठाउँमा भारतका गाउँ छन्। कर्णालीमा पानीको बहाव बढ्दा पश्चिमबाट पूर्वतर्फ बग्ने अन्य नदीको बहाव रोकिएर हुने डुबान र कटानको समस्याले कैलालीका धनसिंपुर, नारायणपुर, जोशीपुर, जानकीनगर, भजनी र लालबोझी क्षेत्र प्रभावित हुने गरेका छन्। 

सो सीमा क्षेत्रमा रहेका जम्मा २८२ सीमा स्तम्भमध्ये मुख्य सीमास्तम्भ ५३ र सहायक सीमा स्तम्भ २२९ छन्। मुख्य सीमा स्तम्भमध्ये १३ वटा पहिलेदेखि नै हराएका छन्। सहायक सीमास्तम्भमध्ये ५४ वटा पहिलेदेखि नै हराएको अवस्थामा छन्।